पोखरा । विभिन्न पुरस्कार वितरण तथा महाकाव्य लोकार्पणसहित पोखरामा छन्ददिवस मनाइएको छ । पोखरा–१७ बेलघारीस्थित माधव वियोगी वाङ्मय प्रतिष्ठान नेपालले छन्दशास्त्रका प्रणेता महर्षि पिङ्गलको जन्मजयन्तीका अवसरमा विशेष कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि कवि प्रा.डा. जगन्नाथ रेग्मीले कवि कृष्णशरण उपाध्यायलाई ‘अग्निविष्णु छन्दसाधना पुरस्कार (देवघाट)’, दिनेश पाण्डेयलाई ‘छन्द बचाऊँ वाचनकला पुरस्कार’ र वसुन्धरा पौडेललाई ‘माधव वियोगी सम्मान’ प्रदान गर्नुभयो । उहाँले छन्दकविता लेखन र वाचनमार्फत भाषासाहित्यमा योगदान पुर्याउने साधकलाई सम्मान गर्नु प्रतिष्ठानको महत्वपूर्ण कार्य भएको बताउनुभयाे ।
छन्दनायक माधव वियोगीले ‘छन्द बचाऊँ अभियान’को चर्चा गर्दै यो अभियान अब साझा अभियान बनेको उल्लेख गर्नुभयो । २०५३ सालदेखि सञ्चालनमा आएको अभियानपछि छन्दमा लेखन मात्र नभई वाचनमा समेत उल्लेखनीय वृद्धि भएको उहाँले जानकारी दिनुभयाे । साथै, नेपाल सरकार पञ्चाङ्ग निर्णायक समितिले वैशाख ८ लाई छन्ददिवस घोषणा गरेको र छन्द विश्वविद्यालय स्थापनाका लागि आफूले पहल गरिरहेको पनि बताउनुभयाे ।
कवि नारायणप्रसाद अधिकारीले छन्ददिवसलाई पिङ्गल जयन्तीका रूपमा मनाउने परम्परा सकारात्मक रहेको धारणा व्यक्त गर्नुभयाे । पुरस्कृत व्यक्तित्वहरूले पुरस्कारले आफूहरूलाई थप प्रेरणा दिएको बताउनुभयाे ।
कार्यक्रममा रोल्पाका महाकाव्यकार खेमराज शर्माद्वारा रचित ‘छन्दसम्राट महाकाव्य’को कविवर तथा भाषाविद् मुकुन्दशरण उपाध्यायले लोकार्पण गर्नुभयो । यो वियोगीका विषयमा लेखिएको दोस्रो महाकाव्य हो ।
उक्त अवसरमा इन्दु रानाभाट, रुद्रबहादुर थापा, गायत्री पराजुली, लक्ष्मण गौतम हिमाली, ऋषीकेश बराल, आर्या त्रिपाठी, गुरुप्रसाद बराल, लोचना अधिकारीलगायतले कविता वाचन गर्नुभएकाे थियाे ।
प्रतिष्ठानका सचिव शिव त्रिपाठीले कार्यक्रम सञ्चालन गर्नुभएकाे थियाे भने उपाध्यक्ष छन्दमणि त्रिपाठीले स्वागत मन्तव्य राख्नुभएकाे थियाे ।
छन्द संरक्षण, प्रवर्द्धन र काव्यसंस्कृतिको जगेर्ना गर्ने उद्देश्यले सुरु गरिएको ‘छन्द बचाऊँ अभियान’ले देशका अधिकांश जिल्लामा पुगेर छन्द प्रशिक्षणमार्फत पुनर्जागरण ल्याएको मानिन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 




