काठमाडौं । विश्वभर बढ्दो आर्थिक असमानताको विषयलाई गहन रूपमा उजागर गर्ने ब्रिटिस अर्थशास्त्री इमन बट्लरको कृति ‘एन इन्ट्रोडक्सन टु इकोनोमिक इनइक्वालिटी’ नेपाली भाषामा अनुवादित भएको छ । ‘आर्थिक असमानता : एक परिचय’ नाम दिइएको यस पुस्तकको अनुवाद विप्लव प्रतीकले गर्नुभएकाे हाे भने वी रिडले प्रकाशन गरेको छ ।
पुस्तकले विश्वका धनाढ्य वर्गको हातमा केन्द्रित हुँदै गएको सम्पत्तिको विषयलाई तथ्याङ्क र विश्लेषणद्वारा प्रस्तुत गर्दछ । युरोपमा १० प्रतिशत धनाढ्य वर्गले ६० प्रतिशतभन्दा बढी सम्पत्ति ओगटेको तथ्यलाई उल्लेख गर्दै पुस्तकले उत्तरी अमेरिका, दक्षिण तथा दक्षिणपूर्वी एसियामा यो अनुपात ७० प्रतिशत पुगेको र रुस, मध्य एसिया, मध्यपूर्व, अफ्रिका तथा ल्याटिन अमेरिकामा ७० प्रतिशतभन्दा बढी रहेको कुरा उजागर गर्दछ । संयुक्त राष्ट्रसंघको तथ्याङ्कलाई उद्धृत गर्दै पुस्तकले विश्वको ७६ प्रतिशत सम्पत्ति केवल १० प्रतिशत धनाढ्य वर्गको नियन्त्रणमा रहेको तथ्य पनि प्रस्तुत गर्दछ ।
लेखक इमन बट्लर बजार आर्थिक नीतिसम्बन्धी बेलायतको प्रमुख थिंक ट्यांक, एडम स्मिथ इन्स्टिच्युटका सहसंस्थापक तथा निर्देशक हाे । सेन्ट एन्ड्रयु विश्वविद्यालयबाट अर्थशास्त्र र मनोविज्ञानमा स्नातकोत्तर तथा विद्यावारिधि गर्बनुभएकाे ट्लरले विभिन्न विषयमा ३० भन्दा बढी पुस्तकहरू प्रकाशित गरिसक्नुभएकाे छ । सन् २०१२ मा उहाँलाई हेरियट–वट विश्वविद्यालयले मानार्थ डक्टर इन लिटरेचरको उपाधिबाट समेत सम्मानित गरेको थियो ।
‘आर्थिक असमानता : एक परिचय’ ले आर्थिक असमानताको जटिलतालाई बुझ्न चाहने नेपाली पाठकहरूका लागि एउटा महत्वपूर्ण सन्दर्भ ग्रन्थको रूपमा काम गर्ने विश्वास लिइएको छ । यस पुस्तकले नेपालको सन्दर्भमा पनि आर्थिक असमानताको विश्लेषण र समाधानका उपायहरूबारे बहसलाई अझै टेवा पुर्याउने अपेक्षा गरिएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ मंसिर २०८२, मंगलवार 










