ललितपुर । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत केमिकल इन्जिनियरिङका विद्यार्थीहरूको समाज (सोच) ले काव्य साँझ आयोजना गरी क्याम्पसलाई कवितामय बनाएको छ।  कार्यक्रमले प्राविधिक शिक्षामा आबद्ध विद्यार्थीहरूमा समेत साहित्यिक प्रतिभा प्रस्फुटन हुनसक्ने तथ्य उजागर गरेको छ।

सोचका अध्यक्ष दिवस घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिखर कवि शैलेन्द्र साकार प्रमुख अतिथि रहनुभएको थियो भने कवि योगराज राजन र कवि वसन्त गौतम विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा कविहरू आर्यश खतिवडा, सुशांक खनाल, जेनिसा साप्कोटा, स्मारिका अधिकारी, विश्वनाथ शाह, डा. चैतन्य अधिकारी, डा. वसन्त गौतम र योगराज राजनले आ–आफ्ना कविताहरू वाचन गर्नुभएको थियो।

प्रमुख अतिथि साकारले आफ्ना चोटिला कविताहरू प्रस्तुत गर्दै इन्जिनियरिङका विद्यार्थीहरूले साहित्यिक कार्यक्रम आयोजना गरी कविता प्रस्तुत गर्नु  नौलो र प्रेरणादायी अभ्यास भएको उल्लेख गर्नुभयो।

कार्यक्रमको संयोजन सोचका सह–सचिव क्षितिज गौतमले गर्नुभएको थियो भने क्याम्पसकै विद्यार्थी विवेक पोद्दारले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।