दाङ । नेपाल पत्रकार महासङ्घका केन्द्रिय सचिव तथा उपन्यासकार सविन प्रियासनद्वारा लिखित नयाँ उपन्यास ‘नयाँ लुगा’ दाङमा सार्वजनिक गरिएको छ। राप्ती साहित्य परिषद् जिल्ला शाखाको आयोजनामा भएको कार्यक्रममा प्रियासनको १३औँ कृति विमोचन गरिएको हो।

नेपालकै दोस्रो धेरै उपन्यास प्रकाशित गर्ने उपन्यासकारका रूपमा परिचित प्रियासनका यस वर्ष मात्रै तेस्रो उपन्यास बजारमा आएको हो। यसअघि असोजमा कडी र कार्तिकमा कालो मन सार्वजनिक भएका थिए।

कार्यक्रम परिषद्का अध्यक्ष यम रेग्मीको अध्यक्षतामा, पूर्व अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम खनालको प्रमुख आतिथ्यतामा तथा सल्लाहकार पद्मप्रसाद शर्माको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो।

उपन्यास विमोचनसँगै विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्नुभएकाे दुई युवा प्रतिभालाई समेत सम्मान गरिएको थियो। घोराही–१० की रोशनी घर्ती मगरले सामुदायिक विद्यालयबाटै चिकित्सा शिक्षा आयोगको परीक्षा उत्तीर्ण गरी पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको र बबई गाउँपालिकाको सरस्वती आधारभूत विद्यालय जलजलामा २० वर्षकै उमेरमा प्रधानाध्यापक बनेकी रक्षा कुमारी यादवलाई घोराही बनाऔँ अभियानको तर्फबाट सम्मान गरिएको थियो।

प्रमुख अतिथि खनालले प्रियासनको निरन्तर सिर्जनशीलता र साहित्यिक योगदानको प्रशंसा गर्दै अझ सबल विषयवस्तुमा कलम चलाउन सुझाव दिनुभयाे । अन्य वक्ताहरूले प्रियासनलगायतका उपन्यासकारका कारण दाङ उपन्यास लेखनमा सशक्त केन्द्रका रूपमा उदाउँदै गएको टिप्पणी गर्नुभयाे ।

सो क्रममा उपन्यासकार प्रियासनले आगामी पाँच वर्षभित्र नेपालकै सबैभन्दा धेरै उपन्यास प्रकाशित गर्ने उपन्यासकार बन्ने लक्ष्य सुनाउनुभयाे ।

कार्यक्रममा लेखक प्रियासनले कृतिबारे प्रकाश पार्दा विशिष्ट अतिथि पद्मप्रसाद शर्मा, पत्रकार महासङ्घ दाङका पूर्व अध्यक्ष डा. सुदीप गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे  थियाे। परिषद्का सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव घनश्याम केसीले गर्नुभएकाे थियाे ।