काठमाडौं । प्रख्यात वनस्पतिविज्ञ तथा साहित्यकार तीर्थबहादुर श्रेष्ठद्वारा लिखित गैरआख्यान कृति ‘नेपाल गाथा’ लाई २०८२ सालको ‘उत्तम शान्ति पुरस्कार’ प्रदान गरिने भएको छ ।

वि.सं. २०४४ सालदेखि उत्तम कुँवर स्मारक पुरस्कार गुठीले प्रत्येक वर्ष उत्कृष्ट गैरआख्यान कृतिलाई एक लाख रुपैयाँ राशिसहित यो पुरस्कार प्रदान गर्दै आएको छ । गुठीका अध्यक्ष पार्थिवेश्वरप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको चयन समितिले ‘नेपाल गाथा’लाई यस वर्षको उत्कृष्ट कृतिका रूपमा छनोट गरेको हो ।

समितिका अनुसार कृतिले रोचक, सरल र प्रवाहपूर्ण भाषाशैलीमार्फत नेपालको विविध संस्कृति, गौरवशाली इतिहास, जातीयता तथा पर्यावरणीय विशेषतालाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ ।

यसअघि यो प्रतिष्ठित पुरस्कार सत्यमोहन जोशी, अम्बर गुरुङ, झमक घिमिरे, कर्ण शाक्य लगायतका स्रष्टाहरूले प्राप्त गरिसक्नुभएकाे छ ।

पुरस्कार समर्पण कार्यक्रम यही जेठ १२ गते मंगलबार आयोजना गरिने जनाइएको छ ।