चितवनकी साहित्यकार सरला शर्माको लघुकथा सङ्ग्रह ‘उसैले जन्माएको छोरो’ को केराबारीमा परिचर्चा गरिएको छ।
‘नझरेका फूलहरू’ को आयोजना र ‘जेफाले सृजना डबली’ को सहकार्यमा सम्पन्न भएकाे छ। केराबारी–१० स्थित श्री राष्ट्रिय पुस्तकालयमा आयोजित कार्यक्रममा ४७ औँ शृङ्खलासम्म पुगेको ‘नझरेका फूलहरू’ ले पहिलो पटक केराबारीमा पुस्तक परिचर्चा गरेको हो।
कार्यक्रमका सभापति एवम् ‘नझरेका फूलहरू’का परिकल्पनाकार, व्यवस्थापक तथा प्रस्तोता केपी घिमिरेकाे एकल प्रयासमा एघार वर्षदेखि सञ्चालन गर्दै आएको यस कार्यक्रमलाई अझै विशेष बनाएको बताउनुभयो। कार्यक्रममा ‘उसैले जन्माएको छोरो’ को पूर्वाञ्चल विमोचन, कृतिको चर्चा–परिचर्चा, सिर्जना वाचन तथा पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरिएको थियो।
खेमचन्द्र अधिकारी, नवीन थापा क्षेत्री र पुरन याक्खाजस्ता परिचर्चाकारहरूले पुस्तक परिचर्चा गर्नुभएकाे थियाे । त्यस्तै, श्री राष्ट्रिय पुस्तकालयका सचिव क्षेत्रीले पनि पहिलो पटक यस्तो कार्यक्रममा संलग्न भएको बताउनुभयो। साथै, सरला शर्माले पहिलोपटक आफ्नो कृति हस्तान्तरण गरेको पुस्तकालय पनि यही पुस्तकालय हो। औपचारिक कार्यक्रममार्फत पुस्तकालयमा पुस्तक हस्तान्तरण गरिएको पनि पहिलो पटक भएको पुस्तकालयले जनाएको छ।
कार्यक्रममा केही सर्जकहरूले पहिलो पटक आफ्ना रचना वाचन गर्नुभएकाे थियाे भने प्रमुख अतिथि दलित महिला जनप्रतिनिधि मनमाया विश्वकर्माले पहिलो पटक औपचारिक कार्यक्रममा यो भूमिका निर्वाह गर्नुभएको थियो।
रमेश निरौला, उमा सिँजापती, सिजन श्रेष्ठ, गीताप्रसाद श्रेष्ठ, प्रकाश भट्टराई, रुपनारायण श्रेष्ठ, यादव भट्टराई, दीप मंग्राती, वासु अधिकारी, डिकलाल लिम्बू र खेमराज आचार्य लगायतले आफ्ना सिर्जना वाचन गर्नुभएकाे थियाे । कुशल उद्घोषक तथा गजलकार युवराज ठकुरीको प्रस्तुतिले कार्यक्रमलाई थप साहित्यिक बनाएको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ कार्तिक २०८२, मंगलवार 






