उथलपुथल –कर्ण दयाल ‘सोराडी’

मुक्तककार कर्ण दयालको मुक्तक सङ्ग्रह हो ‘उथलपुथल’ । सङ्ग्रहमा कर्णले मेलापात, जागिर, दुःखसुख, रिस, कुण्ठा, नैराश्य, सामाजिक परिवेश, राष्ट्रप्रेम, राजनीति जस्ता कुरालाई समेटनुभएको छ ।

”दुर्गममा बसेर कलम चलाउनु हुने स्रष्टाको नाम कर्ण दयाल सोराडी ।” पुस्तकमा उषा शेरचन लेख्नुहुन्छ, हामी र हाम्रो कृति समाजबाट २४औं विमोचित हुने पुस्तकमा यसपटक दुर्गममा बसेर कलम चलाउनु हुने सुदूरपश्चिम बैतडीका साहित्यकार कर्ण दयाल ‘सोराडी’ भाइको मुक्तकसङ्ग्रह ‘उथलपुथल’ परेको छ । गजल, मुक्तक र कविता विधामा कलम चलाउँदै आउनु भएको स्रष्टा कर्ण दयाल ‘सोराडी’ले पछिल्लो समयमा आएर लघुकथा विधामा पनि आफनो कलम चलाउँदै आउनु भएको छ । यस अघि उहाँले गजल सङ्ग्रहका रूपमा आँखासामु, पर्दापछाडि, डुब्याकी जुन, आमनेसामने, लकडाउन, बेवारिसे लौरो कविता सङ्ग्रह र स्पान्तरण मुक्तकसङ्ग्रह प्रकाशन गरिसक्नुभएकोमा पछिल्लो कृतिका रूपमा उहाँले ‘दोपानी लघुकथा ‘सङ्ग्रह पनि बजारमा ल्याइसक्नुभएको छ । र, उहाँको एकल नवौँ र संयुक्तमा चौधौं कृतिको रूपमा आफ्नो दोस्रो मुक्तकसङ्ग्रह ‘उथलपुथल’ लिएर पुनः साहित्यिक आकाशमा झुल्कनु भएको छ ।”

त्यसैगरी पुस्तकमा माइला सी लेख्नुहुन्छ, ”गन्तव्य भुलेर यात्रीहरू अलमलमा परेको बेला, भिषण संघर्षको मोर्चामा लखतरान भएर योद्धाहरू थकित भएको बेला, अलपत्र परेर सपना अन्धकारमा रूमल्लीएको बेला साहित्य मार्गदर्शक बन्नुपर्छ, हौसला प्रेरणा भर्ने हुनुपर्छ र हुनुपर्छ उज्यालो पुञ्ज । कर्ण दयाल सोराडीकृत मुक्तकसङ्ग्रह यहि सार बोकेर पाठक सामु प्रस्तुत भएको छ । प्रायः साहित्यिक कलमहरू समाजको यथार्थता कोर्छन् समाजवादी कलमहरू भने यथार्थ चित्रणमा मात्रै रूक्दैनन् विकृति र विसंगति विरूद्ध जोडदार साहित्यिक हमला बोल्ने गर्छन् । कर्ण दयाल ‘सोराडी’ एक विद्रोही कविको परिचयमा उभिएकाछन् यस कृतिमा । जहाँ उनी अन्याय अत्याचारको विरूद्ध प्रतिरोधी आवाज बनेर खडा छन् । ढोंगी पाखण्डी र जनताको खिल्ली उडाउदै देश र जनतालाई बर्वाद पार्ने तत्त्व विरूद्ध निर्मम प्रहार गर्दै उज्यालो भविष्य खोज्नेहरूलाई आशाको दिप जलाउदै उभिएका छन् । उनको मुक्तक सङ्ग्रह प्रकाशनको यो अवसरमा पुस्तकको सफलता र उनको आउदा सिर्जनाहरू अझै भर्भराउदा खारिएका शक्तिशाली बन्नेछन्९ हृदय देखिको प्रेमपूर्ण शुभकामना ।”

पुस्तकलाई हामी र हाम्रो कृति समाजले प्रकाशन गरेको छ । तीन सय मुक्तक सङ्ग्रहित पुस्तकको मूल्य तीन सय ५० रुपियाँ रहेको छ ।