पोखरा । आज वैशाख ८ गते नेपाल अधिराज्यभर तथा विदेशमा समेत छन्ददिवस मनाइँदैछ । छन्दशास्त्रका प्रणेता महर्षि पिङ्गल को जन्मजयन्तीका अवसरमा यो दिवस मनाउने परम्परा रहँदै आएको छ ।
पोखरेली कवि माधव वियोगी ले छन्दमा कविता लेखन मरणासन्न अवस्थामा पुगेको भन्दै यसको संरक्षणका लागि २०४१ सालदेखि प्रशिक्षणात्मक अभियान सुरु गर्नुभएकाे थियाे । उहाँले २०५३ सालदेखि घोषणापत्रसहित ‘छन्द बचाऊँ अभियान’ सञ्चालन गर्दै देशका अधिकांश जिल्लामा पुगेर छन्द प्रशिक्षण दिनुभएकाे थियाे ।
छन्दलाई एकादेशको कथा हुन नदिने, काव्य संस्कृतिको संरक्षण गर्ने, शिष्ट र मर्यादित सिर्जनालाई प्रोत्साहन गर्ने तथा गद्यलाई कविता मान्ने प्रवृत्तिको अन्त्य गर्ने उद्देश्यसहित अभियान अघि बढाइएको वियोगीले बताउनुभएकाे छ । उहाँका अनुसार ‘छन्द बचाऊँ अभियान–२०५३’ पछि छन्दमा लेखन र वाचन दुवै क्षेत्रमा उल्लेखनीय वृद्धि भएको छ । साथै पञ्चाङ्ग निर्णायक समिति ले वैशाख ८ लाई छन्ददिवसका रूपमा घोषणा गरिसकेको छ । छन्दसम्बन्धी विभिन्न ग्रन्थ प्रकाशन भएको र छन्द विश्वविद्यालय स्थापनाका लागि सरकारसमक्ष प्रस्ताव समेत अघि बढाइएको उहाँले जानकारी दिनुभयाे ।
यसै अवसरमा पोखरामा माधव वियोगी वाङ्मय प्रतिष्ठान नेपाल को आयोजनामा छोरेपाटनस्थित छन्दनिवासको अनुष्टुप सभाकक्षमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा कृति विमोचनसहित ‘अग्निविष्णु छन्दसाधना पुरस्कार’, ‘छन्द बचाऊँ वाचनकला पुरस्कार’ तथा ‘माधव वियोगी सम्मान’ वितरण गरिने जनाइएको छ ।
छन्ददिवसले नेपाली काव्य परम्परामा छन्दको महत्व पुनर्स्मरण गराउँदै नयाँ पुस्तालाई छन्द लेखनतर्फ प्रेरित गर्ने विश्वास गरिएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 




