इलाम । स्वरसम्राट् नारायणगोपालको स्मृति दिवसको अवसर पारेर इलामका सङ्गीतकर्मी देवीप्रसाद गौतमद्वारा रचित गीत–सङ्ग्रह ‘पाँचकोरी थुँगा’ सार्वजनिक गरिएको छ।
इलाम नगरपालिकाको साहित्य कला सङ्गीत प्रतिष्ठान र इलाम साहित्य संस्कृति कला प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका सचिव जय नारायण भट्टराईले सञ्चालन गर्नुभएकाे थियाे । कार्यक्रममा नारायणगोपालका लोकप्रिय गीतहरू स्थानीय कलाकार कोमल निरौला लगायतले प्रस्तुत गर्नुभएकाे थियाे ।
गौतमको यो पहिलो गीत–सङ्ग्रह भए पनि उहाँले २०४५ सालमै रेडियो नेपालमा ‘मन रुने सारङ्गी बज्यो’ गीत रेकर्ड गराइसक्नुभएकाे छ । उहाँकाे राष्ट्रिय तथा लोकगीतहरू रेडियो नेपालमार्फत प्रसारण भइसकेका छन्। आधुनिक, लोकधुन, धार्मिक भावना तथा राष्ट्रिय पहिचानमा आधारित उहाँकाे गीत–सङ्गीतलाई नेपाली संगीतको प्रभावकारी योगदानका रूपमा वक्ताहरूले उल्लेख गर्नुभयाे ।
सङ्ग्रहमा राई समुदायको ‘साकेला’ र लिम्बू समुदायको ‘केलाङ’ लयसमेत समावेश गरिएको छ, जसले पूर्वी पहाडको सांस्कृतिक विविधतालाई गीतमार्फत उजागर गरेको सहभागीहरूको भनाइ थियो। करिब एक सय गीत समेटिएको यस सङ्ग्रहमा प्रेम, प्रकृति, परम्परा, सांस्कृतिक धुन, लोक भाका तथा जीवनका विभिन्न पक्ष समेटिएका छन्।
कार्यक्रममा इतिहासविद् जुद्धप्रसाद वैद्यले ‘पाँचकोरी थुँगा’ले इलामको सांस्कृतिक इतिहासमा नयाँ योगदान थपेको मूल्यांकन गर्नुभयाे । संगीत तथा संस्कृतिलाई नयाँ पुस्तामा पुर्नजीवन दिन सक्ने प्रयासका रूपमा पनि उहाँले कृतिको प्रशंसा गर्नुभयाे ।
कार्यक्रममा स्थानीय साहित्यकार, कलाकार, पत्रकार, सङ्गीतकर्मी तथा सरोकारवालाहरूको उपस्थिति उल्लेखनीय थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ पुष २०८२, मंगलवार 




