काठमाडौं । साहित्यकार डेलचन्द्र शर्माको कविता तथा निबन्ध सङ्ग्रह ‘माटो र म’ एक विशेष समारोहका बीच लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार संघ र ‘मिलाप म्यागजिन’को संयुक्त आयोजनामा अनामनगरस्थित डालो रेस्टुरेन्टमा आयोजित कार्यक्रममा मञ्चासिन व्यक्तित्वहरूबाट कृतिको सामूहिक विमोचन गरिएको हो ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नरेन्द्रबहादुर श्रेष्ठ, प्रा. पुरुषोत्तम दाहाल, चन्द्रमणि गौतम, सूर्य कोइराला, सरु पोखरेल, विष्णु न्यौपाने, कृष्ण भुसाल तथा गीता अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
हाल अमेरिकामा बसोबास गर्दै आउनुभएकाे कवि शर्माको यो पहिलो कृति हो । सोही अवसरमा उहाँलाई सम्मानसमेत गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लेकालीले विदेशमा रहेर पनि देशप्रतिको सकारात्मक सोचलाई कृतिमार्फत अभिव्यक्त गर्न सकिएको उल्लेख गर्दै ‘माटो र म’ त्यसको उदाहरण भएको बताउनुभयाे । उहाँले कविता र निबन्धलाई छुट्टाछुट्टै कृतिमा प्रस्तुत गर्दा प्राविधिक रूपमा सहज हुने सुझावसमेत दिनुभयाे ।

लोकार्पित कृतिमाथि सरु पोखरेल र चन्द्रमणि गौतमले समीक्षात्मक टिप्पणी गर्दै यसमा देशप्रेम, पारिवारिक सम्बन्ध र जनजीवनका विविध पक्ष समेटिएको उल्लेख गर्नुभयाे । यसैगरी प्रा. पुरुषोत्तम दाहाल, विष्णु न्यौपाने तथा सूर्य कोइरालाले शुभकामना मन्तव्य राख्दै कृतिको सफलताको कामना गर्नुभएकाे थियाे ।
लेखकीय मन्तव्य राख्दै कवि डेलचन्द्र शर्माले पुस्तक प्रकाशनमा सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गर्दै आफ्नै कृतिबाट एक कविता वाचन गर्नुभएकाे थियाे ।
मिलाप म्यागजिनका प्रधान सम्पादक कृष्ण भुसालले कविलाई बधाई दिँदै उपस्थित सम्पूर्ण साहित्यकार तथा साहित्यप्रेमीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयाे । गीता अधिकारीले स्वागत मन्तव्य राख्नुभएकाे उक्त कार्यक्रम सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ले सञ्चालन गर्नुभएकाे थियाे ।