यादहरूको भौतिक रूपलाई कैद गर्न मानिसले क्यामेराको आविष्कार गर्यो । टाढा भएका मानिसहरूसँग बोल्न टेलिफोनको आविष्कार गर्यो । मानिसका आवश्यकता पूरा गर्ने यी दुई उपकरणले मज्जाले पिट्यो विश्व बजारलाई । पछि क्यामेरा र टेलिफोनको विवाह भयो । दुई भिन्न विशेषता भएका मातापिताबाट दुवैका आंशिक गुण लिएर नितान्त नयाँ उपकरण मोबाइलले जन्म लियो । आजको बजार त्यही नूतन उपकरणले चुटिरहेको छ । फोन पनि गर्न मिल्ने र फोटो पनि खिच्न मिल्ने उक्त उपकरण हामी सबैको हात–हातमा पुगिसकेको छ । हामी त्यो नयाँ उपकरणलाई असाध्यै स्नेह गर्छौं । एकछिन यसबाट टाढा रहन सक्दैनौँ ।
हाइब्रिड चिजहरू मन पराउने मानिसको स्वभाव देखेर नै सायद दैवले मानिसको पनि हाइब्रिड बच्चा बनाएर नौलो प्रयोग गर्ने जमर्को गरे । र, फलस्वरूप यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको रचना गरे । तर अफसोस, भगवान्को रचना मानिसहरूले मन पराएनन् । मानिस अर्थात् पुरूष र महिला । किनभने प्रकृतिको त्यो सुन्दर रचनामा पुरूष तथा महिला दुवैका गुणहरू एकैसाथ आएका थिए । यसको मतलब यो होइन कि मानिसहरूले यस्तो सुन्दर रचनालाई सधैँ घृणा नै गरिरहने छन् । यस्तो समय पनि थियो जब देवकोटालाई पागलको संज्ञा दिएर पागलखाना पठाइयो । अहिले तिनै देवकोटा नेपाली साहित्यका पूज्य व्यक्तिमा स्थापित भएका छन् ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूले पीडा र कष्ट खेप्ने दिनहरू पनि बिस्तारै घटिरहेका छन् । सुखी र उन्मुक्त भएर बाँच्ने दिनहरू आउँदैछन् उनीहरूका पनि ।
प्रकृतिले हरेक प्राणीको निर्माण निश्चित् उद्देश्य पूरा गर्न गरेको हुन्छ । भविष्यलाई कसले देखेको छ र ! दिन प्रतिदिन लेटेस्ट मोडेलका मोबाइल फोनहरू आविष्कार भई पुराना मोबाइल फोनहरू लोप भए झैँ पुरूष तथा महिला वर्गलाई पछाडि उछिनेर प्रकृतिका यी लेटेस्ट मनुष्यहरूको हातमा भोलिको राज्य सत्ता र शक्ति नपुग्ला भन्न सकिन्न । अहिले हामीले उनीहरूलाई स्वतन्त्र रूपमा बाँच्न र प्रगति गर्न बाधा पुर्याइरहे भोलि सत्ता र शक्ति उनीहरूको हातमा पर्दा हामीलाई नरकीय जीवन बिताउन बाध्य नपार्लान् भन्न सकिन्न । त्यसैले मानिस भएर जन्म लिएका हामी सबैले सहअस्तित्वको आलिङ्गनमा बाँधिएर प्रगतिका पाइलाहरू निरन्तर अघि बढाइरहनु नै श्रेयस्कर हुन जान्छ । प्रकृतिको विरूद्ध गएर जीत हाँसिल कदापि हुँदैन । त्यसैले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायमा पर्ने मानिसहरूलाई पुरूष तथा महिलासरह नै अधिकार तथा अवसरहरू प्रदान गरिनुपर्छ र उनीहरूका लागि सम्मानका साथ बाँच्न पाउने प्रबन्ध मिलाउनुपर्छ ।
यस्तै अनेकन विचारहरू उम्रिँदै गए मस्तिष्कमा जब ‘भूमिका’ पुस्तकका पानाहरू क्रमशः पल्टिँदै गए । जब पुस्तकको अन्तिम पानाको अन्तिम वाक्य पढिभ्याएँ, लाग्यो– तीन दिन बफ मःम नखाएर बेसै गरेछु । अर्थशास्त्रको कुरा गर्दा उपभोक्ता अधिशेष तब प्राप्त हुन्छ जब कुनै वस्तु खरिद गर्दा तिरेको मूल्यको तुलनामा उक्त वस्तुको उपभोग गर्दा पाएको सन्तुष्टि अधिक हुन जान्छ । ‘भूमिका’ पुस्तकबाट उपभोक्ता अधिशेष प्रचुर मात्रामा प्राप्त गर्न सकिन्छ । किनभने यस पुस्तकले उठाएको विषय नेपाली साहित्यमा नितान्त नवीन छ र तेस्रो लिङ्गी स्वयंले अनुभव गरेका तथा भोगेका कुराहरू पुस्तकमा आएका छन् ।
हाम्रो समाजलाई अझै पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू कस्ता व्यक्तिलाई भनिन्छ र यस वर्गमा पर्ने मानिसहरू कति प्रकारका हुन्छन् भन्नेसम्म पनि राम्ररी जानकारी भएको पाइँदैन । म आफैँलाई पनि पुरूष र महिलाबाहेक अन्य मानिसहरूको सूचीमा कस्ता व्यक्तिहरू पर्छन् भन्ने विषयको ज्ञान थिएन । सानो छँदा ‘छक्का’ र ‘हिजडा’ भन्ने शब्द समाजले नै लेखिदियो मस्तिष्कमा । लाग्थ्यो– पुरूष र महिला दुवैको लिङ्ग भएका मानिसहरू यस्तो सूचीमा पर्छन् । उनीहरूको अनुहार अलिअलि पुरूष र अलिअलि महिलाजस्तो हुन्छ । अनि कहिलेकाहीँ आफैँलाई प्रश्न गर्थें– योनि र लिङ्ग दुवै भएका मानिसले विवाह पुरूषसँग गर्दा हुन् वा महिलासँग ?
अति नै कल्पनाशील भएर सोच्दा लाग्थ्यो– यस्ता मानिसहरूसँग अरूले विवाह गर्न नमान्ने भएकाले यिनीहरूको लिङ्ग अन्य पुरूषहरूको तुलनामा अलि लामो हुन्छ र लामै भएकाले आफ्नै योनिमा आफ्नै लिङ्ग पसाएर यिनीहरूले यौन सुख प्राप्त गर्छन् ।
यसो गर्दा बच्चा गर्भमा बस्छ कि बस्दैन होला ? यदि बसेर बच्चाको जन्म भए पुरूष जन्मिन्छ कि महिला ? के पुरूष र महिलाको त्यो ठिमाहा छातीबाट दूध निस्किन्छ होला त ? यस्ता अनेकन आँकलन गथ्र्यो मस्तिष्कले, तेस्रो लिङ्गीका विषयमा । यस्ता कुराहरू सम्झँदा आफूभित्रको अज्ञानताप्रति निकै अफसोस महसुस हुन्छ ।
बाह्र कक्षासम्म आइपुग्दा पनि विद्यालय तथा समाजले नपढाएको विषय भूमिका श्रेष्ठद्वारा लिखित पुस्तक ‘भूमिका’ले मज्जाले पढाइदियो र अनुभूतिसमेत गराइदियो । मभित्र रहेका सबै कौतूहलताहरू मेटाइदियो । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायमा लेस्बियन, गे, बायोसेक्सुअल, थर्ड जेन्डर र इन्टरसेक्स गरी पाँच प्रकृतिका मानिसहरू पर्छन् र यिनीहरूको विशेषता एकअर्काबाट पृथक् रहेको कुरा पनि पुस्तकले छर्लङ्ग बनाउँछ ।
यस आत्मकथाको सुरूवात महाभारतको प्रसङ्गबाट भएको छ । राजकुमारी अम्बालाई शाल्व नरेशले अपनाउन अस्वीकार गरेपछि उनी वनमा गई महादेवको तपस्यामा लीन हुन्छिन् । र, महादेवकै वरदानअनुसार उनी राजा द्रुपदकी छोरी शिखण्डीको रूपमा पुनर्जन्म लिन्छिन् । तर छोरीका रूपमा जन्मिए पनि उनले महादेवबाट छोराको नाम र बहादुरीले प्रसिद्धि पाउने वरदान पाएकी हुन्छिन् । र, यिनै शिखण्डीले पछि आफ्नो स्त्रीत्व कुवेरका सहयोगी स्थुणाकर्णको पुरूषत्वसँग साटेको कुरा यस पुस्तकमा व्याख्या गरिएको छ । त्यतिमात्र नभएर धार्मिक कथाहरूका बृहन्नलारूपी अर्जुन, अर्धनारीश्वर तथा मोहिनीजस्ता पात्रहरूमार्फत् त्यसबेला यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको महत्व देखाएर वर्तमानमा आफ्ना समुदायका मानिसहरूको अस्तित्व खोज्ने भरमग्दुर प्रयास गरेको छ यस पुस्तकले ।
तेस्रो लिङ्गी महिला, यस पुस्तककी लेखिका स्वयं कैलाशबाट भूमिकामा परिणत भएको र परिणत हुने क्रममा झेल्नुपरेका दुःख–कष्टहरूलाई बडो सुन्दर ढङ्गले पुस्तकमा उतारिएको छ । पुरूष लिङ्ग लिएर जन्मिएको कैलाशलाई दस–एघार वर्षको उमेरमा आफूभित्र स्त्रीसुलभ गुणहरू भएको ज्ञात हुन्छ । र उनी स्त्रीका पहिरन तथा श्रृङ्गार लगाई आफूलाई स्त्री देखाउने सक्दो प्रयास गर्छिन् । तर समाज र परिवारले उनलाई लिङ्गकै आधारमा व्यवहार गर्न बाध्य तुल्याउँछ । तिरस्कार र अवहेलनाले प्रताडित उनको स्त्रीमन यतिसम्म कुँडिन्छ कि उनी आत्महत्याको दुष्प्रयाससमेत गर्न पुग्छिन् । स्त्रीमन तर पुरूष शरीर भएकी उनलाई आफ्नो ब्रतबन्ध भएको सम्झिँदा आज पनि उत्तिकै पीडाबोध भएको महसुस हुन्छ । पछि नीलहिरा समाजमा आबद्ध भई आफूजस्ता अनेकन मानिसहरू देखेपछि उनीभित्र बाँचेर केही गर्छु भन्ने आत्मविश्वास पलाउँछ । र, उनी त्यसपछि जनचेतनामूलक विभिन्न कार्यक्रमहरूमा सहभागी हुन पुग्छिन् । त्यही संस्थामा सामान्य जागिर पाएकी उनले पछि वचत गरेको रूपैयाँबाट स्त्रीपना अभिवृद्धि गर्ने हार्मोनहरूको सेवन गर्न थालेको, स्तनको अकार ठूलो नभएपछि थाइल्यान्ड गएर स्तन ट्रान्सप्लान्ट गरेको, टस्टिस निकालेर फालेको र पछि रूपैयाँको जोहो गर्न सके लिङ्ग फ्याँकेर योनि ट्रान्सप्लान्ट गर्ने उद्देश्य भएको कुरा पनि पुस्तकमा कारूणिक लयमा प्रस्तुत गरेकी छिन् ।
‘आफूलाई परिवर्तन गर्ने हो भने तिमी जुन रूपमा समाजमा चिनिन चाहन्छौ, त्यसैमा पूरै बदल आफूलाई ।’, पुस्तकभित्र उल्लेख गरिएको यस वाक्य अनुरूप नै उनले आफूलाई महिलाको रूपमा चिनाउन चाहेको कुरा बताएर आफ्नो चाहना पूरा गर्न दिन रात लागि परेको कुरा व्यक्त गरेकी छिन् । सामाजिक अभियन्ता भूमिकाले मिस पिङ्क टाइटल २००७ पनि प्राप्त गरिसकेकी छिन् ।
बारम्बार अपशब्दहरूको तिखो प्रहारबाट आहत भएकी लेखिकाले यस पुस्तकमार्फत् आफ्ना समुदायका मानिसहरूले पहिचान खुलाएर बाँच्न पाउनुपर्छ, र अन्य नागरिकसरह नै राज्यद्वारा दिइने सम्पूर्ण सेवा सुविधाहरू पाउनुपर्छ र राज्यसत्तामा पनि आफ्ना समुदायका व्यक्तिहरूलाई ठाउँ दिनुपर्छ भनेर चर्को आवाज उठाएकी छिन् । यस काममा सरकार र समाज दुवैका तर्फबाट सहयोगी भूमिका निर्वाह गरिन आवश्यक रहेको कुरा पनि उल्लेख गरेकी छिन् ।
पुरूष र महिला भएर बाँच्नसमेत कठिन हाम्रो समाजमा भूमिकाजस्ता यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू कसरी जीवन निर्वाह गरिरहेका छन् ? निकै चासो र चिन्ताको विषय हो । यसतर्फ सम्पूर्ण नेपालीहरूको ध्यान तानिन निकै आवश्यक छ । आफ्ना समुदायका मानिसहरूका पीडा र कुण्ठाहरूको प्रतिनिधित्व गर्दै प्रगतिशील सोचलाई अघि सारिएको यस पुस्तकले पाठकहरूको मन पक्का जित्नेछ ।
पुस्तकमा त्रुटि तथा कमजोरीहरू नभएका भने होइनन् । थुप्रै छन् । तर भूमिकाजस्ती उदाहरणीय मानिसको आत्मकथा नेपाली पुस्तक बजारमा आउनु नै हाम्रो समाजको वृहत् उपलब्धि भएको ठान्दछु, र यस्ती मानिसलाई हामीले प्रोत्साहन गर्नुपर्छ । मलाई लाग्छ, यस्तो स्वादको पुस्तक नेपाली बजारमा पहिलोपटक आएको हुनुपर्छ । साहसिली र हिम्मतवाली भूमिकालाई पुस्तकको सफलताको शुभकामना ।
यो पुस्तकलाई घोस्टराइटिङ नेपालले बजारमा ल्याएको हो । पुस्तक यति धेरै बिक्री होस् कि यसबाट पाउने रोयल्टीले उनको लिङ्ग परिवर्तन गरी महिला भएर बाँच्न चाहने आशा पूर्ण गरिदियोस् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।