काठमाडौँ । वि.सं. २०६९ सालमा स्थापना भएको सगरमाथा साहित्य प्रतिष्ठानले आफ्नो ११औँ वार्षिकोत्सव एक भव्य कार्यक्रमका साथ मनाउने भएको छ । ‘नेपाली भाषा साहित्यको संरक्षण, संवर्द्धन र विकासका लागि हाम्रो अभियान’ मूल नाराका साथ स्थापित यस प्रतिष्ठानले चैत्र २ गते शनिबार बिहान ११ः३० बजे काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेन्टमा वार्षिकोत्सव समारोह आयोजना गर्दैछ।
कार्यक्रममा तीन जना स्रष्टाहरुलाई सम्मान गरिनेछ । झापाका विवेक दुलाल क्षेत्री, चितवनकी यमुना गौतम तथा कञ्चनपुरका रमेश पन्त ‘मीतबन्धु’ सम्मानित हुने प्रतिष्ठानले जनाएको छ। यसै कार्यक्रममा प्रतिष्ठानद्वारा नवप्रकाशित कृति ‘कविताहरूको सगरमाथा २’ को पनि विमोचन गरिनेछ। साथै, ‘सगरमाथा वर्ष पुरस्कार’ पनि वितरण गरिने कार्यक्रमका संयोजक तथा केन्द्रीय प्रवक्ता राजेशराज गड्तौलाले साहित्यपोष्टलाई जानकारी दिनुभयो।
कार्यक्रममा प्रमुख अतिथि साहित्यकार कलानिधी दाहाल रहनेछन् । सगरमाथा साहित्य प्रतिष्ठानले स्थापनाकालदेखि नै निरन्तर पुस्तक प्रकाशन गर्दै आएको छ। ‘प्रवासका फूलहरू’, ‘अक्षरहरूको सगरमाथा’, ‘कविताहरूको सगरमाथा भाग–१’, ‘पहराको फूल’, ‘निलो परदेश’ र हालै प्रकाशित ‘कविताहरूको सगरमाथा भाग–२’ गरी ६ वटा कृतिहरू प्रतिष्ठानबाट प्रकाशित भइसकेका छन्। प्रतिष्ठानले गजल तथा कविता प्रतियोगिताहरू पनि आयोजना गर्दै स्रष्टाहरूलाई पुरस्कृत गर्दै आएको छ । आगामी दिनहरूमा पनि नेपाली साहित्यको सेवामा निरन्तर लागिरहने प्रतिष्ठानका केन्द्रीय अध्यक्ष समर चेम्जोङले बताउनुभयो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१३ असार २०८३, शनिबार 






