काठमाडौँ । रामगीता वाङ्मय मन्दिर नेपाल–अमेरिकाले पाँच सर्जक तथा कलाकर्मीलाई विभिन्न पुरस्कार तथा सम्मान अर्पण गरेको छ । शनिबार काठमाडौंमा आयोजित विशेष समारोहमा साहित्यकार दुबसु क्षेत्रीको सभापतित्व तथा कवि–गीतकार नवराज लम्सालको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा कवि मनप्रसाद सुब्बाको कविता–सङ्ग्रह ‘पञ्चतत्त्वको पालाम’ लाई पचास हजार रुपैयाँ राशिसहित ‘प्रतीक–ढकाल लक्ष्मी सर्वोत्तम कृति पुरस्कार’ प्रदान गरियो । नाट्यकर्मी आकांक्षा कार्कीलाई ‘अशेष मल्ल–सावित्री नाट्यकर्म पुरस्कार’ तथा साहित्यिक पत्रकार किशोर पन्थीलाई ‘रामगीता सञ्चार सेवा पुरस्कार’ अर्पण गरियो ।
यसैगरी गीतकार प्रा. डा. कृष्णहरि बराल र अभिनेत्री सुष्मा शाहीलाई उहाँहरूको दीर्घकालीन योगदानको कदर गर्दै ‘रामगीता लाइफटाइम एचिभ्मेन्ट अवार्ड’ प्रदान गरियो ।
पुरस्कृत स्रष्टाहरूले सम्मानले आफ्नो साधनाको मूल्याङ्कन भएको अनुभूति दिलाएको बताउनुभयाे । कवि सुब्बाले पाठकको अनुमोदन नै सबैभन्दा ठूलो पुरस्कार भएको धारणा राख्नुभयाे भने नाट्यकर्मी कार्कीले नारी आवाजलाई प्रस्तुत गर्ने आफ्नो प्रयासमा थप ऊर्जा मिलेको बताउनुभयाे । कलाकार शाहीले पर्दा पछाडिका कलाकारलाई समेत सम्मानित गर्नु संस्थाको सकारात्मक पहल भएको उल्लेख गर्नुभयाे । प्रा. बरालले गीत सिर्जनालाई पनि उचित मान्यता दिइएकोमा खुसी व्यक्त गर्नुभयाे ।
समालोचक महेश पौड्यालले कीनोट मन्तव्य प्रस्तुत गर्दै पुरस्कार स्थापना र छनोट प्रक्रियाबारे जानकारी गराउनुभयाे । कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी लगायतले पुरस्कृत स्रष्टाहरूलाई बधाई दिनुभएकाे थियाे ।
मन्दिरकी अध्यक्ष तथा संस्थापक गीता खत्रीले स्रष्टाहरूलाई जीवनकालमै सम्मान गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको बताउनुभयाे । प्रमुख अतिथि लम्सालले योग्य स्रष्टाको छनोट भएकोमा खुशी व्यक्त गर्नुभयाे भने सभाध्यक्ष क्षेत्रीले सिर्जनात्मक क्षेत्रको दीगो महत्त्वमाथि जोड दिनुभएकाे थियाे ।
कार्यक्रमको सञ्चालन कवि भवानी खतिवडाले गर्नुभएकाे थियाे । मन्दिरले यस्ता पुरस्कार प्रत्येक दुई वर्षमा अर्पण गर्ने जनाएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 




