पछिल्लो समय हामीकहाँ पुस्तक प्रकाशन हुने क्रम बढ्दो छ । हरेक दिन पुस्तक प्रकाशन भइरहेको हुन्छ । सबै पुस्तक किन्न र पढ्न पाठक तथा लेखक कसैका लागि पनि सम्भव हुँदैन । यस्तो अवस्थामा आफ्नो रुचिको किताब छान्नु गाह्रो हुन जान्छ । बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन गर्न साहित्यपोस्टले यो स्तम्भलाई निरन्तरता दिइरहेको छ । यो स्तम्भको मुख्य उद्देश्य पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् । यही उद्देश्य पूर्तिका लागि हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ ।यही मेसोमा साहित्यपोस्टलाई यो साता निम्न छ वटा पुस्तक प्राप्त भएका छन् ।
=============
१. विमुक्ति – झम्क तिमल्सिना

झम्क तिमल्सिनाको दोस्रो कृतिका रूपमा प्रकाशनमा आएको कृति हो उपन्यास ‘विमुक्ति’ । उपन्यासले वर्तमान नेपाली समाजको गहिरो यथार्थ उजागर गरेका छ । परदेश मोह, वृद्धावस्थाको एक्लोपन, सम्बन्धहरूको बदलिँदो स्वरूप र अभिभावकविहीन घरजस्ता विषयलाई लेखकले सशक्त रूपमा प्रस्तुत गर्नुभएकाे छ।
पात्रहरू तेजमान, उनका छोरा–बुहारी, सुसारे लक्ष्मी र वृद्धाश्रमका अन्य पात्रमार्फत शहरी मध्यवर्गीय परिवारभित्रका भावनात्मक द्वन्द्वहरू उजागर हुन्छन् । विशेष गरी सन्तान आफ्नै जीवनमा अल्झिँदा आमा–बुबाको जीवन कसरी सुनसान बन्छ भन्ने कुरा उपन्यासको मूल भाव हो । कृतिको झण्डै ७५ प्रतिशत भाग तेजमानको डायरी स्वरूपमा लेखिएको छ, जसले कथा आत्मीय र सजीव बनाएको छ । डायरीमा सामाजिक इतिहास, चाडपर्वको रूपान्तरण, पुस्तान्तरणको द्वन्द्व, नारीहरूको पीडा र परदेशको छटपटीसम्म बहस गरिएको छ । डायरी अधुरो रहनु जीवनको अपूर्णताको प्रतीक बनेको छ, जुन उपन्यासको सबल पक्ष हो । सुसारे लक्ष्मीको त्याग र अन्त्यमा आएको निर्वासनले पाठकलाई सोच्न बाध्य पार्छ । ‘विमुक्ति’ केवल उपन्यास नभई अनुभव हो, जसले पाठकलाई आफ्नै कथा जस्तो अनुभूति गराउँछ ।
”जीवन भोगाइका कथा सम्भ्रान्तका पनि हुन्छन्, भुइँमान्छेका पनि ।” पुस्तकमा झम्क तिमल्सिना लेख्नुहुन्छ, ”धेरैलाई लाग्न सक्छ, आवरणमा सम्भ्रान्त देखिने मान्छेसँग दुःखका कथा हुँदैनन्, लेख्न योग्य कुनै करुण र व्यथा हुँदैनन् । तर यस उपन्यासको मूल पात्र जो आफैंमा एक सम्भ्रान्त हो, ऊ भन्छ, “पात्र बनिदिनुपर्छ, कथा आफैं बन्दो रहेछ । यस्तै एक सम्भ्रान्त वृद्धको कथा हो ‘विमुक्ति’ । अस्ताचलको सूर्य जस्तो ऊ आफ्नो विशाल बङ्गलाको बरण्डामा एक्लै चिसो वर्तमान बाँच्छ । मृत्युअघि त्यही पात्र आफ्नो डायरीमा लेख्छ, “मैले विशिष्ट चिताको पुष्पासनमा खाक बन्नेहरू देखेको छु। राष्ट्रिय सम्मानमा भव्य अन्त्येष्टि गरेको पनि हेरेको छु। कसैको कोही नभएर एक्लैएक्लै खरानी बन्नेहरू भेटेको छु । कसैकसैको रोइदिने कोही नदेखेर कहिलेकहीँ आफैं रोइदिएको पनि छु । जीवनको अन्त्यमा रोइदिने कोही त चाहिने नै रहेछ ।”
पुस्तकलाई पेज टर्नर प्रा.लि.ले बजारमा ल्याएको हो । एक सय ७४ पृष्ठमा फैलिएको उपन्यासको मूल्य चार सय ५० रुपियाँ रहेको छ ।
====================
२. पर्दापछाडीको भूटान – बलराम पौडयाल

लेखक बलराम पौडयालको मातृभूमिको इतिहासको खोजपूर्ण लेखन हो ‘पर्दापछाडीको भूटान’ । पौड्यालले पुस्तकमा भूटानी शरणार्थी सम्बन्धमा इयु र अमेरिकी सरकारको भूमिका र शरणार्थीलाई तेस्रो मुलुक पुनर्वास गराएको विषय गम्भीरताकासाथ उठान गर्नुभएको छ ।
”यो पुस्तक आद्योपान्त पढ्दा भूटानी जनताको प्रजातान्त्रिक आन्दोलनलाई प्रस्ट्याइएको पाइन्छ ।” पुस्तकमा हिरण्यलाल श्रेष्ठ लेख्नुहुन्छ, ”इतिहासलाई व्यवस्थित रूपमा प्रस्तुत गरी निर्वासितहरूको सङ्घर्षलाई उजागर गरिएको भेटिन्छ। उहाँ आफैं पनि सङ्घर्षमा होमिएको योद्धा भएको हुँदा पुस्तकमा आफ्नो भूमिका पनि उल्लेखित छ । पुस्तकको एउटा अध्यायमा शरणार्थी समस्या समाधानका लागि भएको असफल वार्ताक्रम उल्लेख छ। यहाँ नेपाल-भूटान द्विपक्षीय वार्ता असफल हुनुका कारण, वार्ताका क्रमलगायत अन्तर्राष्ट्रिय समुदायले चासो दिएर पनि नागरिकमाथि भेदभाव गर्ने भूटानी सरकारलाई पर्याप्त दबाब दिन नसकेको कुरा स्पष्ट पारिएको छ । कूटनीतिक मामिला सम्बन्धमा पनि व्यापक चर्चा गरिएको छ ।”
त्यसैगरी, पुस्तकमा लेखक पौडयाल लेख्नुहुन्छ, ”जन्मभूमि र भूटानी समाजप्रति माया राख्ने बौद्धिक व्यक्तित्व एवं साथीहरूको सहयोग र समर्थन थिएन भने मेरो एक्लो प्रयासले यो पुस्तक तयार हुन सम्भव थिएन । ज-जसले, जहाँजहाँबाट, सहज वा असहज परिस्थितिलाई छिचोल्दै सहयोग र हौसला प्रदान गर्नुभयो, उहाँहरू सबै धन्यवादका पात्र हुनुहुन्छ । धेरै मित्रहरूले इतिहासमा आधारित प्रमाणका अतिरिक्त नेपालीसहित अङ्ग्रेजी र हिन्दी भाषामा अनुवादित पुस्तकहरू पनि संयुक्त रूपमा प्रकाशित गर्नुपर्छ भन्ने सल्लाह दिएर प्रकाशनका लागि हौसलासहित आर्थिक सहयोग प्रदान गर्नुभएको छ । यसरी सहयोग प्रदान गर्नुहुने व्यक्तित्वहरूमा जसोदा बुढाथोकी, दुर्गा गिरि, गणेश सुवेदी, मिलन राणा, गोपाल गुरुङ, प्रहलाद दाहाल, देवेन्द्र गौतम, जयनारायण अधिकारी, पवित्रा दुलाल, गंगामाया ढकाल, राजेन गिरि, देउमाया गिरि, ममता गिरि, निरा गिरि, हस्त खनाल, टीकाराम बस्नेत, डा. नारद पोखरेल, सुरज बुढाथोकी, नरबहादुर राई, जगन्नाथ भट्टराई, टीकाराम भट्टराई र टडू बास्तोलाप्रति हार्दिक आभार व्यक्त गर्दै सहयोगको विवरण प्रस्तुत पुस्तकको अन्तिम पृष्ठमा समावेश गरेको छु ।”
पुस्तकलाई पेज टर्नर प्रा.लि.ले बजारमा ल्याएको हो । तीस सय ९३ पृष्ठमा फैलिएको पुस्तकको मूल्य नौं सय ९९ रुपियाँ रहेको छ ।
===========================
३. द्रष्टा दृष्टिमा स्रष्टा विजय चालिसे – स. ठाकुर शर्मा भण्डारी

ठाकुर शर्मा भण्डारीले सम्पादन गर्नुभएको पुस्तक हो, ‘द्रष्टा दृष्टिमा स्रष्टा विजय चालिसे’ । पुस्तकमा विजय चालिसेको बारेमा विभिन्न स्रष्टाहरूले लेख्नुभएको लेखहरू समेटिएको छ । यसभित्र आख्यानखण्ड, नियात्रा, निबन्धखण्ड, बालसाहित्य खण्ड, अङ्ग्रेजी समीक्षाखण्ड, अन्तर्वार्ता खण्ड समेटिएको छ ।
”कथा, उपन्यास, नियात्रा आदिमा प्रत्यक्षतः समाजमा देखिने वा यथार्थ रूपमा प्रस्तुत हुने गरेका विकृत, विसङ्गत र सङ्गत अवस्थालाई सूत्रात्मक एवम् व्याख्यात्मकरूपमा प्रस्तुत गर्नु विजय चालिसेको विशेषता हो ।” पुस्तकमा ठाकुर शर्मा लेख्नुहुन्छ, ”सामाजिक सन्दर्भमा विभिन्न अवस्था विशेष, परिवेश विशेष, परिवार विशेष, व्यक्तिविशेष, सामाजिक दायित्व बोधविशेष आदिमा देखिएका विसिङ्गति र विरोधमा समस्त उपन्यास वा कथाहरू उभिएका छन् भन्ने अनुभूति हुन्छ। उहाँका विभिन्न कृतिहरूमा वर्गको कुरा गर्दा उच्च वर्ग, मध्यम वर्ग, निम्न वर्गको पारिवारिक एवम् मानवगत चित्रणहरू पनि प्रस्तुत रहेको देखिन्छ । विजय चालिसेका आख्यानभित्र सामाजिक धरातलमा देखिने गरेका लोक विरोधी गतिविधि, धर्म, संस्कृति, परम्परामा देखिएका सामाजिक थिचोमिचो, अन्याय, अत्याचार, आपराधिक कार्य र विकृतिहरूलाई प्रस्तुत गरिएको हुन्छ । उहाँको लेखनमा स्थानीयताको झलक पनि पाइन्छ । हिमालीक्षेत्रको बहुपतिप्रथा होस् वा पश्चिमी भेगको देउकी र कमलरीप्रथाको सन्दर्भ होस् अथवा अन्य क्षेत्रका विसङ्गत सन्दर्भ होऊन् विजय चालिसेका लेखनमा स्पष्टतया झल्किएको देखिन्छ । यसैगरी उहाँका अन्य विधामा पनि आफ्नो समाज होस् वा वैश्विक समाजको मानवीय स्वभाव, कार्य र प्रभावलाई लेखनमा भित्र्याएर अझ उच्चता प्रदान गरेको अनुभूति पनि हुन्छ ।”
त्यसैगरी, पुस्तकमा बाजुराम पौडेल लेख्नुहुन्छ, ”बहुआयामिक तथा बहुप्रतिभाका धनी विजय चालिसे नेपाली साहित्यको विशाल फाँटका रूपमा चिनिँदै आएका छन्। विभिन्न विद्वान् समालोचकहरूबाट उनका बारेमा तयार भएका एक सय ३६ वटा भन्दाबढी लेख रचना कृतिबाट यसको पुष्टि हुन्छ। विभिन्न शीर्षक र उपशीर्षकमा राखिएका ती रचनाहरू उपन्यासखण्ड, कथाखण्ड, विविध, निबन्ध, नियात्रा, अनुवाद, बालसाहित्य अन्तर्वार्ता र अङ्ग्रेजी खण्डमा विभाजित छन् । विजयका कविता तथा नाटकलाई छाडेर अन्य विभिन्न विधाका विज्ञ केही लेखकहरूको विभिन्न विधामा समेत उपस्थिति पाइन्छ ।”
पुस्तकलाई सुरभि साहित्य प्रतिष्ठानले बजारमा ल्याएको हो । एक हजार ५४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य दुई हजार रुपियाँ रहेको छ ।
========================
४. जिन्दगीका पानाहरू –विष्णु एस राई

लेखक विष्णु एस राईको आत्माकथा हो, ‘जिन्दगीका पानाहरू’ । पुस्तकमा विष्णुको बाल्यकाल विश्वविद्यालयको जीवनदेखि अवकाससम्मका कुरा समेटिएको छ ।
”एक ठाउँबाट अर्को ठाउँसम्म पैदल वा सवारी साधनमा जाने-आउने काम नै यात्रा हो ।”, पुस्तकमा प्रा.डा. हेमचन्द्र नेपाल लेख्नुहुन्छ, ”यात्रारत व्यक्ति यात्री हो । रुसी साहित्यकार लियो टाल्सटाय भन्छन ‘जिन्दगी एउटा महायात्रा हो ।’ जीवनभर गरिएका कामकुराको सिलसिलाबद्ध लेखन जीवनी हो। जीवनी राष्ट्रिय र अन्तर्राष्ट्रिय हुन्छ। आफ्ना सम्बन्धमा आफैले लेखेको इतिवृत्तलाई आत्मकथा भनिन्छ । यात्राका पाँच प्रसङ्गमा अडिएर लेखिएको प्रस्तुत ‘जिन्दगीका पानाहरू’ एउटा रोचक आत्मकथा हो, जसमा जोडदार तर्क, गम्भीर विचार, हार्दिक भावना, रोमाञ्चक कल्पना, अद्भुत ज्ञान-विज्ञान र व्यावहारिक शैक्षणिक झलकहरू प्रस्तुत छन् । हिजोआज आत्मकथा प्रकाशनको लहड हेर्दा यसमा आत्मरति वा आफूबाट आफैं तृप्त हुने आत्मनिष्ठाले गर्दा पाठकको अरूचि बढ्दो छ भन्ने गरिन्छ । ‘जिन्दगीका पानाहरू’ त्यस्तो छैन । गतिशील भएर पनि नदी वक्ररेखामा घुम्छ । वक्रोक्तिमा खरो उत्रिएका विष्णु एस राई गुरुजनको पिटाइ र गालीबाट बोधो ज्ञान प्राप्त हुने रहेछ भन्दै शिक्षा दानलाई सुधार्न मधेस, पहाड, देश, परदेशको वक्ररेखामा तानिएका छन् । भियना विश्वविद्यालयमा ज्ञान-विज्ञानका क्षेत्रमा अतुलनीय योगदान गर्ने महापण्डितहरूका सन्दर्भमा राई सरले प्रस्तुत गरेका टिप्पणीहरू उहाँतिर सोझ्याउँदा उहाँ सयौं वाटका झिलिमिली बत्ती जस्तो उज्यालो प्रस्तुत आत्मकथामा सार्दै हुनुहुन्छ भने अभूमिका लेख्ने यो असफल मनुवा अँधेरोमा टुकीको पिलपिले उजेलो जस्तो पनि छैन भन्ने कुरा विज्ञ पाठकहरूले सहजै अनुमान गर्न सक्नुहुन्छ ।”
त्यसैगरी, पुस्तकमा विष्णु एस राई लेख्नुहुन्छ , ”मैले तथ्यात्मक होइन कथात्मक शैलीको प्रयोग गरेको छु । यसको अर्थ यसमा तथ्य नभएर कल्पना कथा मात्रै छ भन्ने होइन । तथ्य सबै उनै हुन्, घटना र पात्रहरू पनि साँचा हुन्- मात्र तिनको प्रस्तुति वा शिल्प भने कथाशैलीमा छ । आशा छ, आत्मजीवनी संस्मरण लेखनमा यस शैलीको स्वागत हुनेछ । म यसलाई जीवनी किन पनि भन्दिनँ भने यसका विभिन्न अध्याय र शीर्षकहरूलाई छुट्टाछुट्टै पनि पढ्न सकिन्छ । एक अध्याय बुझ्न समग्र पुस्तक पढ्नु जरूरी छैनः एक अध्याय वा शीर्षक आफैंमा सम्पूर्ण छ ।”
पुस्तकलाई सगुण –आसरा प्रकाशनले बजारमा ल्याएको हो । तीन सय ३६ पृष्ठमा फैलिएको पुस्तकको मूल्य चार सय ५० रुपियाँ रहेको छ ।
==============================
५. भूमिका सकिएपछि –अमोद भट्टराई

लेखक अमोद भट्टराईको कथासंग्रह हो, ‘भूमिका सकिएपछि’ । भट्टराईले संग्रहमा रोगग्रस्त, भोकग्रस्त, अन्यायग्रस्त, गरीब र शोषितहरूका कथा समेट्नुभएको छ ।
”यात्रा-साहित्य यथार्थको अनुकृति भए पनि आख्यानको रचना गरिन्छ ।”, पुस्तकमा अभि सुवेदी लेख्नुहुन्छ, ”घरको दिक्क र मैलो पखाल्न यात्रा गरिन्छ भन्नेहरू छन् । घर चिन्न टाढा जानुपर्छ । यस्तो स्पन्दन केही वर्षपहिले प्रकाशित आफ्नै कवितामा यसरी लेखेको रहेछु- ‘भित्रमात्र बस्दा अब सिद्धिएछुजस्तो लाग्छ । बाहिर बस्दा टाँसिएर बसूँ कि त जस्तो लाग्छ । अमोद भट्टराईका कथामा यस्तै स्पन्दनको नाट्यकरण भएको छ । प्रत्येक कथामा आफ्नो परिवेशलाई बुझ्न स्थान र समयको दूरीलाई आधार बनाइएको छ । टाढा गएपछि आफ्नो परिवेश सुन्दर देखिन्छ अथवा चुनौतीपूर्ण देखिन्छ । तर, अमोदले टाढा नगईकन टाढाको दृष्टिबाट कथा-रचना गरेका छन् ।”
त्यसैगरी, पुस्तकमा परशु प्रधान लेख्नुहुन्छ, ”आजको विश्वमा नेपाली कथाकारले नेपाल र नेपालीका कथामात्र लेखेर पुग्दैन । हामी एक राष्ट्रमा नबाँधिएर विश्व-गाउँका नागरिक भएका छौं। विश्वको कुनै पनि कुनामा भएको सानुतिनो घटनाले हामीलाई घाउ लगाउँछ । हामीले विश्वकै कथा लेख्नुपर्छ । नेपाली कथा-साहित्यमा यसप्रकारका विषयवस्तु आएका थिएनन् र छैनन् । यी कथा नेपाल र नेपालीका मात्र होइनन्, समग्र विश्वकै हुन् ।”
त्यसै, पुस्तकमा कृष्ण गौतम लेख्नुहुन्छ, ”अन्तर्राष्ट्रिय कुरालाई उभ्याउने काम समाचार-पत्रजस्ता केही विषयको मात्र हो भन्ने ठान्नुहुँदैन । साहित्यकारले आफ्ना पाठकलाई आञ्चलिकताका कुनामा लगेर न्यानो तपाऊन् तर अन्तर्राष्ट्रिय फाँटमा लगेर खुला हावा खुवाउन पनि नबिर्सिऊन् । अन्तर्राष्ट्रिय समस्या आँखा चिम्लेर राष्ट्रियता वा आञ्चलिकताको अगेनामा जिउ तताएर बस्नमात्र हामी चाहँदैनौं। यस दृष्टिले भट्टराईका कथा उल्लेखनीय छन् ।”
पुस्तकलाई साङ्ग्रिला मिडिया ग्रुपले प्रा.लि.ले बजारमा ल्याएको हो । १९ ओटा कथा संग्रहित पुस्तकको मूल्य तीन सय ९५ रुपियाँ रहेको छ ।
================================
६. चैतन्यबोध –मानसाग्नि

निबन्धकार मानसाग्नि (डा. हरिप्रसाद पोखरेल) को निबन्धसंग्रह हो ‘चैतन्यबोध’ । संग्रहमा मानसाग्निले स्वधर्मसहितको जीवनको अनुष्ठानमय वैदिक प्रज्ञा र आध्यात्मिक दर्शनसँग सम्बन्धित निबन्धहरू समेट्नुभएको छ ।
”मानसाग्नि नेपाली निबन्ध संसारमा अचानकै मानस अर्थात् चेतनाका अग्नि बनेर प्रवेश गरेका छन् ।”, पुस्तकमा मोमिला जोशी लेख्नुहुन्छ, ”यसर्थ मानसाग्निको ‘चैतन्यबोध’ मा पदार्पण गर्ने जोकोहीले आफैमा अन्तर्निहित सृष्टिको बीजसत्य मानस अग्निलाई बुझ्ने छन्, पढ्ने छन्, सलबलाउने छन् अनि कतै आफैमाको चेतनामा आफै अग्लिने छन् त कतै आफैमाको चेतनामा आफै गहिरिने छन् र अन्ततः मानस रूपमा सत्तासीन रहस्यात्मक अध्यात्म सत्यसँग एकाकार हुँदै परमानन्दमा लीन हुने छन् । ठिक त्यही समय हुने छ, जतिखेर मानसाग्निको निबन्धहेतु यात्रारत कलमले मोक्ष प्राप्त गर्ने छन् । यदि ‘चैतन्यबोध’ मा अङ्कित दृश्य संसारमै यसो अडेसा लाग्ने हो भने पनि आफै उभिएको माटोको आत्मीय सुगन्धले मनग्य नै पुलकित पार्ने छन् र पूर्वीय चेतको वैभवशाली उज्यालोमा जीवनले मार्ग पहिल्याउने छन् । यहींनेर लेखकीय विशिष्ट प्राप्ति स्वरूप भावकको अक्षरयात्राबाट पनि यो दृश्य जगत्को आनन्दी तीर्थाटन एउटा सीमासम्म सफलीभूत हुने नै छन् ।”
त्यसैगरी, पुस्तकमा प्रा.डा लक्ष्मणप्रसाद गौतम लेख्नुहुन्छ, ”समकालीन नेपाली निबन्धलेखन बहुलवादी प्रवृत्तिका साथ गतिशील छ । युगजीवनका अनुभूति, भोगाइ, चिन्तन, दृष्टिकोण, आत्मचेतना, दर्शन, भावनाको गहिराइ, भोक्ता अनुभूति र द्रष्टा अनुभूतिको सन्तुलन आदि अहिलेको निबन्धलेखनका स्थूल प्रवृत्ति हुन् । अनेकौँ प्रवृत्ति, शैली र शिल्पका समकालीन नेपाली निबन्धको यस यात्रामा प्रत्येक निबन्धकारका भिन्नभिन्न प्रवृत्ति देखिन्छन् र यस्ता अनेकौँ प्रवृत्तिहरूको सङ्कुल वृत्तबाट आजको नेपाली निबन्ध गतिशील छ । यसै सन्दर्भमा दार्शनिक निबन्धहरूको सङ्ग्रह लिएर मानसाग्नि उपस्थित भएका छन् । लाग्छ; मानसाग्निमा ज्ञानको विराट भण्डार छ, पूर्वीय सभ्यता, संस्कृति र तिनका वैभवसँग उनी परिचित मात्र होइन त्यसभित्र चुर्लुम्म डुबेर त्यस वैभवलाई जनसमक्ष सम्प्रेषण गर्न पनि समर्थ छन् ।”
पुस्तकलाई पेज टर्नर प्रा.लि.ले बजारमा ल्याएको हो । १८ ओटा निबन्ध संग्रहित पुस्तकको मूल्य पाँच सय २५ रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३१ जेष्ठ २०८३, आईतवार 










