काठमाडौँ । कवि अनुशा शर्मा सुवेदीको कविता संग्रह ‘पोइटिक डायस्पोरा’ माथि ललितपुरको हात्तिबनमा आयोजित कार्यक्रममा विमर्श गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि अरूण गुप्तोले कृतिमा समेटिएका अंग्रेजी भाषाका १ सय ३० कविता चिन्तनशील र शक्तिशाली रहेको उल्लेख गर्नुभयाे । उहाँले कवि विषयवस्तु समात्ने क्षमता र शाब्दिक परिकल्पना निकै प्रभावकारी रहेको बताउनुभयाे ।
कवि–समीक्षक केशव सिग्देलले अनुशाका कवितालाई उच्च कोटिको भन्दै शब्द–शब्दमा गहन अर्थ र सशक्त शिल्प रहेको टिप्पणी गर्नुभयाे । उहाँले कवितामा स्वतन्त्रता र भक्तिधाराको समिश्रण देखिने बताउनुभयाे ।
त्यस्तै, समीक्षक महेश पौडेलले कवितामा जीवन र जगतलाई हेर्ने दृष्टि रहेको उल्लेख गर्दै ध्यान (मेडिटेसन) जस्तो प्रभाव सिर्जना गर्ने सामर्थ्य रहेको बताउनुभयाे । उहाँले कृतिमा बाल मनोविज्ञानका पक्ष पनि समेटिएको धारणा राख्नुभयाे ।
कवि सरला केसीले कवितामा भावको गहिराइ र शब्दको ओज रहेको बताउँदै पाठकलाई भावनात्मक रूपमा बाँध्न सक्ने क्षमता कृतिमा रहेको उल्लेख गर्नुभयाे । लेखक राजीव श्रेष्ठले अनुशाका कविता जीवन भोगाइबाट निस्किएका अनुभूतिको प्रतिछाया जस्ता रहेको टिप्पणी गर्नुभयाे ।
कार्यक्रममा पत्रकार तथा लेखक दीपक सापकोटाले कृतिका केही कविता वाचन गर्नुभएकाे थियाे भने राज सरगमले कार्यक्रम सहजीकरण गर्दै कविसँग संवाद गर्नुभएकाे थियाे ।
सो अवसरमा कवि सुवेदीले आफ्ना अनुभूति, विशेषगरी परिवारसँग टाढा रहँदाका भावनालाई कवितामार्फत अभिव्यक्त गरेको बताउनुभयाे । उहाँले प्रकृतिप्रतिको मोह र शिवप्रतिको भक्तिभाव आफ्ना कवितामा प्रकट भएको उल्लेख गर्नुभयाे ।
कार्यक्रममा लेखक तथा बालगीतकार रामबाबु सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 




