काठमाडौं । छहरा साहित्य समाज, धापासीले शनिवार कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ। ह्वाइट माउन्टेन स्कुल, टोखा–६, काठमाडौंमा आयोजित उक्त कार्यक्रममा विभिन्न उमेर समूह र पृष्ठभूमिका कविहरूले आ–आफ्ना सिर्जना वाचन गरी साहित्यिक रसास्वादन गराउनुभएको थियो ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष साहित्यकार योगेन्द्र तिमिल्सिनाले गर्नुभएको थियो भने कवि प्रा. नारायणप्रसाद कट्टेल प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा मधु श्रेष्ठ, रमा शर्मा, तोया गौतम, भगवती सापकोटा, डा. बासुदेव काफ्ले, आनन्द पौड्याल, तिलक शर्मा पौडेल, भोला प्रेमी, र गरिमा पोखरेल जस्ता   कविहरूले आफ्ना विविध विषयवस्तु समेटिएका समसामयिक चेतका कविताहरू वाचन गर्नुभएको थियो । कविताहरूमा विभिन्न रङ्ग, रस र स्वादको मिश्रणले श्रोताहरूलाई मन्त्रमुग्ध बनाएको थियो।

विशेष आकर्षणको रुपमा प्रा. गङ्गाधर कट्टेलको ‘कविताको परिभाषा’ शीर्षक कविता, बाल कवयित्री सारा तिमिल्सिनाको ‘भोक’ शीर्षक कविता र प्रमुख अतिथि प्रा. नारायणप्रसाद कट्टेलको ‘छहरा’ शीर्षक कविताले कार्यक्रमलाई थप उचाइ प्रदान गरेको थियो । प्रा. कट्टेलले गोष्ठीमा वाचन भएका अन्य कविताहरूको समीक्षा गर्दै कविताको सारगर्भित पक्षहरू उजागर गर्नुभएको थियो।

कार्यक्रममा मिता पाण्डे, मञ्जु नेपाल, रीतिका शर्मा, मानसी खतिवडा तथा आदिश्री खतिवडा लगायतका साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन कार्यसमितिका सचिव भोला प्रेमीले गर्नुभएको थियो भने स्वागत मन्तव्य कार्यसमितिका सदस्य डा. बासुदेव काफ्लेले दिनुभएको थियो। कोषाध्यक्ष आनन्द पौड्यालले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो भने अध्यक्ष तिमिल्सिनाले आफ्नो कविता वाचन गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।