काठमाडौँ । लोकसङ्गीतका अनुसन्धानकर्ता, संगीतज्ञ तथा संगीत संयोजक प्राज्ञ अशोककुमार राई १८औँ गणतन्त्र दिवसको अवसरमा ‘गणतन्त्र स्रष्टा सम्मान’ बाट सम्मानित हुनुभएको छ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले उहाँलाई सृजनाका माध्यमबाट गणतन्त्रको स्थापना र संस्थागत विकासमा पुर्‍याउनुभएकाे योगदानको कदर गर्दै यो सम्मान प्रदान गरेको हो।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष तथा मदन भण्डारी कला–साहित्य प्रतिष्ठानका सचिवालय सदस्य समेत रहनुभएका प्राज्ञ राईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले दोसल्ला, माला र सम्मानपत्र प्रदान गरी सम्मानित गर्नुभएकाे थियाे । समारोहमा प्राज्ञ राईसहित अन्य सात जनालाई विभिन्न क्षेत्रमा योगदान गरेबापत सम्मान गरिएको थियो।

नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्राज्ञ राईको कला क्षेत्रमा लामो समयदेखिको योगदानको प्रशंसा गरिएको थियो। उहाँको लोकसङ्गीतको क्षेत्रमा भएको अनुसन्धान तथा संगीत संयोजनले नेपाली संगीतको धरोहरलाई थप समृद्ध बनाएकोमा जोड दिइएको थियो। यस सम्मानले उहाँलाई मात्र नभई समग्र लोकसङ्गीत क्षेत्रलाई प्रोत्साहन मिलेको विश्वास लिइएको छ।