विराटनगर । विश्वको पाँचौँ अग्लो हिमाल मकालु आरोहणको ७०औँ वर्षगाँठको अवसरमा संखुवासभाको मकालु गाउँपालिकामा दक्षिण एशियाली साहित्यिक–सांस्कृतिक महोत्सव हुने भएको छ। फागुन १४ देखि १७ गतेसम्म नुम बजारमा आयोजना हुने यस महोत्सवले मकालुलाई मात्र नभई समग्र संखुवासभालाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने अपेक्षा गरिएको छ।

मकालु गाउँपालिकाको आयोजना र मकालु साहित्यिक समाजको संयोजनमा हुने यस महोत्सवमा नेपालसहित भारत, बंगलादेश र भुटानका स्रष्टाहरुको सहभागिता रहनेछ। महोत्सवको तयारी अन्तिम चरणमा पुगेको मकालु साहित्यिक समाजका अध्यक्ष तथा साहित्यकार ताराबहादुर बुढाथोकीले जानकारी दिनुभयो।

उहाँका अनुसार, महोत्सवले मकालु, शिवधारा र वणुगोत्री क्षेत्रको धार्मिक, सांस्कृतिक र साहित्यिक पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ। दक्षिण एशियाली संस्कृतिको सम्मिलन र विचार आदानप्रदानले आपसी सम्बन्धलाई सुमधुर बनाउन सहयोग पुग्ने उहाँको विश्वास छ। “पहिलो पटक हुन लागेको यो महोत्सवले यस क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ,” बुढाथोकीले भन्नुभयो, “कार्यक्रमलाई भव्य र ऐतिहासिक बनाउन पूरै संखुवासभा जुटेको छ।”

गाउँपालिका उपाध्यक्ष मनकला राईको संयोजकत्वमा गठित आयोजक समितिका अनुसार, महोत्सवमा भलिबल प्रतियोगिता, नाटक मञ्चन, लोकदोहोरी, झाँकी प्रदर्शन, स्थानीय उत्पादनको स्टल, साहित्यिक–सांस्कृतिक कार्यक्रम र पुस्तक विमोचन जस्ता विविध कार्यक्रमहरू समावेश गरिएका छन्।

यस अवसरमा साहित्य र पत्रकारितामा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई विशेष सम्मान पनि गरिनेछ। विराटनगरका कवि तथा पत्रकार मीनकुमार नवोदित पहाडी ग्रामीण जनजीवन र साहित्यिक–सांस्कृतिक विषयवस्तुलाई आमजनतामाझ पुर्‍याउन गरेको योगदानको कदर गर्दै सम्मानित हुँदै हुनुहुन्छ।

८४६३ मिटर अग्लो विश्वको पाँचौँ अग्लो हिमाल मकालुको शिखरमा मानव पाइला टेकेको ७० वर्ष पुगेको उपलक्ष्यमा आयोजना हुन लागेको यो चारदिने महोत्सवलाई स्थानीयवासीले उत्साहपूर्वक स्वागत गर्नुभएको छ। यसले मकालु क्षेत्रको परिचय र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ।