गैंडाकोट । सम्पूर्ण किताब नारायणगढ र एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेज चितवनको संयुक्त आयोजनामा गैंडाकोटस्थित नारायणी किनारमा ‘एक्सपर्ट सम्पूर्ण किताब उत्सव – २०८२’ सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा लेखक तथा पत्रकार रेशम विरहीले रमेश प्रभातको निबन्ध सङ्ग्रह ‘अरु अलिकति फरक कुरा’, भीमप्रसाद शर्माको ‘कुण्डलिनी योग’ र तिलक न्यौपानेको कवितासङ्ग्रह ‘शब्दपुष्प’ विमोचन गर्नुभएकाे थियाे । विमोचित कृतिहरूका विषयमा बालकृष्ण थपलियाले टिप्पणी प्रस्तुत गर्नुभएकाे थियाे ।
उत्सवका निर्देशक तथा सम्पूर्ण किताब नारायणगढका सञ्चालक लेखराम सापकोटाले चितवनको पठन-संस्कृतिको प्रवर्द्धन र साहित्यको विकासलाई लक्षित गर्दै उत्सव आयोजना गरिएको स्पष्ट पार्नुभयाे । प्रमुख अतिथि रेशम विरहीले साहित्यिक उत्सवहरूले सिर्जनशीलता विकासमा सहयोग पुर्याउने उल्लेख गर्दै बहस र छलफलले स्तरीय कृति सिर्जनामा मद्दत गर्ने धारणा व्यक्त गर्नुभयाे ।
कार्यक्रमको सह-निर्देशन एक्सपर्ट एजुकेसनका बिजनेस डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजालले गर्नुभएकाे थियाे ।
उत्सवमा विभिन्न विषयमा बहस र सत्रहरू आयोजना गरिएको थियो । पहिलो सत्रमा प्राध्यापक डा. एकनारायण पौड्यालले ‘चितवनको साहित्य गति र दिशा’ विषयमा प्रवचन दिनुभएकाे थियाे । दोस्रो सत्र ‘के पढ्छन् बालबालिका ?’ विषयमा अङ्कुरम् एकेडेमीका आशीर्वाद सापकोटा, गैंडाकोट इङ्लिस स्कुलकी अभिश्री कँडेल, किड्स होम एकेडेमीकी रञ्जना बञ्जारा, विश्वप्रकाश माविका आभाष काफ्ले र कर्णबहादुर बानियाँसँग आकाश पौडेलले कुराकानी गर्नुभएकाे थियाे ।
बालमनोविश्लेषक कर्णबहादुर बानियाँले विद्यार्थीको उमेरअनुसारको रुचि बुझेर पठन सामग्री छनोट गर्नुपर्नेमा जोड दिनुभयाे । विद्यार्थीहरूले आफ्ना विद्यालयमा अतिरिक्त किताब पढ्ने वातावरण राम्रो भएको अनुभव सुनाउनुभयाे ।
तेस्रो सत्र ‘शिक्षकले किन पढ्ने ?’ मा महेन्द्र पौड्याल, सामना पहाड, नवराज कँडेल र बटुकलाल तामाङसँग विपिन पाठकले बहस गर्नुभएकाे थियाेे । बहसमा अधिकांश शिक्षक केवल पाठ्यक्रममा सीमित रहेको र अतिरिक्त पठनमा चासो कम भएको निष्कर्ष निकालिएकाे थियाे ।
चौथो सत्रमा ‘चितवनको किताब बजार हिजो र आज’ विषयमा मास्के पुस्तक भण्डारकी रजनी मास्के, नारायणी पुस्तक सदनका गुरुप्रसाद न्यौपाने, रचना पुस्तक पसलका महेन्द्र कोइराला र सम्पूर्ण किताबका लेखराम सापकोटासँग पत्रकार सूर्यप्रकाश कँडेलले संवाद गर्नुभएकाे थियाे ।
पाँचौँ सत्रमा ‘कता जाँदैछ चितवनको साहित्य ?’ विषयमा एलबी क्षेत्री, उदय अधिकारी, भूपिन र शान्ति शर्मासँग रमेश प्रभातले बहस गर्नुभएकाे थियाे ।
उत्सवको अन्तिम सत्र ‘सम्पूर्ण काव्य सन्ध्या’ सिर्जन अविरलले सञ्चालन गर्नुभएकाे थियाे । कविहरू सरला जोशी, विद्या भण्डारी चिराग, प्रकाश चापागाईं, किसान प्रेमी, एकदेव रिमाल, सुरेन्द्र अस्तफल, प्रवीण सन्नाटा, आदर्श सुशील, अञ्जान प्रदीप, माया गुरुङ, पुष्प अधिकारी अञ्जलि, मनोज चौधरी, सरस्वती पौडेल, परिवेश चापागाईं, बिष्णु तिवारी उषा, राधा कोइराला, पदम अर्याल, मेनका चापागाईं, उपेन्द्र त्रिपाठी, अजित उत्सव, उदित सिग्देल र वसन्त पराजुलीले रचना वाचन गर्नुभएकाे थियाे ।
कार्यक्रमका अवसरमा एक्सपर्ट एजुकेसनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हरेक वर्ष प्रदान गर्ने गरी ५० हजार रुपैयाँ राशिको साहित्यिक पुरस्कार स्थापना गर्ने घोषणा गर्नुभयाे । उहाँले साहित्यिक सिर्जनाको प्रवर्द्धन र स्रष्टाको सम्मानका लागि उक्त पुरस्कार स्थापना गरिएको जनाउनुभयाे ।
यस्तै, एक्सपर्ट एजुकेसनले आफ्नो वार्षिक उत्सवमा २५ हजार रुपैयाँ राशिको शैक्षिक पत्रकारिता पुरस्कार पनि निरन्तर प्रदान गर्दै आएको छ । सो पुरस्कार विगतमा पत्रकार ईश्वर जोशी, रमेशकुमार पौडेल र सूर्यप्रकाश कँडेलले प्राप्त गरिसक्नुभएकाे छ ।
‘एक्सपर्ट सम्पूर्ण किताब उत्सव – २०८२’ लाई चितवनको साहित्यिक क्षेत्रमा ऐतिहासिक उपलब्धिको रूपमा हेरिएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










