पर्यटन उद्यमी एवम् नेपाल–फ्रान्स चेम्बर अफ कमर्सका अध्यक्ष श्याम मोहन श्रेष्ठको आत्मवृत्तान्त ‘काठमाडौं–पेरिस–काठमाडौं रेल–बस यात्रा’ लोकार्पण भएको छ । काठमाडौंको होटल सांग्रिलामा शनिबार आयोजित एक समारोहबीच इतिहासविद् एवम् वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशी, पर्यटन उद्यमी एवम् लेखक कर्ण शाक्य, नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्क्वाइस जेभियर लिजर, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपाल, पूर्वपरराष्टमन्त्री रमेशनाथ पाण्डे र लेखक श्रेष्ठले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे ।

कार्यक्रममा इतिहासविद् सत्यमोहन जोशीले यो पुस्तक समाज एवम् सर्वसाधारणका लागि प्रेरणादायी एवम् उपयोगी रहेको बताए । साथै पुस्तकमा लेखक श्रेष्ठले जीवनमा आइपरेका दुःख, कठिनाइ एवम् सफलतालाई सरल किसिमले प्रस्तुत गरेको उनको भनाइ छ । लेखकले जे देखेका छन्, तिनलाई निःस्वार्थभावले पुस्तकमा समेटेको उनले बताए । उनले भने, पुस्तक पठनीय एवम् मननीय छ । अनि संग्रहणीय पनि ।

कार्यक्रममा उद्यमी एवम् लेखक कर्ण शाक्यले पनि पुस्तकले सकारात्मक सोच अभिवृद्धि गर्न सघाउने प्रतिक्रिया दिए । श्याममोहन श्रेष्ठसँग आफ्नो मित्रता वर्षौं पुरानो मित्रता रहेको र उनी सकारात्मक सोचले काम गर्ने व्यक्ति रहेको शाक्यले बताए । बच्चामा खेल्ने सोच, युवाअवस्थामा प्रेम गर्ने सोख र पचास वर्ष कटेपछि दर्शनको अन्तरकुन्तर पहिल्याउने सोच आफ्नो रहेको र यो श्याम मोहन श्रेष्ठमा पनि मेल खाने शाक्यले बताए । पुस्तकले पनि सकारात्मक र कर्मशील हुन सिकाउने उनको भनाइ छ ।

यसैगरी नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपालले पनि नेपालको आर्थिक सामाजिक विकासमा योगदान गरेका श्याम मोहन श्रेष्ठको पुस्तकले सबैलाई प्रेरणा प्रदान गर्ने धारणा राखे । पुस्तकले नेपाल र फ्रान्सबीचको सम्बन्धलाई पनि उजागर गर्ने उनको भनाइ छ । उनले भने, “पुस्तकले सबैलाई मोटिभेट गर्छ । सकारात्मक ऊर्जा प्रदान गर्छ ।”

नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्क्वाइस जेभियर लिजरले यो पुस्तकले नेपाल र फ्रान्सबीचको सम्बन्ध एवम् विविध पाटोलाई उजागर गरेको उल्लेख गरे । यो पुस्तक फ्रान्सेली भाषामा समेत अनुवाद हुनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा अर्का वक्ता पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले पुस्तकबारे प्रतिक्रिया दिँदै भने, “श्यामजी सहृदयी, साहसी र सकारात्मक सोच राख्ने व्यक्ति हुनुहुन्छ । यो पुस्तक जीवनको यथार्थ अनुभव गरेको व्यक्तिको कथा हो । एउटा पुस्ताको अनुभव अर्को पुस्तामा हस्तान्तरण गर्ने काम यो पुस्तकले गरेको उनले बताए । असल कार्यको सुरुवात गरेकोमा पाण्डेले लेखक श्रेष्ठलाई बधाई समेत दिएका थिए ।

‘साहस र आँटले डोर्याएको जिन्दगी’ उपशीर्षक रहेको पुस्तकमा श्रेष्ठले बाल्यकालदेखि जागिरे जीवन र आफ्नो जीवनमा आइपरेका कठिनाइ, संघर्ष एवम् विविध आश्चर्यजनक संयोगहरूलाई सरल किसिमले प्रस्तुत गरेका छन् । एयर फ्रान्सको नेपाल प्रमुख भएर लामो समय काम गरेका श्रेष्ठले पुस्तकमा जागिरे जीवनका आश्चर्यजनक उपलब्धि एवम् संघर्ष र मिहिनेतलाई पनि पंक्तिबद्ध गरेका छन् । साथै आफूले सानै उमेरमा गरेको साहसिक काम, कुनै पनि काम गर्छु भनेर आँटेपछि त्यसप्रतिको आफ्नो लगाव, सामान्य जीवनको अवस्थामा जागिर सुरु गर्दाका कठिनाइ, कुनै काममा असफल भए पनि त्यसमा लागिपरेर प्राप्त गरेका सफलता, प्रेम, वैवाहिक जीवन, नेपालमा पर्यटन उद्यम गर्दाका संघर्ष, धुलिखेलस्थित मिराबेल होटल स्थापनाको संघर्ष, नेपालका प्रधानमन्त्रीदेखि विशिष्ट व्यक्तिहरूसँगको सम्बन्ध आदिलाई पनि पुस्तकमा सजीव किसिमले श्रेष्ठले प्रस्तुत गरेका छन् ।

श्रेष्ठको जोसिलो युवा अवस्था, अल्लारे बुद्धि, कुनै पनि कुराको गहिरो लेखाजोखा गर्ने क्षमताको अभाव हुँदाहुँदै उनले गरेको स्थलमार्गबाट फ्रान्स भ्रमण, यात्राका क्रममा भएका अनेक कठिन परिस्थिति आदि पढ्दा पाठक पनि सँगसँगै यात्रा गरेको अनुभूति हुन्छ । आफ्नो जीवनबारे श्रेष्ठ भन्छन्, ‘फर्केर हेर्दा लाग्छ— कताकता म एक सफल व्यक्ति भएर पनि असफल व्यक्ति भएँ; एक असफल व्यक्ति भएर पनि सफल व्यक्ति भएँ । भगवान्ले मलाई व्यावसायिक जीवनको सुरुमै अपार सम्भाव्यताका बाटा पहिल्याइदिनुभयो । तर जानी–नजानी मेरा ती अपार सम्भावनालाई संसार हेर्न, अनुभव गर्न, छुन, थुप्रै देशीविदेशी व्यक्तिसँग चिनजान गर्ने मौका पाउन तथा आफ्ना छोराछोरीहरूको उच्चशिक्षाका लागि ठूला विद्यालयहरूमा पढाउने मौकाहरूसित साटें । अर्को कुरा, मेरो कुनै आफ्नै रगत नाताका निकटतम व्यक्तिले पनि मबाट मेरा सम्भावना छिनेर लगे । जसको चोट अनन्तसम्म लागिरहेछ ।’

पुस्तकमा श्रेष्ठले आफ्नो जीवनमा घटेका वास्तविक र तथ्यमा आधारित घटनासन्दर्भ सटिक किसिमले उल्लेख गरेका छन् । सात दशक लामो जीवनयात्रामा उनले भोगेका अनेक किसिमका अनुभव, क्रियाकलाप, भाग्य, दुर्भाग्य, विद्वत्ता, मूर्खता, सरलता, आडम्बर, माया आदिलाई पुस्तकमा उल्लेख गरेका छन् । लेखक श्रेष्ठ भन्छन्, ‘विभिन्न कालखण्डका विभिन्न अनुभव हेर्दै, सिक्दै अगाडि बढिरहें । जीवनमा अनेक किसिमका साथीभाइ र शुभचिन्तक पनि भेटिए । म यो भूमरीबाट एक वा दुई मात्र गुणअवगुण आफ्नो साथमा लिई यसबाट निस्कन सकेको छैन ।’

पुस्तकमा श्रेष्ठले सामान्य नागरिकको सामान्य जीवनको सुरुवातबाट साधारण, उच्चस्तर र झन् उच्चस्तरका नेपाली नागरिकसँग पनि घुलमिल गर्ने मौका पाएका कुरालाई उल्लेख गरेका छन् ।

असनको त्यौड टोल नजिकै बितेको बाल्यकालदेखि युवावस्थामा फ्रान्सको पेरिसदेखि अमेरिकालगायत मुलुकको भ्रमण गर्दा आफूले भोगेका विभिन्न पलहरूलाई पनि लेखक श्रेष्ठले पुस्तकमा समेट्ने प्रयास गरेका छन् । ‘काठमाडौंमा मैले आफ्नै जीवन बिताएँ, फ्रान्स बस्दा फ्रान्सेली जस्तै जीवन बिताएँ । र अन्त्यमा फ्रान्स सरकारबाट अति उच्चस्तरीय तक्मा पाउँछु भन्ने परिकल्पना गर्नु पटमूर्ख नै सावित हुनेवाला थियो । तर समय र वातावरणसँग घुलमिल गरी सङ्घर्ष गर्दै जाँदा भगवान्ले जुटाउनुहुने रहेछ, जुटाइदिनुभयो । मलाई लाग्छ, यदाकदा मेरो जिद्दीवाल र कहिल्यै नथाक्ने बानीको पनि यो सफलतामा भूमिका हुनुपर्छ ।’

विभिन्न पुस्तक अनि व्यक्तिबाट सानैमा फ्रान्सबारे सुनेका, बुझेका श्रेष्ठले फ्रान्स पुग्ने असीम इच्छा पाले । र अन्ततः खर्च पुगे पनि, नपुगे पनि, बाटो थाहा पाए पनि, नपाए पनि, भविष्यको कुनै प्रत्याभूति भए पनि, नभए पनि, यात्रामा होमिए । परिणमतः अनेक समस्याका बाबजुद एउटा नयाँ साहसी व्यक्ति भएर उनी फर्किए । पुस्तकमा यिनै आश्चर्यमय घटनालाई देखाइएको छ ।

‘कुनै मान्छेको सफलताका लागि मैले देखेका आवश्यक कुरा यस्ता छन्— एउटा व्यक्तिले आफ्नो जुनसुकै लक्ष्यका लागि सर्वप्र्रथम प्रण र साहस बटुल्नुपर्ने रहेछ । त्यसपछि निडर भई अगाडि बढ्नुपर्ने रहेछ,’ लेखक श्रेष्ठ भन्छन्, ‘जाँदाजाँदै, हिँड्दाहिँड्दै अनुशासन, सभ्यता र धैर्यलाई निरन्तर साथमा राख्नुपर्ने रहेछ । यति भयो भने सफलता हासिल हुँदो रहेछ ।’

जीवनमा अथक मिहिनेतले बनाएका केही भौतिक संरचना र सिर्जनाका प्रतीकलाई भावी पुस्ताले चाहेमा लिपिबद्ध रुपमा देख्न सकून् र आफ्ना कामलाइ किताबका माध्यमबाट चिन्न सकून् भनेर आफूले पुस्तक लेखेको श्रेष्ठले बताए । ‘जीवनकालमा मलाई पनि पछि कुनै बेला हेर्ने रहर भए विद्यमान तस्बिरहरूले पक्कै सहयोग गर्नेछन्,’ उनी भन्छन्, ‘नेपालबाट फ्रान्स र अन्य देशहरूको मेरो भ्रमण पुरानै कुरा भए पनि कुनै बेला नेपालबाट फ्रान्स/युरोप जान स्थलमार्गबाटै विभिन्न सिमाना पार गर्दै रेल, बस आदिबाट पुग्न सकिन्थ्यो भन्ने तथ्य स्थापना गर्नु पनि यो पुस्तकको उद्देश्य हो ।’