साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

युएई-नेपाली साहित्यका अद्भूत समर

व्यक्तित्व

Chovar Blues Mobile Size

गीत लेख्नेले गीत लेख्छ । लय सिर्जना गर्नेले लय बनाउँछ । त्यही लयमा गीत गाउनेले गीत गाउँछ । र, बन्छ एउटा “डमी” रेकर्ड । जसलाई प्रविधिले माझ्छ । टल्काउँछ-चम्काउँछ । ठीकठीक ठाउँमा ठीक ढंगले बाजाहरूको धुन हाल्छ । जम्मै काम गर्छ- एउटा एरेन्जरले । जब गीत हिट हुन्छ, गायक हुन्छ हिट । संगीतकार, गीतकार हिट हुन्छन् । तर ऊ सधैँ ओझेलमा परिरहन्छ । ठीक यही कुरा समर चेम्जोङको नाम   साहित्यमा एरेन्जरको कथा जस्तै लाग्छ ।

को हुन् समर चेम्जोङ ?
समर चेम्जोङ खोज्नेहरूलाई साहित्यको सामान्य विद्यार्थी लाग्न सक्छ । किनभने, अहिलेसम्म उनका कुनै कृति प्रकाशित छैनन् । यद्यपि, उनले कवितामा कलम चलाउँछन् । गीतमा कलम चलाउँछन् । गजलमा कलम चलाउँछन् । मुक्तकमा कलम चलाउँछन् । आख्यानमा उनले दुईवटा पाण्डुलिपि नै तैयार गरिसकेका छन् । बहुविधामा कलम चलाउने यी स्रस्टा एकदम सामान्य छन् । खासमा उनी सामान्य भैदिएको यसकारण हो कि प्रायः सामान्य मानिसहरूले आफूलाई असामान्य सम्झिँदा उनलाई लाज लाग्छ । र, अरूले उनको लाज नदेखुन भनेर आफूले आफैँलाई सामान्य सम्झिन्छन् । यहाँ मैले लेख्न खोजेको यिनै सामान्य मानिसको युएई साहित्यमा असामान्य भूमिका माथिको चर्चा हो ।

तेह्र वर्षअघि समर युएई आउँछन् । सँगसँगै उनीसँगै आउँछ उनको भाषा-साहित्य प्रेम । त्यसो त, समर आउनुअघि पनि युएई साहित्यमा चहलपहल नभएको होइन तर उनी यहाँ आइसक्दा निभेको टुकीमा तेल नभएको देख्छन् ।

समरले ती दिनहरू सम्झदै भने, “युएईमा आएपछि दीपराज नेयोङहाङ र दीपकराज अधिकारीलाई भेटेँ । साहित्यमा रुचि भएका ब्यक्तिहरूसँग भएको यो नै मेरो पहिलो भेट थियो । समय क्रममा दलवीर सिंह बराइली, किरण कौशल मेयोङ्बा, सेल्कर तामाङहरूसँग भेट भएपछि भेटको दायरा फराकिलो हुँदै गयो । त्यसपछि हामीले एकअर्कामा सिर्जना सुन्ने-सुनाउने गर्न थाल्यौँ । रेसिडेन्सियल सिटी, आइकार्डको खुल्ला चौरमा महफिल जमे तर मभित्र भने साहित्यिक भेटघाट र सिर्जना वाचनलाई व्यवस्थित गरेर लैजानुपर्छ भन्ने हुटहुटी थियो । एकदिन यस्तै भेटघाटमा प्रस्ताव राखेँ, त्यहीँबाट ‘सगरमाथा साहित्य प्रतिष्ठान, नेपाल’ को गर्भाधान भयो ।’

युएई साहित्यको इतिहास लामो छैन । सन् २००० मा दलवीर सिंह बराइलीको नेतृत्वमा गठन भएको संस्था “नेपाल साहित्य परिषद, युएई” नै युएईमा पहिलो साहित्य संस्था भएको यसै संस्थाद्वारा प्रकाशित “अरब र प्रतिध्वनि” पत्रिकाले पुष्टि गरेको छ । त्यसको नौ वर्षपछि सन् २००९ मा लक्ष्मण सापकोटाको नेतृत्वमा “सर्वदा बाङ्मय प्रतिष्ठान, युएई” र, यसपछि सन् २०१३ मा विवेक दुलाल क्षेत्रीको नेतृत्वमा “सगरमाथा साहित्य मञ्च, युएई”, त्यही वर्ष महादेव अधिकारीको नेतृत्वमा “नेपाली साहित्य फूलबारी, दुबई”, मोहराज शर्माको नेतृत्वमा इएनएएस गठन हुन्छन् ।

यसैगरी सन् २०१६ मा टक गुरुङको नेतृत्वमा “सिर्जना वाचन डबली, युएई”को शुरूवात हुन्छ । यद्यपि, डबली कुनै साहित्य संस्था नभएको र यसले सिर्फ साहित्यकारहरूलाई “प्लेटफार्म” दिने काम गर्दै आइरहेको छ ।

sagarmani mobile size

भनिन्छ, एउटा जिउँदो मानिस जहाँ-जहाँ जान्छ, उसले आफूलाई जिउँदो मानिस भएको प्रमाणित गर्छ । समरको हकमा यो शब्द गज्जबले सुहाउँदिलो लाग्छ । उनको योजना थियो, ‘यहाँ त्यस्तो एउटा संस्था होस्, जसले साहित्य फाँटमा हलचल ल्याइदिओस् ।’ त्यसैले युएईमा रहेका प्रायः लेखकहरूसित उनले छलफल गरे। म्यासेजमा/भेटमा/फोनमा सबैलाई कम्भिन्स गर्ने प्रयास गरे। बर्खामा उम्रेका च्याउजस्ता जताततै नाम मात्रको संस्था बनाएर कमिटी गठनको तुक नरहने बरू युएईभरि एउटै मात्र संस्थालाई बृहत्तर बनाउने र साहित्यिक क्रियाकलापहरूलाई ब्यापक बनाउने हो भने त्यसले दूरगामी प्रभाव राख्ने उनको बुझाइ थियो । विडम्बना, उनको प्रस्तावलाई कसैले पनि गम्भीरतापूर्वक लिएनन् । बरू टक गुरुङ, जे. सागरहरूले “सिर्जना वाचन डबली”को शुरूवात गरे । आज डबलीले आफ्नो उन्नाइसौं शृङ्खला सफलतापूर्वक पूरा गरिसकेको छ । स्मरण रहोस्, सिर्जना वाचन डबलीको अवधारणा पनि समर चेम्जोङकै थियो ।

यो समय युएई साहित्यमा कुनै संस्था अन्तर्राष्ट्रियस्तरमा परिचित छ भने, त्यो “सगरमाथा साहित्य प्रतिष्ठान, नेपाल” नै हो । बाँकी कति हराए, कति नाममा सीमित छन् । त्यसो त एकबखत सगरमाथा साहित्य प्रतिष्ठानको अस्तित्व शून्य भैसकेको थियो । आफ्नै प्रयासले स्थापना भएको संस्था धर्मराउन थालेपछि समरलाई चिन्ता लाग्न थाल्यो । फेरि उनले सबैलाई झक्झकाउन थाले । छुट्टीमा गएर नफर्केका साथीहरूको रिक्त पद पूर्तिका लागि ‘योग्य’ व्यक्तिहरू खोज्न थाले । यसै क्रममा भेट्टाए गहकिलो छवि भएका शालिन कवि कृष्ण विश्वकर्मालाई । उनलाई नेतृत्व दिएपछि एकाएक संस्थाले गति लिन थाल्यो । आज उनकै नेतृत्वमा संस्थाको गतिविधि तीव्र बनाउनुको साथै वार्षिक रूपमा अन्तर्राष्ट्रिय गजल/कविता प्रतियोगिताहरूको सफलतापूर्वक आयोजना गर्दै आइरहेको छ । त्यसो त, स्थापनाको केही समयमा नै “प्रवासका फूलहरू” र “हाम्रो प्रतिविम्ब” कृति प्रकाशित गरेर दरिलो उपस्थिति बनाएको संस्थाले पछिल्लो समय प्रकाशित गरेको कृति हो- “अक्षरहरूको सगरमाथा” । समर ढुक्कसँग भन्छन्, ‘अहिले “अब संस्था सही ट्र्याकमा आएको छ, रिपेयरिङ भएर हाइवेमा दगुरिरहेको बसजस्तो । यसले कति लामो दूरीको यात्रा गर्छ, अहिल्यै भन्न सकिन्न, तर अब म सुस्ताए पनि चिन्ता छैन ।”

सगरमाथा साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्ण विश्वकर्माको मूल्यांकन यस्तो छ, “उनी त्यस्तो साहित्यकार हुन्, जसले पर्दा पछाडि रहेर पनि पर्दा अगाडिकाले भन्दा बेशी साहित्य-कर्म गर्दै आइरहेका छन् । मूलत: युएई साहित्यमा उनको योगदान अतुलनीय रहेको जीउँदो साक्षी म स्वयं हुँ । सिर्जना वाचन डबलीको मूल कन्सेप्ट वहाँकै हो । आज सिर्जना वाचन डबली युएईकै चर्चित साहित्यिक थलो हुनुको प्रथम श्रेय वहाँलाई नै दिँदा अतिशयोक्ति हुँदैन । मृत प्राय: रहेको सगरमाथा साहित्य प्रतिष्ठानलाई बौराएर खाडीमा
एउटा दर्विलो अस्तित्वको मुकाममा पुर्याउन उहाँले गरेको अनवरत योगदान र क्रियाशीलता वस्तुत: अनुकरणीय छ । समग्रमा समर चेम्जोङ युएई साहित्यमा एउटा अलिखित/ अवर्णित भुइँफूल हुन् भन्ने लाग्छ ।”

अन्तरमुखी स्वभावका समर अहिले सगरमाथा साहित्य प्रतिष्ठानका संरक्षक छन् । उनले अरुले नसोचेको भिजन बनाउँछन् र संस्थाको मिटिङमा प्रस्ताव राख्छन् । अब समरको दुइटा सपना छ । एउटा, यो संस्थालाई अन्तर्राष्ट्रियकरण गर्ने र अर्का यही संस्थाको नामबाट कालान्तरमा प्रकाशन गृह खोल्ने । उनको प्रस्तावलाई संस्थाले पारित पनि गरिसकेको छ । त्यसको लागि उनले नेपाल, साउदी, मलेसिया, कतार, पोर्चुगल, इजरायल लगायतका देशमा रहेका लेखकहरूसँग छलफल पनि चलाइरहेका छन् । उनी भन्छन्, “पहिला मेरो योजना सफल भएन, किनभने त्यहाँ हामी थिएनौँ । अब मेरो योजना सफल हुनेछ किनभने यहाँ हामी छौँ ।”

प्रतिक्रिया
Loading...