अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को बालसमिति ले नेपाली भाषा, साहित्य र संस्कृतिको विश्वव्यापीकरणका लागि महत्वाकांक्षी योजनाहरू अगाडि सारेको छ।
सर्वज्ञ वाग्ले नेतृत्वको अनेसास कार्यसमितिको सक्रियतामा गठित यस समितिले नेपाली भाषाका कक्षाहरू सञ्चालन, बालबालिकामा नेपाली भाषा र साहित्यको प्रवर्द्धनलाई प्राथमिकतामा राखेको छ।

समितिका संयोजक सुरेन उप्रेती (क्यानाडा) को नेतृत्वमा रहेको यस समितिमा रामबाबु सुवेदी र डा. प्रकाश पौडेल सल्लाहकार रहनुभएको छ भने डा. ज्ञानेन्द्र पोखरेल, डा. दिपक तिवारी, बिष्णु घिमिरे, जानु ओझा, गोपाल दाहाल, कृष्ण रेग्मी, खड्ग न्यौपाने, पद्मा लिङ्खा मगर, सुदिप श्रेष्ठ, आर.सी. राई, मिरा कोइराला, मनिष खत्री, गैगादेवी गिरी र सौरव कारन्जित सदस्य रहेका छन्।

समितिको प्रथम बैठक जनवरी ३१ मा सम्पन्न भएको थियो। बैठकमा विभिन्न देशहरूमा नेपाली भाषा कक्षाहरू सञ्चालन गर्दाका चुनौतीहरू र पाठ्यपुस्तक निर्माणका प्रयासहरूबारे छलफल भएको थियो। समितिले अल्पकालीन र दीर्घकालीन योजनाहरू तर्जुमा गरेको छ।

अल्पकालीन योजनाहरूमा नेपाली भाषाका कक्षाहरू सञ्चालन भएका देशहरूका बालबालिकाबाट कविता तथा गीत वाचन गराउने।
आगामी नेपाली नयाँ वर्षमा बालबालिकाका कविता र फोटो समावेश गरी कविता क्यालेण्डर प्रकाशन गर्ने।

त्यसैगरी दीर्घकालीन योजनाहरू, शिक्षक र अभिभावकहरूको भेला आयोजना गर्ने। शिक्षकहरूलाई पठनपाठनमा सहयोग पुर्‍याउन विज्ञहरूद्वारा प्रशिक्षण प्रदान गर्ने। पाठ्यपुस्तकहरूको एकरूपता कायम गर्ने र डिजिटल पाठ्यपुस्तक उपलब्ध गराउने। विद्यार्थीहरूलाई विभिन्न देश र महादेशहरूसँग जोड्ने कार्यक्रमहरू सञ्चालन गर्ने। कविता, कथा र गीत लेखन तालिमहरू सञ्चालन गर्ने । पहिलेको बालसमितिले पारित गरेका बुँदाहरूको व्यवहारिक कार्यान्वयनमा जोड दिने। ‘बालतारा’ पुस्तक प्रकाशन गर्ने।

बैठकमा विभिन्न देशका सदस्यहरूले आ-आफ्नो देशमा नेपाली भाषा शिक्षणका अनुभव तथा चुनौतीहरूबारे जानकारी गराउनुभएको थियो । अनेसासका अध्यक्ष सर्वज्ञ वाग्ले र महासचिव राजु सिटौलाले बैठकमा सहभागी भई सुझाव तथा शुभकामना दिनुभएको थियो । यस बालसमितिको प्रयासले विश्वभर छरिएर रहेका नेपाली बालबालिकाहरूमा नेपाली भाषा र साहित्यको जगेर्नामा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।