पोखरा । संगीतकार सन्तोष श्रेष्ठको सुमधुर स्वर र संगीतले पोखरा साँझ प्रेमिल बनेको छ। नेपाल पर्यटन बोर्डको सभा हल, पार्दीमा आयोजित ‘देवेन्द्र के.सी. ‘देवु’ गजल साँझ’मा गजलकार देवेन्द्र के.सी. ‘देवु’का ७ वटा गजलहरू श्रेष्ठले साजबाजसहित प्रस्तुत गर्नुभएकाे थियाे ।

“अहो ! क्या छ बान्की, तिमी पोखराकी / भनूँ रूप खानी, तिमी पोखराकी” जस्ता रमणीय पंक्तिहरूले पोखराको सौन्दर्यलाई शब्दमा उतार्दै श्रोतालाई भावुक बनाउनुभएकाे थियाे ।

कार्यक्रममा टेकबहादुर राना (बाँसुरी) र मिलन गिरी (तबला) ले संगीतको साथ दिनुभएकाे थियाे । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, गण्डकी प्रदेशद्वारा आयोजित यस कार्यक्रमलाई महासचिव असफल गौतमले भव्य, सभ्य र उत्कृष्ट भएको बताउनुभयाे ।

कार्यक्रम संयोजक तथा गजलकार घनेन्द्र ओझाले देवु र सन्तोषको संक्षिप्त परिचय दिँदै यो कार्यक्रमलाई ‘नेपाली शास्त्रीय गजल गायनको स्वर्ण दशक, वि.सं. २०८०-२०९०’ अभियान अन्तर्गतको महत्वपूर्ण पाटोको रूपमा प्रस्तुत गर्नुभयाे । उहाँले यस कार्यक्रमलाई पोखरा र गण्डकी प्रदेश मात्र नभई सम्पूर्ण नेपाल र नेपाली गजल संगीतका लागि ऐतिहासिक महत्वपूर्ण भएको बताउनुभयाे ।

साहित्यकार सरुभक्तले नेपाली गजलमा बढ्दो शास्त्रीयताको खोजीलाई यस कार्यक्रमले थप उजागर गरेको बताउँदै अभियानलाई पूर्ण सफलताको शुभकामना दिनुभयाे। श्रेष्ठले यो कार्यक्रम गण्डकी प्रदेशमा आयोजित पहिलो कार्यक्रम भएको जानकारी दिनुभयाे ।

लोक गायिका हरिदेवी कोइरालाले देवुको साहित्यिक यात्रा र गजल गायनको प्रशंसा गर्नुभएकाे थियाे भने गायक श्रेष्ठले यो अभियानको एक वर्ष पूरा भइसकेको र आधा दर्जन कार्यक्रम सम्पन्न भइसकेको जानकारी दिँदै सातै प्रदेशमा यो अभियान विस्तार गर्ने योजना सुनाउनुभयाे । अनेसासका केन्द्रीय सदस्य दुर्गा शाह ‘बाबा’ ले पोखरामा यस्तो महत्त्वपूर्ण कार्यक्रम हुनु खुसीको कुरा भएको प्रतिक्रिया दिनुभयाे ।