काठमाडौं । कान्तिपुर थिएटर सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । गैरीधारामा अवस्थित यस थिएटरको उद्घाटन अभिनेता हरिवंश आचार्यले गर्नुभएकाे छ । उद्घाटन कार्यक्रममा अभिनेत्री रेखा थापाको डेब्यु नाटक ‘मीरा’ को प्रिमियर गरिएको थियो ।
कान्तिपुर फिल्म कलेजले सञ्चालनमा ल्याएको एक सय ६० सिट क्षमताको थिएटरमा व्यावसायिक तथा कलेजका नाटकहरू मञ्चन गरिने कान्तिपुर फिल्म कलेजका सीईओ प्रकाश पुरीले जानकारी दिनुभयाे । यसअघि, अभिनेता राजेश हमालले थिएटरको शिलान्यास गर्नुभएकाे थियाे ।
आफ्नै जन्मस्थान गैरीधारामा नाटकघर उद्घाटन गर्न पाउँदा आफूलाई अत्यन्त खुसी लागेको अभिनेता आचार्यले बताउनुभयाे । उहाँले भन्नुभयाे, “आफ्नो जन्मटोलमा आज नाटकघर उद्घाटन गर्न पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ ।” उहाँले नाटक कलाकारहरूले नेपाली चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान दिइरहेको उल्लेख गर्दै आफ्नो अभिनय यात्राको जग पनि नाटक नै भएको स्मरण गर्नुभयाे । “नाटकका कलाकारहरूले अहिले चलचित्रमा राज गरेको देख्दा नाटकको महत्व झनै बुझ्न सकिन्छ । मैले पनि यतिबेला नाटकबाट सिकेको अनुभवलाई प्रयोग गरिरहेको छु,” उहाँले भन्नुभयाे ।
नाटकको शीर्षक ‘मीरा’ सुन्दा उहाँले आफ्नी दिवंगत पत्नी मीरालाई सम्झिएको बताउनुभयाे । उहाँले भन्नुभयाे, “नाटकको नाम पनि मीरा रहेछ । मैले भौतिक रूपमा मीरालाई गुमाएँ, तर उनकै नामबाट नाटकको नाम राखिएको रहेछ ।” मीरा नामका मानिसहरू संसारमा पवित्र हुने धारणा राख्ने आचार्यले नाटक हेरेपछि त्यसको प्रशंसा पनि गर्नुभएकाे थियाे ।
यसैबीच, उद्घाटन कार्यक्रममा सहभागी हुनुपर्ने अर्का अभिनेता मदनकृष्ण श्रेष्ठ स्वास्थ्य समस्याका कारण अनुपस्थित रहेकाले आचार्य एक्लैले उद्घाटनको जिम्मेवारी सम्हाल्नु भएकाे थियाे ।
रेखा थापाको शीर्ष भूमिका रहेको नाटक ‘मीरा’ जेठ १९ देखि असार ७ गतेसम्म (बुधबारबाहेक) साँझ ५ः३० बजेदेखि नियमित मञ्चन हुनेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ मंसिर २०८२, मंगलवार 









