काठमाडौँ । कवि, निबन्धकार तथा नियात्राकार राजाराम बर्तौलाद्वारा लिखित अङ्ग्रेजी निबन्ध सङ्ग्रह ‘हिमालयन ट्राजेक्टरी’ सार्वजनिक गरिएको छ ।
बागबजारस्थित प्राज्ञिक बुक्सको परिसरमा आयोजित सडक विमोचन समारोहमार्फत कृतिको लोकार्पण गरिएको हो ।
समसामयिक कूटनीतिक परिवेश, नेपाल, चीन र भारतबीचको सम्बन्ध, साथै अमेरिकाको स्वार्थ र प्रभाव जस्ता विषयलाई समेटिएको यस सङ्ग्रहमा नेपालको इतिहास, वर्तमान अवस्था र भविष्यका सम्भावनाबारे विश्लेषण प्रस्तुत गरिएको छ ।
पुस्तकमा नेपालको भूराजनैतिक अवस्थासहित छिमेकी राष्ट्रहरू तथा विश्व शक्तिसँगको सम्बन्ध र त्यसको प्रभावलाई गहिरो रूपमा चित्रण गरिएको छ । लामो समय परराष्ट्र सेवामा कार्यरत बर्तौलाको अनुभवले कृतिलाई थप विश्वसनीय बनाएको बताइएको छ ।
कृतिमाथि टिप्पणी गर्दै राजनीतिक विश्लेषक सुरेन्द्र केसीले पुस्तकमा ‘नन–एलाइन्ड’ नीति, गोर्खा भर्ती, बिआरआई र एमसीसीजस्ता महत्वपूर्ण विषय समेटिएको बताउनुभयाे । उहाँले नेपालको परराष्ट्र सम्बन्ध बुझ्न पुस्तक उपयोगी हुने धारणा राख्नुभयाे । लेखक बर्तौलाले १४ वटा निबन्ध समावेश गरिएको कृतिमा कुनै पक्षमा नढल्किई समसामयिक विषयलाई विश्लेषण गरिएको बताउनुभयाे । आफ्ना अनुभव र वर्तमान अवस्थाको तुलना गर्दै लेखिएका यी निबन्धले पाठकलाई गहिरो बुझाइ दिने अपेक्षा उहाँले व्यक्त गर्नुभयाे ।
कार्यक्रममा नवराज रिजाल, बद्रिप्रसाद ढकाल, गंगाप्रसाद भेटवाल, माधव नेपाल, रुबी सत्याललगायतको उपस्थिति रहेको थियो। प्राज्ञिक विमर्श नेपालद्वारा आयोजित यो सडक लोकार्पण कार्यक्रमको १५औँ श्रृङ्खला हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 







