भारतको सिलिगुडीमा कवि विमल खतिवडा माइलाद्वारा लिखित ‘उडान’ खण्डकाव्यको विमोचन भएको छ ।

भारतीय संविधानमा नेपाली भाषाले मान्यता पाएको ३२ औँ नेपाली भाषा मान्यता दिवस (अगस्ट २०) को पूर्वसन्ध्यामा क्याप्टेन न्यौपाने फाउन्डेसनले मिलनमोड स्थित लिटिल एन्जल्स स्कुलको प्रेक्षालयमा आयोजना गरेको ‘प्रतिभा सम्मान तथा पुस्तक लोकार्पण समारोह’मा कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य प्रा.डा. देवी नेपाललगायतका विशिष्ट व्यक्तित्वहरूबाट उक्त खण्डकाव्यको विमोचन गरिएको थियो ।

चम्पासरी नेपाली साहित्य परिषद्का अध्यक्ष श्रीमती शुषमा गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपालले अहिले नेपाली जाति महाजाति र नेपाली भाषा विश्वभाषा भइसकेको कुराको चर्चा गर्दै नेपाली भाषा मान्यता दिवसका उपलक्ष्यमा सम्पूर्ण भारतीय नेपालीहरूलाई शुभकामना व्यक्त गर्नुभयो । उहाँले प्रत्येक नयाँ पुस्ताले पुरानो पुस्तालाई एक कदम मात्र भए पनि उछिन्न सकेन भने समाज यथास्थितिमा रहने कुराको चर्चा गर्दै कवि खतिवडाको सिर्जनाले गुरु पुस्तालाई चुनौती दिए पनि सबैले गर्व गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाकै शैलीमा झ्याउरे छन्दमा लेखिएको ‘उडान’ खण्डकाव्यमा दार्जिलिङ र कालेबुङ क्षेत्रको भारतीय नेपाली जीवनलाई आधार बनाएर पेदोङदेखि चाल्सासम्मको भौगोलिक परिवेश र नारी समस्या, संवेदना र करुणाको संवेगात्मक चित्रण गरिएको हुनाले यस कृतिले भारतीय नेपाली पाठकहरूका बिचमा मुनामदनले जस्तै लोकप्रियता हासिल गर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा स्रष्टा माइलाको व्यक्तित्वका बारेमा परिचय दिँदै राधिका न्यौपानेले उहाँ आजसम्म आफ्नो जिम्मेवारीमा अत्यन्त समर्पित, असल र कर्तनिष्ठ शिक्षक हुनुहुन्थ्यो भने आजबाट समाजसचेत कविका रूपमा पनि परिचित हुनुभएको विचार राख्नुभयो । उक्त अवसरमा कवि माइलाले आफूले नेपाली समाजमा नारी नारीका बिचको बेमेलका कारण उत्पन्न हुने समस्यालाई केन्द्रमा राखेर सामाजिक दायित्व निर्वाह गर्नका लागि यो खण्डकाव्य सिर्जना गरेको जानकारी दिनुभयो ।

क्याप्टेन न्यौपाने फाउन्डेसनका निर्देशक दीपक न्यौपानेले आमन्त्रित सम्पूर्ण व्यक्तित्वहरूलाई स्वागत गर्दै संस्थाका बारेमा विस्तृत जानकारी दिनुभएको थियो भने कर्नेल केशव राईले क्याप्टेन के.के न्यौपानेको योगदानको चर्चा गर्नुभएको थियो । उक्त अवसरमा आआफ्नो प्रतिभा र क्षमताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा आफ्नो नाम राख्न सफल मिलनमोड क्षेत्रका दश जना प्रतिभाहरूलाई क्याप्टेन न्यौपाने स्मृतिसम्मान–२०२४ बाट सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरूमा मेरिना विश्वकर्मा, सञ्चिता उपाध्याय, अङ्गद क्षेत्री, प्रशंसा थापा, क्षितिज क्षेत्री, सुमित विश्वकर्मा, सन्दीप ब्राह्मिन (पपिन सेन्डी), ममता क्षेत्री र पवन लामा गरी नयाँ पुस्ताका नौ जना र बहुमुखी प्रतिभाका धनी कृष्ण बस्नेत गरी दश जना हुनुहुन्थ्यो ।

वरिष्ठ साहित्यकार लोकनाथ चापागाईं, कर्नेल पिके शर्मा, केशव राई, बिडी शर्मा, देवकोटा सङ्घका अध्यक्ष मिलन रुचाल, सचिव पिटी याल्मो, तेजमान बराइली, डा. सुकराज दियाली, खेम सापकोटा, गीताश्री शर्मा, निर्मला न्यौपाने, दिवस न्यौपानेलगायतका अत्यन्त विशिष्ट व्यक्तित्वहरूको उपस्थितिले खचाखच भरिएको सभाकक्षमा चर्चित गायक पुष्पन प्रधानको विशेष प्रस्तुति, क्षितिज क्षेत्री, ममता क्षेत्री र सन्दीप ब्राह्मिनको प्रतिभा प्रदर्शनका साथै विभिन्न सांस्कृतिक झलकहरू प्रस्तुत गरिएका थिए ।

स्रष्टा एवम् कलाकार कृष्ण बस्नेतले कवितात्मक एवम् अत्यन्त प्रभावकारी शैलीमा सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा स्रष्टाका पिता चन्द्रप्रसाद खतिवडा, हाम्रो किताब घरका व्यवस्थापक छेवाङ योन्जन, कार्यक्रमका संयोजक इन्द्रबहादुर खतिवडाले आआफ्नो मन्तव्य राख्नुभएको थियो भने साना साना बालबालिका अभियान शर्मा र तेजस्वी शर्माले कविता वाचन गर्नुभएको थियो ।