उसलाई खुसी लाग्छ, उसले उत्तराधिकारमा एउटा इतिहास पाएको छ । एउटा सभ्यता पाएको छ । त्यसैले ऊ एउटा राम्रो पृथ्वीको याने दुनियाँको सपना देख्छ । ऊ आफ्नो राम्रो प्रेमको घरलाई नराम्रो घृणाको पृथ्वीमा याने दुनियाँमा बसाउन सक्दैन । दुवै उसैको हो । पृथ्वी याने दुनियाँ पनि र घर पनि । तर इतिहास र सभ्यताका सधैँ केही न केही खराब छँदै छ । के इतिहास र सभ्यताका खराबीहरू हिमालमा बिग्रने मौसमजस्तै कुरा हुन् ? के हामी असल र खराबका लागि अभिशप्त नै छौं ?
‘होइन, यो कुरा हुन सक्दैन । जीवनमा जति अभिशापहरू आइपरे तापनि जीवन अभिशाप होइन । साँचो कुरा के हो भने जीवन एक अहङ्कार हो । अर्थात् मान्छे एक अहङ्कार हो । मान्छेको अहङ्कार जति महान् हुन्छ, उसले चढ्ने हिमाल पनि त्यति नै महान् हुन्छ ।’
ल्होत्से ढलानमा कुनै स्थायी डोरी (Fixed Rope) बाँधिएको हुँदैन । ऊ आफ्नै डोरी र हिम-बन्चरोको सहायताले एकएक गरी क्रेम्पोन पाइलाहरू अघि बढाउँदै चढाइको काममा लाग्छ । उसलाई थाहा हुन्छ, जीवनको हिमाल चढ्न एकएक पाइला अघि सार्नुपर्छ । जोसित आत्मविश्वास, धैर्य र निर्णय गर्ने क्षमता छैन उसले कहिले पनि हिमाल चढ्न सक्दैन । हिमालको महत्त्व नबुझ्नेहरू सजिलो हिमालको खोजीमा लाग्छन् । हिमालहरू कहिले पनि सजिला हुँदैनन् । यो त अल्छीको दिवास्वप्न मात्रै हो ।
ठाडो ढलानमा खुँटी गाडी डोरी लाउँदा र हिम-बन्चरोले साह्रो भई जमेको हिउँ काट्दा उसलाई निश्चय पनि अतिरिक्त मेहनत गर्नुपर्ने हुन्छ । त्यसमाथि असाध्य चिसो र ठूलो हावाहुरीले उसलाई सताइरहेको हुन्छ । बेलाबेलामा उसका क्रेम्पोन पाइलाहरू चिप्लिरहन्छन् । बेलाबेलामा चिसोले ऊ खोकिरहन्छ । बेलाबेलामा उसलाई वाकवाकी लागिरहन्छ । यस्तो बेला ह्वाक ह्वाक गरी रगत छाडिदियो भने के गर्ने ? आँखाले देख्न छोडे भने (Snow Blindness) के गर्ने ?…
हिमालमा अपराह्नपछि यात्रा नगर्नु भन्छन् । किनभने मौसम बिग्रने गर्छ । प्रायः ठूला अभियान दलका मान्छेहरू हिमालमा यात्रा गर्दा अपराह्नपछिको जोखिम उठाउँदैनन् । त्यसको बदलामा उनीहरू तम्बूभित्र स्लिपिङ ब्यागहरूमा घुसी लमतन्न परिरहन र भूउपग्रह सञ्चारमाध्यमद्वारा स्वजनहरूसित कुरा गरिरहन मन पराउँछन् । यहाँ हिमाल चढ्नु एक रोमाञ्चक खेल हुन्छ । तर उसका लागि जीवन कुनै खेल हुँदैन ।
ऊ लडखडाउँछ । चिप्लन्छ । हुत्तिन्छ । कति ठाउँमा हावाको जोडले उभिन नसकी ऊ घोप्टो पर्छ । चिसोले उसको जीउ सुन्निन थाल्छ । उसलाई एक पाइला पनि एक माइलजस्तो लाग्न थाल्छ । प्रत्येकपल्ट पाइला चालेपछि ऊ सास फेर्न रोकिन्छ । तर उसको यात्रा रोकिँदैन । अन्तमा ऊ ल्होत्सेमुखको चढाइ गर्न सफल हुन्छ ।
क्याम्प तीन क्षेत्र । ७३०० मिटरको उचाइ । साँघुरो हिमप्रदेश, जहाँ खतरनाक ढाल परेका हिउँका पहरा काटेर मात्र एकोहोरो तम्बू गाड्न सकिन्छ। त्यहीँ माथि भयानक हावाहुरी र कुनै पनि बेला जान सक्ने हिमपहिरोको जगजगी ।
ऊ त्यहाँ केहीबेर जोखिमपूर्ण थकाइ मार्छ । उसलाई थाहा हुन्छ, उसको अगाडि बाटोमा ल्होत्सेमुखका माथिल्लो चढाइ बाँकी नै छन्, जुन करिब २५,००० फिटको उचाइमा ल्होत्से चुलीको लक्ष्य छोडी बायाँतर्फ यलो बैन्ड र जेनेभा स्परमा नमोडिएसम्म देखा पर्छन् ।
ऊ आधारशिविरमा भरिया साथीहरूबाट सुनेको ‘सेर्पाभूत’ को कथा सम्झन्छ । धेरै नै वर्ष पहिले यहाँ एक सेर्पा माथिबाट खसेर ठूलो हिमचट्टानले पुरिई मरेको थियो अरे । उसको भूत यहाँ राति तम्बूवरिपरि घुम्छ र कहिलेकाहीँ त बोलाउँछ पनि अरे । त्यसैले सेर्पाहरू यहाँ बस्न विशेष गरी रात बिताउन मन पराउँदैनन् अरे ।
यस्ता ‘अरे’ कथाहरू हिमालहरूमा मात्रै होइन, मैदानहरूमा पनि हुन्छन् । सेर्पा जातिमा मात्र होइन सबै जातिहरूमा हुन्छन् । ऊ सुप्रसिद्ध यतीको कथा पनि सम्झन्छ । यती हिमालमा हुन्छ कि मान्छेको मनमा हुन्छ ?…
आँखाअघिल्तिर हिउँका ठूला चट्टानहरू । त्यसबाहेक अन्त सबैतिर पनि जमेका हिउँहरू । ऊ रुकस्याकको गरुङ्गो भारीसहित आफ्नो जीउको भारी बोकेर जमेका हिउँमाथि शिथिल पाइला चाल्न थाल्छ । उसलाई अनुभूति हुन्छ- जो यात्रा गर्छन् उनैका पाइला शिथिल हुन्छन्, तर जो जीवनमा कुनै यात्रा गर्दैनन् उनका मन शिथिल हुन्छन् । ज्ञान-विज्ञान, सभ्यता-संस्कृति सबैको इतिहास साक्षी छ- मान्छेका महान् कर्महरू शिथिल मनका उपज होइनन् ।
यो अनुभूतिले जुन निश्चय पनि शिथिल मनको अनुभूति होइन, उसको पाइलाका शिथिलताहरू केही मेटिन्छन् । ऊ नयाँ उत्साह र जोस महसुस गर्छ । त्यही नयाँ उत्साह र जोसमा ऊ आफ्नो सापेक्ष रूपमा हलुङ्गिएका क्रेम्पोन पाइलाहरू एउटा हिउँको चट्टानमाथि सार्न थाल्छ । त्यही बेला ल्होत्सेको ढलानमुन्तिर वा अन्त कतै हिमपहिरो गएको आवाज सुनिन्छ । ऊ केही झस्किएर पछिल्तिर फर्कन्छ ।
उसको जीउ, हिम-बन्चरो र क्रेम्पोनका पकडको सन्तुलन क्षणभरका लागि गडबडिन्छ । परिणामस्वरूप ऊ ‘ए !… ए !…’ भन्दाभन्दै हिमचट्टानबाट खस्छ अनि साह्रो हिउँमा पछारिन्छ । उसको हातबाट डोरी फुत्कन्छ । तर ऊ त्यहीँ अड्किँदैन । चिप्लो न चिप्लो अनि भिरालो हिउँको सतहमा चिप्लँदै उसको जीउ पूरै अनियन्त्रित पारामा तल ढलानतिर सोझिन्छ । उसलाई थाहा हुन्छ ल्होत्सेको यो ढलानबाट तल खस्यो भने जीउका एकएक हड्डी चकनाचुर हुनेछन् । त्यसैले ऊ अत्तालिँदै जथाभाबी पारामा हिम-बन्चरो चलाउँछ । साहो हिउँमा हिम – बन्चरो कतै गड्दैन । ऊ झन् बढी अत्तालिन्छ ।
केही क्षण चिप्लिएपछि जुन उसलाई घण्टौंसम्म चिप्लिएझैं लाग्छ, अकस्मात् उसको हिम-बन्चरो एउटा सानो हिउँढिकोको अन्तरमा अड्किन्छ । उसको जीउ चिप्लाइको वेगमा तन्किन्छ । तर ऊ हिम-बन्चरोलाई कसेर समातिरहन्छ । र, यही मौका छोपी ऊ भएभरको जोडले हिउँमा क्रेम्पोनहरू गाड्छ । अनि होसियारीपूर्वक फुत्केको डोरी समाई हिउँढिकोमाथि उक्ली बस्छ ।
“थुक्क !” ऊ आफैंसित झोक्किन्छ । उसको क्षणभरको असावधानीले लक्ष्यको महान् यात्रा मात्र होइन जीवनको यात्रा नै झन्डै समाप्त भएको थियो । के यस्तो असावधानी हिमाल चढ्ने मान्छेलाई सुहाउने कुरा हो ? चुलीको यात्रा भनेको बेहोसीको यात्रा होइन । चुलीको यात्रा भनेको विक्षिप्तिको यात्रा होइन । चुलीको यात्रा भनेको अकर्मण्यताको यात्रा होइन । चुलीको यात्रा भनेको कोरा कल्पनाको यात्रा होइन । चुलीको यात्रा हजारौं र लाखौँ समस्याहरूको यात्रा हो । जम्मै यथार्थ । तर मान्छे आफैं आफ्नो समस्या भएपछि अरू समस्याहरू नगण्य हुन्छन् ।
उफ् ! मृत्युको कहालीलाग्दो अनुभूति । ऊभित्र ठूलो हाहाकार मच्चिन्छ । पूरै जीउ काँप्छ । हिमचट्टानबाट भुइँमा पछारिँदा र चिप्लँदै तल खस्दा उसको जीउ दुखिरहेकै हुन्छ । निधारमा साहो हिउँको टुक्राले काटी रगत बगिरहेको हुन्छ । उसको हातका पन्जाहरू र हिम-चस्मा तल कुम-सन्नाटाको घाँटीतिर खसी हराइसकेको हुन्छ । उसलाई त्यस एक्लो बिरानीमा डाँको छोडी रुन मन लाग्छ । तर रोएर हिमाल चढिंदैन भन्ने भावनाले उसलाई केही आश्वस्त पार्छ । ऊ सोच्छ, जीवन भूल होइन, तर जीवनमा भूलहरू हुन्छन् । मान्छेका भूलहरू मान्छेकै कर्मले महान् वा तुच्छ बन्छन् । यो सोचाइले उसलाई अरू बढी आश्वस्त पार्छ ।
ऊ हिउँढिकोबाट उठेर बाटोभन्दा अलिकति पर एक सुरक्षित ठाउँमा बस्छ । त्यसरी बस्दा ऊ डोरीलाई कम्मरमा कसी बाँध्न बिर्संदैन । अनि त्यसपछि रुकस्याकबाट प्राथमिक उपचारका सामान निकाल्छ । सबभन्दा पहिले ऊ रुईमा आयोडिन मिसाई निधारको घाउ सफा गर्छ । त्यसपछि ठूलो हावामा पनि सकभर नफुस्किने गरी घाउमाथि औषधिमिश्रित पट्टी लाउँछ । ऊ मनमनै भन्छ- “मैले भूल गरेँ, मैले सिकेँ । यो चुली आरोहणको महत्त्वपूर्ण पाठ हो ।”
उसलाई हातमा असाध्य चिसो लाग्छ । आँखामा पनि चिसो पसेझैं लाग्छ । त्यसैले रुकस्याकबाट जगेडा पन्जाहरू र हिम-चस्मा निकालेर लाउँछ । अनि उठी सुरक्षित ठाउँबाट हिँड्छ । बाटोमा आइपुग्दा उसको जीउभित्र धेरै ठाउँमा दुख्छन् । तर उसको उत्साह दुख्दैन । निकैबेरको चढाइ अनि कडा हिउँमाथिको हिँडाइपछि ऊ चुनढुङ्गाको ठाडो पहरा यलो बैन्ड (Yellow Band) पुग्छ । त्यसको केही समयपछि ऊ कालो टुक्रिएका पत्रे चट्टानहरू भएको जेनेभा स्पर (Geneva Spur) मा पुग्छ, जुन ल्होत्से मुखको शिरमा हुन्छ । त्यहाँबाट दक्षिण घाँटी याने साउथ कोल आइपुग्न धेरै समय लाग्दैन ।
क्याम्प चार । हिमाली भन्ज्याङ । यसको पूर्वीय किनारा कुङसुङमुख तिब्बततर्फ झरेको हुन्छ, करिब ७,००० फिटजति भने अरू किनारा पश्चिमी कुमतर्फ झरेको हुन्छ । अत्यन्त कडा हिउँ याने बरफले बनेको यो पठार जुन ल्होत्सेको माथिल्लो काँध र सगरमाथाबीच फैलिएको हुन्छ । हेर्दा अपेक्षाकृत रूपले विस्तारित पनि हुन्छ । सधैंभरि तीव्र हावाको गर्जन र मृत्युजन्य एकान्तिकताको नर्तन- सर्वत्र परिव्याप्त हुन्छ ।
उसले सुनेको थियो दक्षिण घाँटी संसारको सबभन्दा उचाइमा स्थित फोहोर फाल्ने ठाउँ हो । जताततै अक्सिजन सिलिन्डरहरू र तम्बूका सामानहरू । लुगाफाटाहरू । खानेकुराका बट्टाहरू । र अरू पनि धेरै फ्याँकिएका सामानहरू । उसलाई आश्चर्य लाग्छ, हिमाललाई माया गर्नेहरू हिमाललाई कसरी फोहोर पार्न सक्छन् ? उसलाई आश्चर्य लाग्छ, हिमाल चढ्नेहरू यति साहो स्वार्थी कसरी बन्न सक्छन् ? महान् लक्ष्यको यात्रा भनेको फोहोरी स्वार्थको यात्रा होइन, पवित्र विश्वास र समर्पणको यात्रा हो । तर यसबारे ऊ धेरैबेर सोची बस्ने फुर्सद पाउँदैन । ऊ थकाइले लोथ परेर भुइँमा ढल्छ ।
क्याम्प तीनदेखि दक्षिण घाँटीसम्मको बाटो उकालैउकालो हुन्छ र आधारशिविरबाट हिँडेको १५ घण्टा बितिसकेको हुन्छ । आकाशमा बर्फिलो घाम डुबिसकेको हुन्छ । हिमाली टलकमा घाँटी अँध्यारिइसकेको हुँदैन । तर डरलाग्दो चिसो र वेगिलो हावा चलिरहेको हुन्छ, जसले गर्दा पाँच-छ मिटरजति पर आधा हिउँमा गडेको र आधा त्यतिकै लत्रिरहेको एउटा तम्बू जोडले फरफराइरहेको हुन्छ । ऊ टाउको उठाई हेर्छ- ‘कतै तम्बूभित्र कोही दुर्घटित मृत्यु मरिरहेको त छैन ?’ यो जिज्ञासाले, यो मानवीयताले उसलाई धेरैबेर थकाइ मार्न दिँदैन । ऊ सुस्तरी घस्रँदै त्यहाँ पुग्छ । तम्बूको फरफरिइरहेको भागभित्र टाउको घुसाई हेर्छ । कोही हुँदैन । उसलाई हिउँमा गडेको भागपट्टि पनि कोही पुरिएको छ जस्तो लाग्दैन । ऊ बुझ्छ, यो तम्बू पनि यो घाँटीलाई संसारको सबभन्दा उचाइको ‘डम्पिङ साइट’ मान्नेहरूले छोडिगएका हुन् ।
ऊ हावाको वेग केही कम भएको ठाउँको खोजीमा यताउति घस्रन्छ । त्यस्तो ठाउँ कतै भेटिंदैन । त्यसपछि ऊ हिम-बन्चरोले भुइँको हिउँ खोस्री एउटा सानो खाल्डो बनाउँछ, अनि त्यसभित्र एअर मेट्रेस ओछ्याई बस्छ । रुकस्याकबाट एअर मेट्रेस झिकी ओछ्याउन पनि उसलाई निकै धौधौ पर्छ । हिमालमा सानोसानो काम गर्दा पनि ठूलाठूला समस्या आइपर्छन् भन्ने उसलाई थाहा हुन्छ ।
सानो हिउँखाल्डोभित्र एअर मेट्रेसमा कुक्रिएर अडेस्सिँदै, थकाइको तातो उच्छ्वास छोड्दै ऊ सोच्छ – ‘हामी हिमालहरूका धर्तीका बासिन्दा हौं, त्यसैले हामीले आफ्नो हिमाल आफैँ छान्न जान्नुपर्छ । अज्ञानीहरू आफूलाई ज्ञानी सम्झन्छन् र जीवनभर आफ्नो हिमाल आफैँ नदेखेझैं गर्छन् । यो खेदलाग्दो कुरा हो । तर उसलाई खुसी लाग्छ, ऊ आफ्नो हिमालको चुलीछेउ पुगिसकेको छ । अब माथि के छ ? चुली नै त छ । ऊ चुलीको सुखद अनुभूतिमा हराउँछ ।
शून्यभन्दा मुनि अर्थात् माइनस २५ डिग्री सेल्सियसको तापक्रम । चरर गरी मुटु नै चिरिएला जस्तो चिसो, धारिलो हावाको गति । अनि भयानक थकाइ । उसलाई निद्रा लाग्ला जस्तो हुन्छ । हिमालमा यसरी निदाउनु हुन्न भन्ने जान्दाजान्दै पनि उसका आँखाहरू लोलाउन थाल्छन् र च्याप्प बन्द हुन्छन् । यस्तो लाग्छ, कसैले उसका आँखाहरूमा हिउँका बाक्ला सिमेन्ट भरिदिएका छन् । ऊ आफ्नो सम्पूर्ण चेतनाले बन्द भएका आँखाहरू खोल्ने प्रयास गर्छ, तर सक्दैन । त्यही बेला उसकी प्रेयसी ऊसामु आइपुग्छे ।
“प्रिय ! यो तिमी के गरिरहेछौ ? जीवनको महान् यात्रामा हिँड्नेहरू बाटोमा निदाउँदैनन् त । आफूलाई उठाऊ प्रिय, उठाऊ । यो घाँटी मृत्युको घाँटी होइन, जीवनको घाँटी हो । सुन्दरसुन्दर सपनाहरूको घाँटी हो ।”
अकस्मात् निकै ठूलो बल पारेर उसका आँखाहरू खोलिन्छन् । ऊ हडबडाई उठ्छ । माथि आकाश सफा अनि नीलो देखिन्छ । हावाको तीव्र वेग केही मत्थर भएको हुन्छ । ऊ कृतज्ञतापूर्वक प्रेयसीलाई म्वाइँ खान्छ । त्यसपछि हिउँखाल्डोबाट बाहिर निस्कन्छ । साँच्चै नै उसलाई दक्षिण घाँटी उसको प्रेयसीले भनेजस्तो नै लाग्छ- जीवनको घाँटी, सुन्दरसुन्दर सपनाहरूको घाँटी । ऊ यहाँ आफ्नै जीवन र सपनाहरू खोज्दै आएको हो । यहाँ ऊ आफ्नै इतिहास र सभ्यता खोज्दै आएको हो ।
बिनाजीवन र सपनाहरू- इतिहास र सभ्यताहरू हुन्छन् कहाँ ? अब ऊ आफ्नो जीवन सपनाहरूको नजिकै छ ।
ऊ केही उत्तेजित हुन्छ । तर तुरुन्त ऊ नियन्त्रित हुन्छ । ऊ सोच्छ चुलीहरू उत्तेजनाले जितिँदैनन्, बुद्धिमता र हिसाबहरूले जितिन्छन् । उत्तेजनामा त मान्छेले आफूलाई म मान्छे हुँ भन्ने कुरा नै बिर्सिदिन्छ ।
चुलीको यात्रामा निस्कनुभन्दा पहिले ऊ केही खान्छ । उसलाई अन्न र मासुजस्ता ठोस खानेकुराहरू त्यति रुचिकर लाग्दैन, त्यसैले सुपजन्य खानाहरू, विशेष गरी फलफूलका रसहरू ऊ बढी खान्छ । हिमाल चढ्दा जीउमा तरल पदार्थहरूको कमी भइरहेको हुन्छ जुन पूरा गर्न फलफूलका रस, कफी, चिया, पानी आदि पिइरहनु आवश्यक हुन्छ । तर ऊ खाना खाइपिइसकेपछि खानेकुराका खाली बट्टाहरू जम्मा गरी रुकस्याकभित्रै राख्न बिर्संदैन ।
अब ऊ अन्तिम चढाइका लागि तयार हुन्छ । उसलाई थाहा हुन्छ अन्तिम चढाइको यात्रामा हिँड्नुभन्दा पहिले शारीरिक एवम् मानसिक रूपले स्वस्थ हुनु आवश्यक हुन्छ । बिनाशरीर मन हुँदैन र बिनामन शरीर रहँदैन । यो शरीर र मनको सन्तुलनमा यात्रा गर्न सके पक्कै राम्रो कुरा हो । तर हिमालमा अक्सर राम्रा सिद्धान्तहरूले काम गर्दैनन् । त्यसैले हिमाल चढ्नेहरू आफ्नो सिद्धान्त आफैँ खोज्छन् । आफ्नो व्यवहार आफैं गर्छन् ।
उसको मन स्वस्थ हुन्छ, शरीर स्वस्थ हुँदैन । चिसोले उसको घाँटी धेरै नै खराब भइसकेको हुन्छ । गालामा टाटो पर्ने र ओठमुख सुन्निने क्रम पनि बढिरहेको हुन्छ । त्यसबाहेक जीउभित्र केही ज्ञात र केही अज्ञात जलन भइरहेका हुन्छन् तर हेप (Hape), हेस (Hace), हाइपोथर्मिया र परावैजनी किरणहरू (Altra Voilet Rays) का कडा असरजस्ता समस्याहरू भने ऊ तत्काल अनुभव गर्दैन । ऊ सोच्छ- ‘म चुली टेक्न सक्छु र यो नै सबभन्दा महत्त्वपूर्ण कुरा हो ।’
रात्रिकालीन यात्राका लागि ऊ टाउकोमा एक शक्तिशाली फ्लासलाइट (Flashlight) बाँध्छ अनि प्रेयसीले भनेझैं यो जीवनको घाँटी, सुन्दरसुन्दर सपनाहरूको घाँटीमा प्रेयसीलाई अन्तिमपल्ट म्वाइँ खान्छ । त्यसपछि ऊ आफ्नै सिद्धान्त र व्यवहारमा क्रेम्पोन पाइलाहरू अघि सार्दै हिँड्छ ।
केही समयसम्म ऊ अविराम हिँडिरहन्छ । उसलाई थाहा हुन्छ अब माथि जम्मै मृत्यु प्रदेशहरू (Death Zones) छन्, जहाँ उसले जीवनको अर्थ खोज्नु छ । एउटा लामो ढलानको किनारामा पुगेपछि अकस्मात् उसका पाइलाहरू रोकिन्छन् ।
“शव ! मान्छेको शव !” ऊ आफूसित नै बोल्छ । उसको आँखासामुन्ने एउटा घोप्टो परेको शव हुन्छ, जुन खुट्टातिरबाट जाँघसम्म हिउँले पुरिएको हुन्छ । के यो दृष्टिभ्रम हो ? ऊ आफूसित नै सोध्छ । उसलाई थाहा हुन्छ हिमालमा अक्सिजनको कमी र अरू पनि केही कारणहरूले गर्दा मान्छेलाई दृष्टिभ्रम हुने गर्छन् । अर्थात् नभएका कुराहरू देखा पर्ने गर्छन् र भएका कुराहरू देखा पर्न छोड्छन् । ऊ शवको नजिकै जान्छ । अनि त्यसको टाउकोपट्टि क्रेम्पोन पाइलाहरू गाडी बस्छ । ऊ बुझ्छ, यो दृष्टिभ्रम होइन ऊ जति सत्य हो त्यो मान्छेको शव पनि त्यत्तिकै सत्य हो ।
उसलाई विचित्र लाग्छ । जीवन र मृत्यु दुवै । यसभन्दा पहिले उसले यात्रामा कुनै शव देखेको थिएन । सायद यो शव नयाँभन्दा बढी पुरानै हो । त्यसैले गलित अवस्थामा छ । यो को मान्छे हो ? कुन देशको नागरिक हो ? यसका आमाबाबु को होलान् ? यो कसैको श्रीमान् हो, कसैको बाबु हो वा कसैको मायालु प्रेमी हो ? यो केले मर्यो- चिसोले ? थकाइले ? भोकले ? कि कुनै दुर्घटनाले ? के यसको मृत्यु सँगसँगै यसका सबै सपनाहरू पनि मरे ? यसका सबै भावनाहरू पनि मरे ? यसका सबै इतिहासहरू पनि मरे ? यसका सबै सभ्यताहरू पनि मरे ?…
‘होइन । मान्छे मरे पनि मानवता कहिले पनि मर्दैन । महानता कहिले पनि मर्दैन । हिमालहरू महान् छन्, तर हिमाल चढ्ने इच्छा हिमालहरूभन्दा महान् छ ।’ ऊ अदम्य उत्साहपूर्वक उठ्छ अनि शवलाई मनमनै सलामी अर्पण गर्छ । त्यसो गर्दा उसको सम्पूर्ण अस्तित्व एक विशेष अजम्मरी भावले अभिभूत हुन्छ । ऊ सुन्निएका ओठहरूले मुस्कुराउँछ । अनि गन्तव्यमा हिँड्छ ।
साउथ कोल याने दक्षिण घाँटीबाट केही घण्टाको अथक चढाइपछि ऊ बल्कोनी (Balcony) मा आइपुग्छ, जुन २७,६०० फिटको उचाइमा हुन्छ । सगरमाथाको यस भव्य बार्दलीबाट वरिपरिको विहङ्गम दृश्यावलोकन गर्दा उसलाई थाहा हुन्छ- वरिपरिका उच्च हिमचुलीहरू प्रायः सबै तल परिसकेका रहेछन् । उसलाई सुखद आश्चर्य लाग्छ ।
ऊ उत्साहित भई सगरमाथा चुली हेर्छ । सगरमाथा चुली देखिँदैन । उसलाई फेरि आश्चर्य लाग्छ । तर यो आश्चर्य उसलाई सुखद भने लाग्न सक्दैन । पछि ऊ अनुभव गर्छ- सगरमाथाको चुली नदेखिनु भनेको सगरमाथाको चुली नहुनु होइन । जीवनका चुलीहरू पनि यस्तै हुन्छन् । ती देखिँदैनन् । तर जीवनका चुलीहरू नदेखिनुको अर्थ जीवनका चुलीहरू नहुनु होइन । जीवनका लक्ष्यहरू नदेखिनुको अर्थ जीवनका लक्ष्यहरू नहुनु होइन ।
ऊ बल्कोनीमा नअलमलिई दक्षिणपूर्वी धार (South-east Ridge) को बाटो अघि बढ्छ । यो असाध्य धार परेको जोखिमपूर्ण चढाइ हुन्छ । डोरी खुँटीको सहायताले यो चट्टानी चढाइ पार गरेपछि रेजर्स एज (Rager’s Edge) आइपुग्छ ।
यो ठाउँ छिचोल्न उसलाई धेरै नै गाहो लाग्छ । करिब ५०० गजजति लामो हिउँको थुप्रो जुन हेर्दा रेजर्स एज याने पत्तीको धारजस्तो देखिन्छ । त्यसमाथि हिँड्नु ‘हिउँको आगो’ माथि हिँड्नुजस्तै हुन्छ । त्यहाँ एकएक पाइला चाल्दा एकएक मृत्युसित जुध्नुपर्ने हुन्छ । तर मान्छेको एकएक पाइलामा एकएक मृत्यु मात्र हुँदैन, एकएक जीवन पनि हुन्छ । त्यसैले ऊ हिम-बन्चरो घ्वाप्पघ्वाप्प हिउँमा गाडी सुइँकुइँ गर्दै लामो सास फेरी- कहिले उठी, कहिले घुँडा टेकी, कहिले पेटको बलले घस्री- त्यो कहालीलाग्दो चढाइ पार गर्छ
रात पर्छ । घाम उसको निधारबाट उदाउँछ । हावाको मत्थर वेग फेरि तीव्र हुन्छ र त्यसले १२० देखि १३० किलोमिटर प्रतिघण्टाको रफ्तार लिन्छ । अब अगाडि बाटोमा स्लेट चट्टानको लामो सिलसिला सुरु हुन्छ । यसमाथि चढाइ गर्दा अलिकति तलमाथि पर्यो भने हजारौं फुट तलतिर तिब्बती भागतर्फ खस्ने सम्भावना हुन्छ ।
एउटा खतरापछि अर्को खतरा । खतराहरूको लामो सिलसिला । जीवन भनेको यही हो । हिमाल भनेको यही हो । हिमाल नबुझ्नेहरू हिमाललाई शत्रुतापूर्ण दृष्टिले हेर्छन्, जीवन नबुझ्नेहरू जीवनलाई शत्रुतापूर्ण दृष्टिले हेर्छन् ।
सर्वत्र हिमपरिवेष्टित स्लेट चट्टानहरूमा सजग भई हिँड्दा र हिँड्दाभन्दा बढी घस्रँदा उसका ठोस पाइलाहरू कैयौंपल्ट चिप्लन्छन्, तर प्रत्येकपल्ट मृत्युसित लुकामारी खेल्दा जित उसैको हुन्छ, उसैको मात्र हुन्छ । कालाकाला चट्टानहरूको चुनौती समाप्त हुन्छ । तर हावाको तीव्र वेग झन्झन् तीव्र बन्दै जान्छ । ऊ टाउको झुकाई हावाको वेग काट्दै अघि बढ्दै जान्छ । उसलाई तिर्खा लागेजस्तो हुन्छ । सास ठ्याक्क रोकिएजस्तो हुन्छ । तर ऊ आफ्नो यात्रा रोक्दैन । अगाडि बाटोमा स्लेट चट्टानहरूका बदला अरू ठूलाठूला चट्टानहरू पर्छन् । उसलाई लाग्छ यी चट्टानहरू दक्षिण चुली (South Summit) तर्फका चट्टान हुन् । यी चट्टानहरू चडाइ गर्दागर्दै ऊ केही अलमलमा पर्छ । के ऊ ठीक बाटो जाँदै छ ?…
जीवनमा यस्ता अलमलहरू आइपर्छन् । अलमलका बेला मान्छेलाई अलमल नै जीवन हो जस्तो लाग्छ । तर बाटोमा जतिन्जेल अलमलिए पनि उसलाई चुलीमा पुग्नु नै छ । ऊ एउटा अर्धहिमाच्छादित चट्टान समाई चिसो न चिसो हावाको ज्यानमारा वेगसित सङ्घर्ष गर्दै सोचमग्न हुन्छ । त्यसरी सोचमग्न हुँदा उसको जीउभित्रका जलनहरू बढ्न थाल्छन् । खोकीको मात्रा पनि बढ्छ । उसलाई जाडो पनि बेस्सरी लाग्छ । त्यसमाथि बेतोडले उडिआएका हिउँका कणहरूले उसको चस्मा, पन्जा र लुगाहरू सबै ढाकिदिन्छन् फ्लासलाइटको उज्यालो पनि छोपिदिन्छ ।
ऊ बेलाबेला पन्जा लाएका हातहरू झट्कार्दै चस्मा र फ्लासलाइटमा जमेका हिउँका कणहरू सफा गर्छ, तर ती हिउँका कणहरू राम्ररी सफा हुँदैनन् । उसलाई थाहा हुन्छ – त्यति माथि उचाइमा हिउँको स्वभाव च्याप्प टाँस्सिने हुन्छ । तर ऊ हिम्मत हार्दैन । अदम्य उत्साहपूर्वक ऊ हावा, हिउँ, खोकी, जलन सबैको सामना गर्दै सीधा अगाडितिर बढ्ने निर्णय गर्छ । हिँड्दाहिँड्दै ऊ अनुभूत गर्छ – यो निर्णय गलत भए पनि सही हो । हिमालको यो उच्चता र यो मौसममा अनिर्णित भई बस्नुभन्दा गलत निर्णय लिनु राम्रो हो । गलत निर्णय गर्नेहरूले एक दिन जीवनको सही बाटो पत्ता लाउन सक्छन्, तर अनिर्णित भई बस्नेहरूले जीवनको कुनै बाटो पत्ता लाउन सक्दैनन् ।
ऊ कतिन्जेल त्यसरी चढाइ गर्छ- विशुद्ध अनुमानित चढाइ- ऊ आफैँलाई थाहा हुँदैन । तर जब उसलाई थाहा हुन्छ, थाहै नपाई ऊ दक्षिण चुली आइपुगेको छ, उसलाई विश्वास लाग्दैन । तर यो अविश्वास मायालाग्दो हुन्छ । धेरैधेरै मायालाग्दो । ऊ बुझ्छ, अब सगरमाथाको मुख्य चुली जम्मा ३०० फिट- माथि छ । अर्थात् ऊ अहिले २८, ७२८ फिटको उचाइमा पुगिसकेको छ । उसलाई खुसी लाग्छ । उसलाई सन्तोष लाग्छ । त्यही कारण उसलाई जीउको आधा भारी हटेजस्तो, आधा थकाइ मेटिएजस्तो र आधा मौसममा सुधार आएजस्तो अनुभूति हुन्छ । तर दक्षिण चुली उसको लक्ष्य हुँदैन बाटो मात्रै हुन्छ । त्यसैले ऊ त्यहाँ धेरैबेर नरोकिई आफ्नो लक्ष्यको महान् बाटो लाग्छ ।
क्रमशः
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।