चितवन । अंग्रेजी भाषाका लेखकहरूको संस्था Village of English Writers (VIEW), चितवनले प्रदान गर्ने ‘युवराज कँडेल स्मृति पुरस्कार’ यस वर्ष साहित्यकार प्रा.डा अभि सुवेदीलाई प्रदान गरेको छ।
सौराहामा शनिबार आयोजित समारोहमा कृषि तथा वन विज्ञान विश्वविद्यालयकी उपकुलपति डा. शारदा थपलियाले सुवेदीलाई पुरस्कार हस्तान्तरण गर्नुभएकाे हाे । पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ।
भ्यु चितवनका पूर्वअध्यक्ष ईश्वर कँडेलले आफ्ना दिवंगत पिता युवराज कँडेलको स्मृतिमा सो पुरस्कार स्थापना गर्नुभएकाे हाे । नेपाली र अंग्रेजी साहित्यमा प्रा.डा सुवेदीले पुर्याएको उल्लेखनीय योगदानको सम्मानस्वरूप यो पुरस्कार प्रदान गरिएको अध्यक्ष केशवराज चालिसेले जानकारी दिनुभयाे।
उहाँका अनुसार सुवेदीको सिर्जनामा कविता, निबन्ध, कथा लगायतका विधामा गहिरो उपस्थिति देखिन्छ, साथै उहाँले अंग्रेजी र नेपाली दुवै भाषामा लेखनमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा साहित्यको सेतु निर्माण गर्नुभएकाे छ । उहाँले रंगमञ्च, अनुवाद र शिक्षाक्षेत्रमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएकाे छ ।
उक्त कार्यक्रममा भ्यु चितवनले ‘साहित्य, पारिस्थितिकी र संरक्षण’ विषयमा कार्यपत्र प्रस्तुति र प्यानल छलफलको कार्यक्रमसमेत सम्पन्न गरेको थियो। त्यस अवसरमा राप्ती नदी र चितवन राष्ट्रिय निकुञ्जको हरियाली आडमा तयार पारिएका वातावरणीय कविता पनि बाचन गरिएका थिए।
कार्यक्रममा बोल्दै प्रा.डा जीवलाल सापकोटाले लेखन र साहित्यले मानव मात्र नभई सुक्ष्म जीव-जनावर र प्रकृतिसम्बन्धी हरेक पक्षको पक्षपोषण गर्ने नैतिक जिम्मेवारी राख्ने धारणा व्यक्त गर्नुभएकाे थियाे । अध्यक्ष चालिसेले साहित्य र लेखनमार्फत पारिस्थितिक सन्देशलाई विश्वव्यापी बनाउन सकिने विश्वास व्यक्त गर्नुभयाे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
पद्मश्री साहित्य पुरस्कार ‘छालबाटो’लाई, साधना सम्मान र गाैरव पुरस्कार शर्मा र सुवेदीलाई
रमाकृष्ण सृजना प्रतिष्ठानद्वारा साहित्यकार, संगीतकार र वैज्ञानिकलाई सम्मान र पुरस्कार
साझा प्रकाशनको ६२ औँ स्थापना दिवससँगै पुल्चोकमा बृहत् पुस्तक प्रदर्शनी सुरू
११ पुष २०८२, शुक्रबार 






