मोरङ । मोरङको विराटनगरमा मोतीराम भट्टको १६० औँ जन्मजयन्तीकाे अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ ।

छन्दवाटिका नेपाल, विराटनगरको आयोजनामा भएको कार्यक्रममा मोतीराम भट्टको जीवनी, व्यक्तित्व र कृतित्वमाथि विस्तृत चर्चा गरिनुका साथै विभिन्न साहित्यकार तथा स्रष्टाहरूले आफ्ना रचना वाचन गरेर उहाँलाई स्मरण गर्नुभएकाे थियाे ।

कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक कविराज न्यौपाने रहनुभएकाे थियाे भने प्राज्ञ खेम नेपाली, कोसी साहित्य–कला परिषद् नेपालका तदर्थ समिति अध्यक्ष केशु विरही, विराटनगर प्रज्ञा–प्रतिष्ठानका सचिव दिनेशराज सुवेदी, प्रज्ञा–परिषद् सदस्य शुभलक्ष्मी लम्साल, मुक्तक प्रतिष्ठान नेपाल कोसी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, सङ्गम अभियान पत्रिकाका प्रधान सम्पादक रामबाबु दाहाललगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।

लेखक तथा अनुसन्धानकर्ता केशु विरहीले मोतीरामको साहित्यिक योगदानबारे विस्तृत प्रस्तुति दिनुभएकाे थियाे । उहाँले मोतीरामलाई अन्वेषक, कवि, गजलकार, पत्रकार, जीवनीकार, समालोचक, नाटककार, कुशल व्यवस्थापक, शृङ्गारिक धारा तथा समस्यापूर्ति लेखनका प्रारम्भकर्ता, पुस्तकालय र मुद्रणको आरम्भकर्ता तथा प्रेरणाका स्रोतका रूपमा परिचित गराउनुभयाे । साथै उहाँले ३० वर्षको छोटो आयुमा पनि भट्टले नेपाली साहित्यमा पुर्‍याएको योगदान अद्वितीय रहेको उल्लेख गर्नुभयाे ।

यस अवसरमा बाबुराम पोखरेल, जीवन काश्यप, गोपाल निर्भीक, जीवन ढुङ्गाना, प्रिन्स प्रमोदकुमार ढकाल, चूडामणि नेपाल, रमेश निरौला, नवराज पोखरेल ‘नवशिला’, चिरञ्जीवी काफ्ले, सिजन श्रेष्ठ, राधा भट्टराई, उमानाथ घिमिरे सगर, शुभलक्ष्मी लम्साल, डोमी कामत, कृष्ण अञ्जान, मञ्जु घिमिरे दाहाल, पुण्य चौलागाईँलगायतका स्रष्टाहरूले आफ्ना रचनावाचन गर्नुभएकाे थियाे ।

मोतीराम विशेष रचनासँगै स्वतन्त्र रचनाहरू पनि वाचन गरिएको कार्यक्रममा शारदा भट्टराईले उपस्थित अतिथि तथा स्रष्टाहरूलाई स्वागत गर्नुभएकाे थियाे । संस्थाका अध्यक्ष हरि कट्टेलले कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै मोतीरामको योगदान भावी पुस्ताका लागि मार्गदर्शक रहेको बताउनुभयाे । कार्यक्रमको सञ्चालन संस्थाका सचिव चिरञ्जीवी काफ्लेले गर्नुभएकाे थियाे ।

२०७० सालमा स्थापना भएको छन्दवाटिका नेपालले नेपाली साहित्यमा विशेषगरी छन्दलेखनलाई प्राथमिकतामा राखी विभिन्न गतिविधि गर्दै आएको छ ।