उदयपुर । उदयपुर साहित्य कला प्रतिष्ठानले चौथो वार्षिक साधारणसभा तथा १६० औँ मोती जयन्तीको अवसरमा विशेष साहित्यिक समारोह आयोजना गर्दै छ जना स्रष्टाहरुलाई सम्मान गरेको छ।

त्रियुगा नगरपालिकामा सम्पन्न उक्त कार्यक्रममा प्राज्ञ विवश पोखरेल प्रमुख अतिथि रहनु भएको थियो। उहाँले ३१ वर्षको कलिलो उमेरमै परलोक भए पनि मोतीराम भट्टले नेपाली साहित्यमा देखाएको बाटो आजसम्म सशक्त रूपमा बाँचिरहेको उल्लेख गर्नुभयो। विशेषगरी गजल लेखनको पहिलो खुड्किलो चढाउने काम मोतीराम भट्टबाटै सुरु भएको भन्दै उहाँले पछिल्लो पुस्तामा पनि गजल लेखनले निरन्तरता पाएकोमा खुसी व्यक्त गर्नुभयो।

सो अवसरमा सह-प्राध्यापक तथा कवि रविन्द्रराजा शाही, अन्वेषक एवं  पत्रकार कौशल चेम्जोङ, कवि तथा गीतकार पुण्य कार्की, आयुर्वेदका ज्ञाता तथा शेर्पा समुदायबाट शास्त्री पास गर्ने पहिलो व्यक्ति छेइटु शेर्पा ‘तेजनारायण शेर्पा रञ्जन’, कवि पर्शुराम दाहाल (पर्शु पहरा) लगायतलाई सम्मान गरिएको थियो।
सम्मानित सह-प्राध्यापक शाहीले “मदन पुरस्कार वा जगदम्बा पुरस्कार पाएभन्दा पनि यो सम्मान बढी खुसीको क्षण भएको” प्रतिक्रिया दिनुभयो। त्यस्तै,  पत्रकार चेम्जोङले स्थानीय संस्थाद्वारा स्रष्टाहरुलाई गरिएको सम्मानले हौसला प्रदान गर्ने बताउनुभयाे। उहाँले नेपाली भाषाको शुद्धतामा अझ ध्यान दिनुपर्ने सुझाव पनि दिनुभयो।

कार्यक्रममा उपस्थित नभएकी पछिल्लो पुस्तामा चर्चित कवि तथा नियात्राकार भवानी खतिवडालाई भने पछि सम्मान गरिने प्रतिष्ठानका महासचिव माधव पोखरेल गोज्याङ्ग्रेको भनाइ छ। प्रतिष्ठानका अध्यक्ष सह-प्राध्यापक डा. कैलाश कुमार राईको अध्यक्षता, उपाध्यक्ष बासुदेव पोखरेलको स्वागत मन्तव्य र सचिव सरिता पौडेल गुरागाईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो। महासचिव माधव पोखरेल गोज्याङ्ग्रेले प्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

साहित्यिक कार्यक्रमलाई झनै जीवन्त बनाउन कविहरू उद्धव घिमिरे, सुमी पोखरेल, हरि विनोद खतिवडा, हर्क श्रेष्ठ, टंक आले, सतिसाल जल, हिमालय पौडेल, युवराज थापा, सीमा कुमारी मास्के, गंगा कार्की लगायत दुई दर्जनभन्दा बढी कवि–कवयत्रीहरूले रचना वाचन गरेका थिए। उनीहरूले मोतीराम भट्टले नेपाली साहित्यमा पुर्याएको योगदानलाई स्मरण गर्दै कविता वाचन गर्नुभएकाे थियाे।

त्यसैगरी त्रियुगा संगीत विद्यालयका निर्देशक शैलेन्द्र खतिवडा र कलाकार विलक कार्कीले सांगीतिक प्रस्तुति दिनुभएकाे थियाे । कार्यक्रमले मोतीराम भट्टको साहित्यिक योगदानलाई स्मरण गर्नुका साथै उदयपुरमा साहित्य, संस्कृति र सिर्जनशीलताको वातावरणलाई थप सबल बनाउन महत्त्वपूर्ण भूमिका खेलेको सहभागीहरूको धारणा थियो।