विराटनगर। विराटनगरका युवा कवि नेत्र खतिवडाको पहिलो कृति ‘ढुङ्गो फुलेपछि’ मुक्तकसङ्ग्रह लोकार्पण गरिएको छ। नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेश शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा उक्त कृतिको संयुक्त रूपमा लोकार्पण गरिएको हो।
कार्यक्रममा प्राज्ञ विवश पोखरेल, अग्रज साहित्यकारहरू बलराम पोखरेल, कविराज न्यौपाने, सरला चापागाई, उमेश लुइटेल, भुषण ढुङ्गेल, प्रयाग न्यौपाने तथा आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेलले संयुक्त रूपमा कृति सार्वजनिक गर्नुभएकाे थियाे ।
कृतिमाथि समालोचकद्वय उमेश लुइटेल र भुषण ढुङ्गेलले समीक्षा प्रस्तुत गर्नुभएकाे थियाे । समालोचक लुइटेलका अनुसार संग्रहका मुक्तकहरूमा बिम्ब र प्रतीकको सशक्त प्रयोग, साथै समसामयिक, श्रृङ्गारिक र राष्ट्रप्रेमका विषयलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ।
अर्का समालोचक ढुङ्गेलले भन्नुभयाे, “नेत्र खतिवडाका मुक्तकहरूमा मुक्तकका सबै गुणहरू छन्— भावनात्मक गहिराइ र भाषिक चमत्कार।” उहाँले खतिवडाको सृजनायात्रालाई निरन्तरता दिन शुभकामना समेत दिनुभयाे।
प्रमुख अतिथि प्राज्ञ विवश पोखरेलले कृतिलाई मानवीय संवेदनाले ओतप्रोत रहेको बताउँदै भन्नुभयाे, “यो संग्रहले समाज र वर्तमान समयको यथार्थ बोलेको छ।”
नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेश शाखाका अध्यक्ष बाबुराम पोखरेलले भन्नुभयाे, “भविष्यको उज्यालो आशाले जीवनलाई सार्थक बनाउँछ, र नेत्र खतिवडाको लेखन त्यस दिशातिरको प्रेरणादायी कदम हो।”
सो अवसरमा नानुमैया दाहाल, नवराज पोखरेल ‘नवशिला’, प्रज्ञा कट्टेल र पुष्पा सायरालगायतका मुक्तककारहरूले संग्रहभित्रका मुक्तकहरू वाचन गर्नुभएकाे थियाे।
कार्यक्रममा विराटनगर र आसपासका क्षेत्रका साहित्यकारहरूको बाक्लो उपस्थिति थियो। कार्यक्रमको सञ्चालन सचिव मदन भण्डारीले गर्नुभएकाे थियाे भने स्वागत मन्तव्य सदस्य लक्ष्मी रायमाझीले राख्नुभएकाे थियाे।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२६ कार्तिक २०८२, बुधबार 




