धरान । कवि विष्णु वियोगी को कवितासङ्ग्रह ‘किरिच’ माथि विमर्श कार्यक्रम सम्पन्न भएको छ। महेन्द्र बहुमुखी क्याम्पस को नेपाली विभागको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

प्रा.डा. टङ्कप्रसाद न्यौपाने प्रमुख अतिथि रहेको कार्यक्रममा प्राज्ञ प्रा.डा. खेमराज खनाल, प्रा.डा. गोपालप्रसाद भण्डारी, प्रा.डा. खेमनाथ दाहाल, प्रा.डा. भीम खतिवडा, प्रा.डा. सागरमणि सुवेदी, पिण्डेश्वर विद्यापीठका प्राचार्य काशी पौडेल, कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही लगायत साहित्यिक तथा बौद्धिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो। साथै क्याम्पसका विभिन्न तहका विद्यार्थीहरूको बाक्लो सहभागिताले कार्यक्रमको आकर्षण बढाएको आयोजकले जनाएको छ।

कृतिमाथि प्रा.डा. भीम खतिवडा र डा. सुभाषचन्द्र न्यौपानेले विमर्श प्रस्तुत गर्नुभएको थियो। प्रा.डा. खतिवडाले कृतिको रचनागर्भबारे चर्चा गर्दै गहन मेहनतपछि मात्र यस्तो कृति सम्भव भएको बताउनुभयो। नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्षसमेत रहेका उहाँले कृतिभित्रका रचनाहरूले समग्र समाजको प्रतिनिधित्व गरेको धारणा व्यक्त गर्नुभयो।
विमर्शक न्यौपानेले भने ‘किरिच’ लाई प्रयोगवादी कृतिका रूपमा व्याख्या गर्दै यसको भाषिक र संरचनागत विशेषताको चर्चा गर्नुभयो।

कार्यक्रममा निरोज आचार्य, प्रेसिका निरौला, नवराज पोखरेल ‘नवशिला’ र दीपेन्द्रसिंह दर्नालले कृतिभित्रका रचनाहरू वाचन गर्नुभएकाे थियाे । कवि वियोगी पेसाले शिक्षक हुन्। वि.सं. २०५३ मै तयार भएको यो कृति वि.सं. २०८० मा मात्र प्रकाशनमा आएको हो।

उपप्राध्यापक लक्ष्मीकुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा नेपाली विभागका विभागीय प्रमुख डा. दीपकप्रसाद न्यौपानेको अध्यक्षता रहेको थियो भने कार्यक्रमको सञ्चालन उपप्राध्यापक राजेशकुमार यादवले गर्नुभएको थियो।