पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, पोखराले आफ्नो नियमित मासिक कार्यक्रमअन्तर्गत ‘यौन नैतिकता : समाजशास्त्रीय विवेचना’ विषयमा छलफल कार्यक्रम सम्पन्न गरेको छ । कन्या क्याम्पसको सभाहलमा आयोजित उक्त कार्यक्रम  स्त्रीरोग विशेषज्ञ डाक्टर चण्डिका पण्डितको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा मुख्य प्रस्तोता डा. रामचन्द्र बरालले नैतिकतालाई विज्ञानसम्मत् विषयका रूपमा व्याख्या गर्दै कुनै पनि नतिजा सही हुनका लागि त्यसतर्फ लैजाने प्रक्रिया पनि शुद्ध हुनुपर्ने धारणा राख्नुभयो । यौन क्रियाकलापका सन्दर्भमा पनि यही सिद्धान्त लागू हुने उल्लेख गर्दै उहाँले मानव जीवनमा प्रक्रियागत शुद्धताको महत्त्व औंल्याउनुभयो। साथै सनातनी परम्परा र पूर्वीय धर्मशास्त्रले केही यौन व्यवहारलाई वर्जित गरेको प्रसङ्ग उठाउँदै सभ्यताको विकासमा परम्परागत मान्यताहरूको भूमिका उल्लेख गर्नुभयो ।

प्रमुख अतिथि डा. पण्डितले यौन नैतिकतालाई व्यवहारिक दृष्टिले व्याख्या गर्दै यौन क्रियाकलापले समाजमा विकृति नफैलाए र कसैलाई हानि नपुर्‍याएमा त्यो नै नैतिक ठहरिने बताउनुभयो । उहाँले आधुनिक समयमा मानिसले बौद्धिक विकास गरे पनि विवेकमा ह्रास आएकोप्रति चिन्ता व्यक्त गर्दै समग्र जीवन नै नैतिक बनेपछि यौन व्यवहार पनि स्वतः मर्यादित हुने धारणा राख्नुभयो ।

छलफलका क्रममा शिव थापा, वसन्त चालिसे, डा. लक्ष्मीशरण अधिकारी, डा. भूमिराज बस्ताकोटी, कमलराज पौडेल, वेदहरि तिमिल्सिना र कृष्णप्रसाद तिमिल्सिनाले जिज्ञासा राख्दै यौन क्रियाकलापलाई सन्तान उत्पादनसँग मात्र सीमित नगरी आनन्द र मानवीय अनुभूतिको पक्षलाई पनि समेट्नुपर्ने धारणा व्यक्त गर्नुभएकाे थियाे । संस्थाका अध्यक्ष सुरज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हरिराज पौडेलले कविता वाचन गर्नुभएको थियो । उपाध्यक्ष डा. श्रीधर न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन डा. पिताम्बर पौडेलले गर्नुभएको थियो ।

कार्यक्रम सफल बनाउन दीपेन्द्रराज रेग्मी लगायत विभिन्न व्यक्तिहरूले आर्थिक सहयोग प्रदान गर्नुभएकाे थियाे । आयोजकका अनुसार यस्ता विमर्शले समाजमा जटिल र संवेदनशील विषयमाथि खुला बहसको वातावरण निर्माण गर्ने विश्वास गरिएको छ ।