अमेरिकी पत्रकार तथा एन्थ्रोपोलोजिस्ट डा. बार्बारा निम्री अजिजद्वारा लिखित खोजमूलक पुस्तक “योगमाया एण्ड दुर्गादेवी: रेबेल विमिन अफ नेपाल” को शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विमोचन गरेका छन्। कोभिडका कारण पुस्तकको विमोचन भर्चुअल माध्यमबाट गरिएको थियो । जसमा नेपाल, अमेरिका, बेलायत, क्यानाडाका विज्ञहरू उपस्थित थिए ।
मन्त्री पोखरेलले विमोचनपछि बोल्दै यो महत्त्वपूर्ण पुस्तक पढेर पाठकहरूले लाभ लिनेमा आफू विश्वस्त भएको बताए ।
सोही अवसरमा योगमाया विश्व विद्यालयको पनि राष्ट्रियसभामा अन्तिम छलफल बाँकी रहेको अवगत गराए ।
मन्तव्यका क्रममा लेखिका डा. बार्बराले योगमायाँसम्बन्धी आफ्नो यस पुस्तक विमोचनमा विश्वभरिबाट उत्साहजनक सहभागितालाई जन्मदिन दिवस मनाएजस्तै भएको बताइन्। योगमायाँका कारण आफू तथा नेपाली लेखिकाहरु पारिजात र नीलम कार्की ‘निहारिका’ एकैठाउँ जोडिएकामा गर्व महसुस भएको उनको भनाइ थियो।
“आफू गैह्र नेपाली लेखिकाले लेखेको पुस्तक विमोचनमा यत्ति सम्मान दिनुभएकोमा नेपाली महिलाप्रति गरिएको सम्मानको रुपमा मैले बुझेकी छु,” उनले भनिन्, “योगमायालाई नेपाली समाजमा चिनाउन र पुस्तक लेख्न सैयौँ नेपाली व्यक्तित्वले मलाई सहयोग गर्नुभएकोमा सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।”
८० वर्षअघि योगमायाले आफूलाई जलसमाधिमा विलिन गरेको भए पनि उनका बारेको अनुसन्धान नसकिएको बताउँदै लेखिका बार्बराले योगमायासँगै अब अर्की सामाजिक आन्दोलनकर्ता दुर्गादेवीको बारेमा खोजबिन गर्न आवश्यक रहेको उल्लेख गरिन्। दुर्गादेवी कार्की घिमिरे भोजपुरको फालिकोटमा जन्मिएकी र ४७ वर्षअघि देहान्त भएकी सामाजिक आन्दोलनकर्ता रहेको जनाउँदै युवा तथा महिला खोजकर्ताले उनका बारेमा खोजबिन गर्न अनुरोध गरिन्।
योगमायाको बारेमा विद्यावारिधि गरेका लेखक डा. दिपेश न्यौपानेले लेखिका डा. बार्बरा नै योगमायाँको बारेमा गहिरिएर खोज अनुसन्धान गरी उनलाई नेपाल र विश्वमा चिनाउने पहिलो खोजकर्ता भएको बताए।
सन् १९८० ताका बर्बरा निम्री अजिज मनकामना पुग्दा त्यहाँ कुटीमा रहेका भक्तहरुबाट भजन सुनेपछि योगमाया र दुर्गादेवीबारे अध्धयन अनुसन्धान सुरु गरेको, बार्बराले ४० वर्षअघि नै अध्धयनको बाटो खोलेको र आफूले पनि उपन्यास लेख्ने क्रममा बर्बराका सामग्रीलाई पनि स्रोतको रुपमा लेखिका नीलम कार्की ‘निहारीका’ले बताइन् । उनको उपन्यास ‘योगमाया’ले नेपालकै प्रतिष्ठित मदन पुरस्कार प्राप्त गरेको थियो ।
पुस्तकका बारेमा समालोचना गर्दै समालोचक निनु चापागाईंले लेखिकाले पुस्तकमा नेपालमा राजनीतिक परिवर्तन भए पनि जातीय गतिशीलता नआएको, जातीय पहिचान तथा महिलाहरुको उत्थानमा सरकार र समाजले खासै काम गर्न नसकेको उल्लेख गरेको आफूले पाएको बताए।
विमोचन कार्यक्रममा अधिकांश वक्ताहरुले योगमायाँले जुन समतामूलक तथा रुढिवादमुक्त समाजको लागि विद्रोह गरेकी थिइन्, त्यसतर्फ अहिलेका योगमायासम्बन्धी काम गर्ने प्रतिष्ठान, फाउण्डेसन तथा स्थानीय समुदायले अझै धेरै काम गर्नुपर्ने कुरामा जोड दिएका थिए।
विमोचनमा महालक्ष्मी नगरपालिका धनकुटाका मेयर पर्शुराम नेपाल, षडानन्द नगरपालिका भोजपुरका मेयर वीरबल राई, खाँदबारी नगरपालिका संखुवासभाका मेयर मुरारी खतिवडा, जिल्ला समन्वय समिति संखुवा-सभाका प्रमुख सुमन शाक्य लगायतले मन्तव्य राखेका थिए ।
योगमायाँ अभियन्ता भवीन्द्र अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने आयोजक संस्था योगमाया फाउण्डेसनका अध्यक्ष रामचन्द्र न्यौपानेले कार्यक्रम संचालन गरेका थिए।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

योगमायाले आफ्ना अनुयायीहरूलाई आत्महत्या गर्न प्रेरित गरेको वा बाध्य पारेको ?
