मोरङ । मोरङको बेलबारीका दिवङ्गत साहित्यकार तथा स्वास्थ्यकर्मी रमेश लामाको स्मृतिमा पहिलो पटक फुटबल प्रतियोगिता सुरु भएको छ। बेलबारी फुटबल क्लबको आयोजनामा सञ्चालन गरिएको प्रतियोगिता शनिबारदेखि प्रस्तावित बेलबारी रङ्गशालामा सुरु भएको हो।
खोटाङको डुब्रे, धारापानीमा जन्मिएर २०३५ सालदेखि बेलबारीमा बसोबास गर्दै आउनुभएकाे लामा (वि.सं. २००५–२०७८) स्वास्थ्यकर्मीका रूपमा लामो समय सेवा गर्नुभयाे । उहाँ मातृभाषा तामाङमा साहित्य सिर्जना गर्ने प्रखर स्रष्टा समेत हुनुहुन्थ्याे । उहाँका कृतिहरूमा ‘सैलुङ’ (तामाङ कथासङ्ग्रह, २०५३), ‘हाइसेर ङिछा’ (ज्ञानको प्रकाश – २०५३, भाग २), र ‘तामाङ शब्दकोश’ (२०५७) विशेष छन्। ‘हाइसेर ङिछा’ तामाङ भाषा पठनपाठनका लागि पाठ्यपुस्तकका रूपमा समेत प्रयोग हुँदै आएको छ। २०८० सालमा परिवारले उहाँको योगदानलाई स्मरण गर्दै एक स्मृति ग्रन्थसमेत प्रकाशनमा ल्याएको थियो।
नगरपालिकाका प्रमुख दिलप्रसाद राईले प्रतियोगिताको उद्घाटन गर्नुभएकाे थियाे । ‘स्वर्गीय रमेश लामा प्रथम स्मृति फुटबल प्रतियोगिता – २०८२’ नाम दिइएको प्रतियोगितामा प्रथम हुने टिमले रु. दुइ लाख दुइ हजार दुइ सय २२ रूपियाँ नगद, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमलाई रु. एक लाख एघार हजार एक सय ११ रूपियाँ नगदसहित पदक र प्रमाणपत्र प्रदान गरिने आयोजक संस्था बेलबारी फुटबल क्लबका अध्यक्ष तथा स्रष्टा लामाका सुपुत्र रसिन लामाले जानकारी दिनुभयाे ।
स्थानीयस्तरमा खेलकुद प्रवर्द्धन र साहित्य-संस्कृतिप्रति सम्मान प्रकट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ पुष २०८२, शुक्रबार 





