मरुभूमिमा डुङ्गा –शरद पोख्रेल
कवि शरद पोख्रेलको कविता सङ्ग्रह हो ‘मरुभूमिमा डुङ्गा’ । पोख्रेलले कवितामा प्रेम लेख्नुभएको छ, देश प्रेम लेख्नुभएको छ स्वतन्त्रता लेख्नुभएको छ ।
”अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) भाषा र साहित्यको सम्वर्धन गर्ने संस्था मात्र होइन, नयाँ नयाँ प्रतिभा जन्माइरहने संस्था पनि हो।” पुस्तकमा प्रकाश पौडेल माइला लेख्नुहुन्छ, ”तीन दशक लामो यो संस्थाभित्र कैयौं सांगठनिक व्यक्तित्व जोडिनु भयो र यसलाई संसारभरि फैलाउनुभयो। अनि यी दशकहरूमा एक से एक कवि लेखक जन्मनुभयो र यसलाई प्रतिभाशाली लेखक-कविहरूको संगठनको दर्जामा पनि पुर्याउनुभयो। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सबैभन्दा पहिले ती सबै सांठनिक, प्रतिभासम्पन्न नेपाली भाषा र साहित्य प्रेमीहरूमा पनि सतत् नमन टक्राउन चाहन्छ । यसै लहरमा प्रतिभाशाली कवि तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरका महासचिव शरद पोखेल ‘मरुभूमिमा डुङ्गा’ नामक कृतिका साथ आउनुभएको छ। सङ्ग्रहको शीर्षकबाटै पोखेलका कविताभित्रका विपर्यय व्यङ्ग्यको अनुमान गर्न सकिन्छ। यही अद्भूत काव्य सोचकै कारण शरद पोखेल अनेसास कविता महोत्सव २०२१ मा प्रथम हुनु भएको थियो। उहाँको यो प्रतिभाको छनक हामीलाई त्यही बेला नै भएको थियो जब उहाँले जापान च्याप्टरले केही वर्ष अगाडि आयोजना गरेको जापानव्यापी कविता प्रतियोगितामा पनि सर्वोत्कृष्ट ठहरिनु भएको थियो ।”
त्यसैगरी पुस्तकमा लेखक शरद पोख्रेल लेख्नुहुन्छ, ”सबैले लेखेकै विषयमा लेखेको छु। सबै हिँडेकै गोरेटोमा हिँडेको छु। सबैले औंल्याएकै दृश्य हेरेको छु। तर सकेसम्म मेरो आँखाको आवाज सुनाउने प्रयास गरेको छु। आफ्नै खुट्टाले हिँड्दा उडेको धुलोलाई आकार दिने प्रयास गरेको छु। जगत्को बास्नालाई आफ्नै हातले छुने र आफ्नै मनले छाम्ने कोसिस गरेको छु। तर लेखिन बाँकी थुप्रै विषयहरू छन् अझै। हिँड्न बाँकी थुप्रै बाटाहरू छन् अझै। चढ्न बाँकी थुप्रै वैकल्पिक चुचुराहरू छन्, तर्न बाँकी थुप्रै घाटहरू छन्। म भने अझै शब्दका लहरमा खियाउन उपयुक्त हुने काव्यको डुङ्गा खोज्दै किनारमै रुमल्लिरहेको छु। यो स्विकार्छ। अब किनारबाट अगाडि कसरी बढूँ, पाठकहरूको जिम्मामा पनि छ। हिँजोसम्म यी अक्षरहरू मेरा थिए। आजबाट हजुरहरूका भएका छन्। अब यी अक्षरहरूले हजुरहरूको हृदयलाई जे जसरी सम्बोधन गर्छन्, त्यो मलाई सदा स्वीकार्य हुनेछ। मन परे मनमनै धन्यवाद भन्दा हुन्छ तर मन नपरे मैले सुन्ने गरेर नै आलोचना गर्नुहोला। हजुरहरूको प्रतिक्रियालाई मेरो अगाडिको बाटोको निम्ति प्रकाश सम्झनेछु ।”
पुस्तकलाई शिखा बुक्सले प्रकाशन गरेको छ । चार खण्डमा रहेको ६१ वटा कविता संग्रहको मूल्य तीन सय रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
४ माघ २०८२, आईतवार 










