अमेरिका । अमेरिकाको न्यूजर्सी राज्यमा पहिलो पटक आयोजित नेपाल डे परेडले नेपाली कला, संस्कृति र पर्यटनको जीवन्त झलक प्रस्तुत गरेको छ।
करिब एक हजारभन्दा बढी नेपालीहरुले आफ्नो मौलिक पहिचान र सामुदायिक एकता प्रदर्शन गर्दै मुख्य बजार क्षेत्रमा र्याली निकालेकाे थियाे । विभिन्न जातीय भेषभुषा, बाजागाजा र नेपालका पर्यटकीय गन्तव्यका ब्यानरहरूले परेडलाई अझै रमणीय बनाएका्े थियाे ।
नेपाल सरकारका पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठका अनुसार कार्यक्रमले अमेरिकामा नेपालको परिचय गराउनुका साथै नेपालका दर्जनौं परम्पराहरूलाई पनि उजागर गरेको छ। उहाँले भन्नुभयाे, “नेपाल परेड डे कार्यक्रममार्फत नेपाललाई अमेरिका मात्र होइन विश्वसामू चिनाउने र नेपालको कला, संस्कृति बुझाउने उद्देश्यले नेपालीको बसोबास धेरै भएको राज्यहरुमा बर्षेनी यस्ता कार्यक्रम आयोजना गर्दै आएका छौं।”
संयुक्त राष्ट्र संघका लागि नेपाल सरकारका स्थायी प्रतिनिधि लोकबहादुर थापा र न्यूजर्सीको फेरलन सिटीका उपमेयर जोश रेइनिजले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गर्नुभएकाे थियाे । थापाले प्रवासमा रहेका नेपालीहरूले आफ्नो देशको पहिचान र संस्कृतिको प्रचारप्रसारमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयाे भने उपमेयर रेइनिजले नेपाली समुदायको यो पहललाई उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
ग्रेटर जर्सी नेपाली समाज, न्यूजर्सी नेपाली समाज, गैरआवासीय नेपाली संघ अमेरिका समन्वय समिति न्यूजर्सी च्याप्टर, एआरसी फर नेपाल, कारणका लागि महिला, फ्रेण्ड्स अफ नेपाल लगायतका स्थानीय सामाजिक संस्थाहरूको आयोजना र नेपाल सरकार पर्यटन प्रवर्द्धक, न्यूयोर्कको समन्वयमा यो कार्यक्रम सम्पन्न भएको थियो। राजेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्जिव श्रेष्ठ इभेन्ट डाइरेक्टर र सतेन्द्र शाह कन्भेनरको भूमिकामा रहनुभएकाे थियाे भने सञ्चारकर्मी विक्की पुलामी र मिस नेपाल इन्टरनेशनल २०१२ सुवेक्षा खड्काले कार्यक्रम सञ्चालन गर्नुभएकाे थियाे । यसअघि न्यूयोर्क, भर्जिनिया, म्याच्युसेड्स, टेक्सास, क्यालिफोर्निया र मेरिल्याण्डमा पनि नेपाल डे परेड मनाइँदै आएको छ। यसबाट नेपाली डायस्पोराले आफ्नो सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा खेलेको महत्वपूर्ण भूमिका झल्किन्छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ मंसिर २०८२, मंगलवार 




