साहित्यमा उत्तर चेतको खोजी – छत्रमान सुब्बा

लेखक छत्रमान सुब्बाको नयाँ पुस्तक हो साहित्यमा उत्तर चेतको खोजी ।
छत्रमान सुब्बाले प्रा.डा गोविन्दराज भट्टराईको दश कृतिको पठन सारमा रहेर यो पुस्तक तयार पार्नुभएको हो ।

”नेपाली साहित्यलाई वैश्विक नवीन चेतनाले उजिल्याउन निष्ठाका साथ लागिपरेका साहित्यकार हुन् गोविन्दराज भट्टराई ।” पुस्तकमा ज्ञानबहादुर क्षेत्री लेख्नुहुन्छ, ”उनले नेपाली पाठकलाई कला साहित्यका नवीन सिद्धान्तसँग परिचित गराएका छन् भने मुगलान, सुकरातका पाइला, सुकरातको डायरी जस्ता सिर्जनात्मक कृतिमा उत्तराधुनिक प्रविधि र शैलीको प्रयोग गरेका छन् । केही वर्ष अघिदेखि विश्वका विभिन्न मुलुकहरुबाट व्यक्तिगत तथा संस्थागत रुपमा नेपाली साहित्यको सिर्जना भइरहेको छ अनि वैश्विक परिप्रेक्षमा गुरु गोविन्दराज भट्टराईले अघोषित संयोजकको महत्वपुर्ण भुमिका पालना गर्दै आएको कुरा नेपाली साहित्यका अध्येतालाई विदित छ ।”

त्यसैगरी पुस्तकमा छत्रमान सुब्बा लेख्नुहुन्छ, ”अब आफू भने असमिया माध्यममा पढेको मान्छे नेपाली भाषाको हिज्जे नै राम्रोसँग आउँदैन । सिक्ने र लेख्ने रहर भने अदम्य छ। अनि जानेर भन्दा पनि नजानिकनै अलिअलि लेख्ने प्रयास गरियो । बानी त बसेको छैन । कतै कविता पाठ गर्ने रहरले लेखे, कतै लेख छपाउने, आफ्नो नाम छापिएको हेर्ने, गौरव गर्ने मुहूर्तको चाहनाले लेखियो । के लेखियो त हेर्दा आफूलाई ठीकै लाग्छ, हिज्जे त कति घोप्टिएका हुन्छन् कति चेप्टिएका अनि कति नेप्टिएर आफू जस्तै भएका हुँदा रहेछन् । म अहिले सम्झन्छु(होस् कि नहोस् लेख्नु मन लागेपछि लेखिन्थ्यो । यसरी साहित्यको नाममा हुरी बतास भएर २०१८ सन् को एकदिन दाज्यू ज्ञानबहादुर छेत्री, चन्द्रमणि उपाध्याय, विष्णु शास्त्री, प्राञ्जल प्रतिम बरा र अन्य मित्रहरू मिलेर नेपालको दश दिने साहित्यिक भ्रमणमा लागियो । हामी नेपालको त्रिफला राष्ट्रिय पुस्तकालयमा पुग्दा आदरणीय गुरु डा. गोविन्दराज भट्टराईसँग पहिलोपल्ट भेट भएर चिनापरिचय हुने अवसर मिल्यो । त्यहाँ तेराख अनि रिटिङ रिटिङ नबजाउ विनायो गीतका गीतकार एल पी जोशी जस्ता व्यक्तित्वसँग भेटघाट हुने अवसर पायौं ।”

पुस्तकलाई सेर्गेम प्रकाशनले बजारमा ल्याएको हो । एक सय १६ पृष्ठमा फैलिएको पुस्तकको मूल्य दुई सय रुपियाँ रहेको छ ।