
साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई कवि तथा नियात्राकार विनोद नेपालको चौथो कृति “ससुरालीदेखि सुस्तासम्म” प्राप्त भएकाे छ ।
१ सय ३५ पृष्ठमा बुनिएको यस नियात्रासंग्रहमा ‘चक्रपथको फन्को’, ‘ओझेलमा इचङ्गु’, ‘स्वयम्भूको थुम्कोमा’, ‘गुफाको देउता’, ‘दहचोकमा सेतो हात्ती’, ‘शहीद गोविन्दको गाउँ’, ‘खोया खाँदै बैतडी’, ‘ससुरालीदेखि सुस्तासम्म’, ‘ट्याक्सीमा दिङला’, ‘आहा ! अन्धाअन्धी दह’, ‘आँसु बगेको छ इन्द्रावतीमा’, ‘धरिनडाँडामा प्रफुल्लित मन’, ‘कुहिरोभित्र कुरी’, ‘देखेको जिरी’ र ‘बाँदरलाई सुर्ती’ १५ थान नियात्रा समेटिएका छन् ।
“यस सङ्ग्रहका पाँचवटा निबन्धहरू काठमाडौं उपत्यकाभित्रको अवलोकन भ्रमणसँग सम्बन्धित छन्। तिनमा काठमाडौंका सामाजिक तथा सांस्कृतिक महत्त्वको स्थानहरूको अवस्थालाई प्रकाशनमा ल्याउने काम लेखकले गर्नुभएको छ । आफ्नै सेरोफेरोका सामान्य विषयमा केन्द्रित भई विचारलाई प्रवाहित गर्न सकिन्छ भन्ने कुराको पुष्टि काठमाडौं केन्द्रित भ्रमणबाट निस्किएका सिर्जनाहरूबाट प्रस्ट हुन्छ । काठमाडौंभित्र रहेका पौराणिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्वका सम्पदा तथा तिनको संरक्षणप्रति राज्य र नागरिकले चासो र चिन्ता लिनुपर्ने विचार यी निबन्धहरूमा व्यक्त गरिएको छ ।” भूमिकामा डा. टंकप्रसाद पन्थ लेख्छन्, “लेखकभित्र सल्बलाएको सुधार र निर्माणको चेतका साथमा सचेत नागरिकको कर्तव्य पनि यहाँ प्रस्तुत भएको छ । दशवटा निबन्धहरू पूर्वी नेपाल, मध्य नेपाल र पश्चिम नेपालको भ्रमणसँग केन्द्रित रहेका छन् । प्रकृतिसँगको साक्षात्कारका साथमा देशदर्शन को आनन्दमय अनुभूति यी निबन्धहरूमा व्यक्त भएको छ । भारतीय सीमामा बस्ने नेपालीहरूले भोग्नुपरेका पीडा र अकालमा मर्नुपरेको अवस्थाको चित्रण मार्मिक रूपमा भएको छ । नेपालका विभिन्न स्थानमा घुम्दै गर्दा पाठकलाई सँगै हिँडाउनु र स्थानीय वस्तुस्थितिको अवलोकन गराउन सक्नु उहाँको विशेषता हो। लेखकले भोगेको समस्या र प्रतिकूलतामा पाठकमा पनि संवेदना उत्पन्न हुने स्थितिमा लेखन अगाडि बढेको छ ।”
मेरो भन्नुमा लेखक उल्लेख गर्छन्, “लेखन शैलीको हकमा कसैका नियात्रामा निबन्ध तत्त्वको आधिक्य पाइन्छ, निजात्मक अनुभूतिको प्रचुरता पाइन्छ, कसैका हकमा वार्ता र संवाद, प्रकृति र संस्कृति, समाज र जनजीवनको वर्णन पाइन्छ। नियात्राको क्षमताको परीक्षण पाठकलाई सँगसँगै घुमेको अनुभूति गराउन सफल वा असफल भएको कुराबाट हुन्छ । ज्ञान र जानकारीसँगै पाठकलाई सम्बन्धित यात्रामा सँगसँगै रहेको अनुभूति गराउन सकेमा त्यो नियात्रा वास्तविक र सफल नियात्रा ठहरिन्छ ।”
पुस्तकलाई भूगोल साहित्य समाजले बजारमा ल्याएको हो । १ सय ३५ पृष्ठमा फैलिएको ‘ससुरालीदेखि सुस्तासम्म’को मूल्य ३ सय रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
