स्याङ्जा ।  युवा मुक्तककार मुनाल गोदार क्षेत्रीको पहिलो कृति ‘मुनाल (बतासे प्रेम)’ को लोकार्पण, परिचर्चा तथा सिर्जना वाचन कार्यक्रम   सम्पन्न भएको छ । भीरकोट नगरपालिका–७ को आयोजनामा बलमाटास्थित कालिका पुस्तकालयमा सम्पन्न उक्त कार्यक्रम स्याङ्जाको साहित्यिक पुनर्जागरणको आठौँ वर्ष प्रवेशसँगै विशेष महत्वका साथ आयोजना गरिएको हो ।

वडाअध्यक्ष ताराप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्य प्रमुख आमन्त्रित व्यक्तित्वका रूपमा उपस्थित हुनुहुन्थ्याे । साथै संस्थापक नगरप्रमुख छायाराम खनाल र समाजसेवी यामप्रसाद अधिकारी (लक्ष्मण) विशिष्ट आमन्त्रितका रूपमा सहभागी हुनुहुन्थ्याे ।
कार्यक्रममा युवा स्रष्टा मिलन समीर, शम्भु अर्याल र मनिषा कोइरालाले कृतिमाथि समीक्षात्मक मन्तव्य प्रस्तुत गर्दै मुक्तककार मुनालको सिर्जनशीलता, विषयवस्तुको विविधता र अभिव्यक्तिको धारलाई प्रशंसा गर्नुभएकाे थियाे । कृतिमा समेटिएका ८३ वटा मुक्तकहरू समसामयिक विषय, प्रेम, समाज र जीवनका विभिन्न आयामसँग जोडिएका छन्  । प्रत्येक मुक्तकसँग सान्दर्भिक रेखाचित्र (स्केच) समेत समावेश गरिनु कृतिको विशेषता मानिएको छ ।

कार्यक्रममा अमृत अर्यालले “सिर्जनशील सिकाइमा शिक्षक र विद्यार्थीको भूमिका” विषयमा मन्तव्य प्रस्तुत गर्नुभएकाे थियाे । त्यस्तै, विभिन्न स्रष्टाहरू वसन्त खनाल, दिलीप तिवारी, खगेन्द्रजंग थापा, डिल्लीराम भण्डारी, अमित सुनार, सुदीक्षा सुनार लगायतले आफ्ना सिर्जना वाचन गर्नुभएकाे थियाे ।

२०५९ साल भदौ २१ गते स्याङ्जामा जन्मिनुभएकाे मुनाल गोदार क्षेत्री हाल पृथ्वीनारायण क्याम्पस, पोखरामा व्यवस्थापन संकायमा स्नातक अध्ययनरत हुनुहुन्छ । डाँफे अनलाइनका सञ्चालक तथा विभिन्न प्रविधि सम्बन्धी संस्थासँग आवद्ध उहाँ साहित्य र समाजसेवामा सक्रिय हुनुहुन्छ ।
कार्यक्रममा सहभागी वक्ताहरूले भीरकोट क्षेत्र साहित्यिक रूपमा सशक्त बन्दै गएको उल्लेख गर्दै यस्ता कार्यक्रमले नयाँ पुस्तालाई सिर्जनशील यात्रामा प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएकाे थियाे । समारोहको सहजीकरण सन्जु दोरङ्गा अर्यालले गर्नुभएकाे थियाे भने स्वागत मन्तव्य कालिका पुस्तकालयका अध्यक्ष श्यामप्रसाद अर्यालले राख्नुभएकाे थियाे ।

कार्यक्रमको अन्त्यमा आयोजकले अतिथि तथा स्रष्टाहरूलाई मायाको चिनोसहित सम्मान गरेको थियो।