मनका तरङ्ग – अलका मल्ल

कवि तथा गीतकार अलका मल्लको काव्यसंग्रह हो ‘मनका तरङ्ग’ । मल्लले आफ्नो काव्यमा मातृ स्नेह, प्रेम समर्पण, सामाजिक बेथिति, पितृसतात्मक समाजले महिला र पुरुषलाई गर्ने फरक व्यवहारको चित्रण गर्नुभएको छ ।

”प्रेमको परिभाषा गरेका धेरै व्यक्तिहरूले आआफ्‌ना धारणा, भोगाइ र अनुभूतिका आधारमा यसलाई प्रस्ट्याएका छन् ।”, पुस्तकमा डा. बिन्दु शर्मा लेख्नुहुन्छ, ”व्यक्तिको दृष्टिकोण उसको वैचारिक आयामबाट परिपोषित हुने भएकाले प्रेमसम्बन्धी अवधारणा पनि उसले लिएको दर्शनका आधारमा परिभाषित हुन्छ । यसर्थ प्रेमको अनुभूति न त सबै व्यक्तिमा उस्तै किसिमले हुन सक्छ न त यसको प्रतिक्रियामा नै समानता पाइन्छ । अनुभूति र प्रकटीकरणको स्वरुप नै भिन्न तरिकाले हुने भएकाले यसको परिणति पनि स्वतः फरक हुने नै भयो । प्रेमले लिएको यस्तै फरक स्वरूपको साक्षीका रूपमा कवितासङ्ग्रह देखा परेको छ । गीत, गजल र कविताको संयुक्त सङ्ग्रहका रूपमा आउन लागेको प्रस्तुत कृति मूलतः स्वच्छन्द अनुभवमा आधारित छ । नैसर्गिक मानवीय वृत्तिमा केन्द्रित रही व्यक्तिगत चाहनाहरूको अभिव्यक्ति दिने क्रममा यसमा प्रेम, आकर्षण, पीडा, धोका, बाध्यता जस्ता अनुभूतिहरूलाई आदर्श स्वरूपबाट प्रकट गरिएको छ । त्यसैले यसमा प्रेमीहरू छुट्टिनु जस्तो संवेदनशील विषयलाई पनि स्वाभाविक प्रक्रियाका रूपमा लिइएको छ ।”

त्यसैगरी, पुस्तकमा लेखक मल्ल लेख्नुहुन्छ, ”गीत भनेपछि सानै उमेरदेखि हुरुक्क हुने म रेडियो नेपालको बाल कार्यक्रमका गीतहरू नियमित रूपमा सुन्ने गर्थे । बाल गीत र कविताहरू पनि लेख्ने गर्थे तर प्रतिस्पर्धामा भाग लिन असहज महसुस हुन्थ्यो । एस.एल.सी.पछि लेबोरेटरी आवासीय माध्यमिक विद्यालयको स्मृति पत्रिकामा पहिलो पटक भू.पू. विद्यार्थीको तर्फबाट एउटा कविता सम्प्रेषण गर्ने मौका पाएकी थिए । गीत, कविता लेख्दालेख्दै आजभन्दा दुई दशक अघि मेरो रचनामा तिम्रो निम्ति गीती एल्बम निकाल्न सफल भएँ।”

पुस्तकलाई एडुकेशनल पब्लिशिंग हाउसले बजारमा ल्याएको हो । २९ ओटा गीत, पाँच ओटा गजल र ५३ ओटा कविता समेटिएको पुस्तकको मूल्य तीन सय ९५ रुपियाँ रहेको छ ।