काठमाडौं । साहित्यिक पत्रकार संघले साहित्यिक पत्रकार रमेश पोखरेल र प्रवीण जोशीलाई ‘भवानी साहित्यिक पत्रकारिता सम्मान’ प्रदान गर्ने भएको छ। संघद्वारा जारी विज्ञप्तिअनुसार पोखरेललाई भवानी साहित्यिक पत्रकारिता सम्मान–२०८१ तथा जोशीलाई भवानी साहित्यिक पत्रकारिता सम्मान–२०८२ प्रदान गरिनेछ।

उक्त निर्णय  कवि तथा समालोचक प्रमोद प्रधानको संयोजनमा गठित सिफारिस समितिको सिफारिसका आधारमा गरिएको हो। समितिमा साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ र नरेन्द्रबहादुर श्रेष्ठ सदस्य रहनुभएकाे थियाे । संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो।

वि.सं. २००६ असोज १५ गते जन्मिएका प्रवीण जोशी शृङ्खला साहित्यिक मासिकका सम्पादक तथा प्रकाशक हाे । हालसम्म उक्त पत्रिकाका २१८ अंक प्रकाशित भइसकेकाे छ । पत्रिकाले कवि गोकुल जोशी, लोककवि अली मियाँ, शिक्षासेवी केदारनाथ न्यौपाने, भैरव अर्यालको हास्य–व्यङ्ग्य तथा नारी स्रष्टालगायतका विशेषाङ्कसमेत प्रकाशन गरेको छ।

त्यसैगरी वि.सं. २०१८ वैशाख १५ गते जन्मिनुभएकाे रमेश पोखरेल शब्द संयोजन मासिकका कार्यकारी सम्पादक हुनुहुन्छ । उक्त पत्रिकाका हालसम्म २ सय ६३ अंक प्रकाशित भइसकेकाे छ ।

यसअघि उक्त सम्मानबाट शान्ति कुँवर, मदनदेव भट्टराई, रोचक घिमिरे, कमलमणि दीक्षित, गोविन्दबहादुर मल्ल ‘गोठाले’, नगेन्द्रराज शर्मा, चूडामणि रेग्मी, वासु शशी, शिव प्रधान, मातृका पोखरेल, विमल भौकाजी, किशोर पहाडी, रमेश शुभेच्छुक, विदुर गौतम र बालिका गिरीलगायत सम्मानित भइसक्नुभएकाे छ ।