फ्रान्कफर्ट, जर्मनी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनी च्याप्टरको आयोजनामा प्रथम साधारण सभा, नयाँ कार्यसमिति गठन तथा स्मारिका विमोचन कार्यक्रम २५ अप्रिल २०२६ का दिन फ्रान्कफर्ट मा भव्य रूपमा सम्पन्न भएको छ ।
उक्त समारोहले संस्थाको पहिलो कार्यकाल (२०२३–२०२५) सफलतापूर्वक सम्पन्न गर्दै सीमा ढुङ्गाना को अध्यक्षतामा दोस्रो कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।
कार्यक्रमको पहिलो सत्रमा संस्थाको साङ्गठनिक समीक्षा प्रस्तुत गर्दै प्रथम साधारण सभा सम्पन्न गरिएको थियो । त्यसपछि दोस्रो कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइएको थियो । निर्वाचन समिति संयोजक सुवास चन्द्र सापकोटा तथा सदस्यहरू डा. यज्ञ अधिकारी र खड्ग न्यौपाने को संयोजनमा भएको निर्वाचनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो ।
नयाँ कार्यसमिति गठनपछि दोस्रो सत्रमा संस्थाद्वारा प्रकाशित स्मारिका ‘शब्दसुधा’ को औपचारिक विमोचन गरिएको थियो । प्रमुख अतिथि कार्यबाहक राजदूत सागर फुयाल ले उक्त कृति सार्वजनिक गर्नुभएको थियो । कृतिमाथि टिप्पणी गर्दै डा. यज्ञ अधिकारीले स्मारिकाले नेपाली साहित्यका विविध पक्ष समेटेको बताउनुभयाे भने सम्पादक सुवास चन्द्र सापकोटाले प्रकाशनका अनुभव र चुनौतीहरू साझा गर्नुभएकाे थियाे । कार्यक्रममा विभिन्न स्रष्टाहरूले रचना वाचनसमेत गर्नुभएकाे थियाे ।
अन्तिम सत्रमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराइएको थियो। शपथपछि प्रमुख अतिथि सागर फुयाल, गैरआवासीय नेपाली संघ (NRNA) जर्मनीका अध्यक्ष लोकमणि ढकाल लगायतले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।
सोही अवसरमा राजदूत फुयालले हाइडलबर्ग विश्वविद्यालय मा रहेका ऐतिहासिक नेपाली हस्तलिखित सामग्रीहरू नेपाल फिर्ता गर्ने सम्झौता भएको जानकारीसमेत साझा गर्नुभएकाे थियाे, जसलाई सहभागीहरूले स्वागत गर्नुभएकाे थियाे । निवर्तमान अध्यक्ष सुजाता घिमिरे राउत को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जर्मनीस्थित नेपाली साहित्यप्रेमी, समाजसेवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमले जर्मनीमा नेपाली भाषा, साहित्य र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा नयाँ ऊर्जा थपिएको सहभागीहरूले बताएका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
१५ असार २०८३, सोमबार 









