काठमाडौँ  । नेपाली साहित्यका अग्रज कथाकार इन्द्रबहादुर राईको चर्चित कथा–संग्रह ‘विपना कतिपय’ पुनर्मुद्रण गरी बजारमा आएको छ । इम्प्रिन्ट पब्लिसर्सले यस कृतिलाई क्लासिक–सिरिजअन्तर्गत पुनः प्रकाशित गरेको हो ।

सन् १९६० मा पहिलोपटक प्रकाशित यो संग्रहभित्र पारम्परिक नेपाली कथा शिल्पभन्दा बाहिर गएर प्रयोगात्मक शैलीमा लेखिएका २३ कथा समेटिएका छन् । ‘रातभरि हुरी चल्यो’, ‘जार: भएकै एउटा कथा’, ‘जयमाया आफूमात्र लेखापानी आइपुगी’, ‘चपरासी’ जस्ता चर्चित कथाहरू यस संग्रहमा समावेश छन् ।

‘विपना कतिपय’ मा छ दशकअघिको नेपाली समाज–संस्कृति र प्रवासी नेपाली जीवनका अनुभूति समेटिएका छन् । पुस्तकमा लेखक राई लेख्छन्, ‘कमानमा जुनी बिताउने, कलकत्तातिर रैथाने भएर बसेका, अचेल नेपाल पस्न लागेका नेपालीहरूका कथाहरू लेख्नै भ्याइएन… यसरी कतिपय विपनाहरू यहाँ संकलित छन्, तर लेख्न चाहेको अनेक विपना बाहिरै रहे ।’

यस कृतिको पुनर्मुद्रणले नेपाली कथा साहित्यको इतिहास र प्रयोगशील लेखनप्रति नयाँ पुस्तामा चासो जगाउने अपेक्षा गरिएको छ ।