चितवन । लेखक महेश्वर पन्तको कथासङ्ग्रह ‘धर्तीमुनिका तारा’ माथि अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। अक्षर समूह चितवनको आयोजनामा नारायणगढमा सम्पन्न कार्यक्रममा विभिन्न स्रष्टा तथा पाठकले कृतिमाथि आफ्नो धारणा राख्नुभएकाे थियाे ।

कार्यक्रममा उदय अधिकारी, गणेश श्रमण, सुरेन्द्र अस्तफल र भूपिनले पाठकीय टिप्पणी प्रस्तुत गर्नुभयो। अक्षर समूहका संस्थापक भूपिनले कृतिलाई डायस्पोरिक साहित्यको सशक्त उदाहरणका रूपमा व्याख्या गर्दै प्रवासी नेपालीहरूको जीवनका गहिरा पाटाहरू कथामा समेटिएको बताउनुभयो।

टिप्पणीकार उदय अधिकारीले लेखक पन्तले अमेरिकामा बिताएको लामो अनुभवलाई कथामार्फत प्रभावकारी रूपमा प्रस्तुत गरेको उल्लेख गर्नुभयो। उहाँका अनुसार कृतिमा प्रवासी नेपालीहरूको संघर्ष, सांस्कृतिक द्वन्द्व र अमेरिकी जीवनको यथार्थलाई जीवन्त ढङ्गले चित्रण गरिएको छ।

यसैगरी, सुरेन्द्र अस्तफलले कथाहरूमा बाह्य चमकभन्दा भित्री पीडा र संघर्ष बोकेका पात्रहरूको उपस्थिति रहेको बताउँदै यसले प्रवासमा रहेका नेपालीहरूको वास्तविकता बुझ्न सहयोग पुग्ने धारणा राख्नुभयो। गणेश श्रमणले सरल भाषाशैलीमा अमेरिकी नेपाली समाजको सजीव चित्रण गरिएको उल्लेख गर्नुभयो।

कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठान नेपालद्वारा प्रकाशित उक्त सङ्ग्रहमा ११ कथा समावेश छन्। कृतिको मूल्य ६५० रुपैयाँ रहेको छ। पन्तका यसअघि ‘मुन्द्री’ र ‘नबोल्नेहरू’ कथासङ्ग्रह तथा ‘फुर्लुङ’ र ‘बौलाको डायरी’ उपन्यास प्रकाशित भइसकेका छन्। साथै, उहाँ नेपाली गीतसङ्गीत क्षेत्रमा पनि सक्रिय रहँदै विभिन्न एल्बम तथा म्युजिक भिडियो सार्वजनिक गरिसक्नुभएको छ।