पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारले आयोजना गरेको ‘समता काव्य सन्ध्या’ को ३८४औँ श्रृंखला कुशेऔँसीको दिन भव्य रूपमा सम्पन्न भएको छ। सोही दिन युवा कवि मोतीराम भट्टको जन्मदिन परेको भएकाले कार्यक्रममा समस्त पिताहरुलाई शुभकामना तथा मोतीराम भट्टप्रति श्रद्धांजलि अर्पित गरिएको थियो। कार्यक्रम ‘समता काव्य सन्ध्या–ग़ज़ल विशेष’ को रूपमा आयोजना गरिएको थियो।
कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व, नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा साहित्यकार सरुभक्त ले मोतीराम भट्टको योगदानको स्मरण गर्दै भन्नुभयाे, “युवाकवि मोतीराम भट्टले छोटो जीवन बिताए पनि नेपाली साहित्यमा अद्वितीय योगदान दिएका छन्। उनी नेपाली गजल विधाका प्रारम्भकर्ता हुन् र समस्त युवाहरूले उनीबाट धेरै पाठ सिक्न सक्छन्।” उहाँले पोखरेली गजल समूहले जारी गरेको गजल घोषणापत्र पछि नवोदित गजलकारहरूमा नयाँ उत्साह पैदा भएको पनि बताउनुभयाे।
संस्थाका उपाध्यक्ष लक्ष्मण थापाले मोतीराम भट्टको बहुमुखी प्रतिभाबारे चर्चा गर्दै भन्नुभयाे, “उनी कवि, गीतकार, गजलकार, नाटककार, जीवनीकार र प्रकाशक समेत थिए। उनले पुस्तकालय खोले, पत्रिका चलाए, छापाखाना सञ्चालन गरे र भानुभक्त आचार्यको रचना प्रकाशनमा ल्याउन सफल भए। विश्वसाहित्यका जॉन कीट्स, शेली, सिल्भिया प्लेट जस्ता साहित्यकारझैं उनले पनि छोटो समयमै अद्वितीय काम गरे।”
कार्यक्रममा कवि एवं प्राज्ञ रमेश श्रेष्ठ, नेपाली लेखक संघ गण्डकीका अध्यक्ष ईश्वरमणि अधिकारी, पोखरा प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति पदमराज ढकाल, सरस्वती श्रेष्ठ सरु, दीपक समीप, प्रकाश ज्ञवाली, शिव त्रिपाठी, जमुना कायस्थ, कृष्ण सुवेदी, विर्सना बस्नेत, सुरज पौडेल, भुमिराज बस्ताकोटी, रेशम गिरी, यशोधा गौतम, नवराज न्यौपाने लगायतले गजल वाचन गर्नुभएकाे थियाे।
संस्थाकी अध्यक्ष रीता अधिकारी ऋतुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य साहित्य विभागकी संयोजक केशु शर्मा ले राख्नुभएकाे थियाे भने सचिव एम.डी. काफ्ले ले कार्यक्रम संचालन गर्नुभएकाे थियाे।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१५ असार २०८३, सोमबार 










