काठमाडौं । प्रा.डा. विद्यानाथ कोइरालाद्वारा लिखित पुस्तक “शिक्षामा बेलाको बोली” एक विशेष समारोहका बीच सार्वजनिक गरिएको छ । शिखा बुक्स को आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न शिक्षाविद् तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
पुस्तकको संयुक्त लोकार्पण त्रिभुवन विश्वविद्यालय का शिक्षा शास्त्र संकायका डिन वेदराज आचार्य, नेपाल सरकारका पूर्व सचिव हरि लम्साल, काठमाडौं विश्वविद्यालय की प्राध्यापक रुपा मुनाकर्मी, नेपाल शिक्षक महासंघ का अध्यक्ष लक्ष्मीकिशोर सुवेदी तथा शिलापत्र डटकम का सम्पादक योगेश ढकाल ले संयुक्त रूपमा गर्नुभएको थियो ।
लोकार्पणसँगै आयोजित अन्तरक्रियामा बोल्दै डिन वेदराज आचार्य ले पुस्तकले शिक्षा क्षेत्रमा सुधारका लागि आवश्यक उपाय र कार्यदिशा प्रस्तुत गरेको बताउनुभयो । त्यसैगरी पूर्व सचिव हरि लम्साल ले यस कृतिले नीति निर्माणदेखि कार्ययोजना निर्माणसम्म शिक्षा क्षेत्रका सबै पक्षका लागि उपयोगी सामग्री प्रदान गरेको उल्लेख गर्नुभयो । प्राध्यापक रुपा मुनाकर्मी ले पुस्तकले शिक्षा क्षेत्रमा रहेका अवसर र चुनौतीबारे गम्भीर प्रश्न उठाउँदै सम्भावित समाधानका विकल्प पनि प्रस्तुत गरेको धारणा राख्नुभयो ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी ले लेखकसँग केही विषयमा असहमति भए पनि पुस्तकले शिक्षक र नीति निर्माताबीचको दूरी कम गर्न सहयोग पुर्याएको बताउनुभयो।
कार्यक्रम सञ्चालन योगेश ढकालले गर्नुभएको थियो । पुस्तकमा आइतबारको बिदा, शिक्षा सुधारको जिम्मेवारी, विदेशिने युवालाई रोक्ने उपायलगायत समसामयिक विषयमा आधारित लेखहरू समावेश छन् । पुस्तकको मूल्य ९ सय ९५ रुपैयाँ तोकिएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 




