१. विषय प्रवेश
मुक्तक कविताको लघुतम रूपअन्तर्गत पर्ने सङ्क्षिप्त तर प्रभावकारी काव्यविधा हो । कविता वा काव्यका सम्बन्धमा पूर्वीय काव्यशास्त्रहरूमा प्रशस्त चर्चा गरिएको पाइन्छ । मुक्तकलाई सबैभन्दा पहिले परिभाषित गर्ने काम ‘अग्निपुराण’ले गरेको छ । ‘अग्निपुराण’ले हृदयलाई चमत्कृत पार्ने रचनालाई मुक्तक भनेको छ भने अभिनव गुप्तले अन्य श्लोकसँग असम्बद्ध भएर पनि स्वतन्त्र रूपमा पाठकलाई रसास्वादन गराउने रचनालाई मुक्तक भनी चिनाएका छन् । यसरी नै आचार्य दण्डीले ‘मुक्तकं श्लोक एवैकश्चमत्कारः क्षमः सताम्’ (एउटै श्लोकमा पाठकका हृदयमा चमत्कार उत्पन्न गर्न सक्ने क्षमता भएको रचना नै मुक्तक हो) भनी स्पष्ट उल्लेख गरेका छन् । पूर्वीय काव्यशास्त्रहरूमा कविताको बाह्य स्वरूपका आधारमा विभिन्न नामकरण गरेको पाइन्छ । पूर्वीय जगत्मा एक श्लोकको रचनालाई ‘मुक्तक’, दुई श्लोकको रचनालाई ‘सान्दानिक वा युग्मक’, तीन श्लोकको रचनालाई ‘विशेषक वा निक्षेपक’, चार श्लोकको रचनालाई ‘कलापक’ र पाँच श्लोकको रचनालाई ‘कुलक’ भन्ने गरिन्छ । नेपाली कविता परम्परामा यो अत्यन्त लोकप्रिय र शक्तिशाली काव्यविधाका रूपमा परिचित छ । यो छोक (छोटो कविता) भन्दा केही ठुलो भए पनि सूत्रात्मक नै हुन्छ । वासुदेव त्रिपाठीले मुक्तकलाई सङ्क्षिप्त, मितव्ययी, चुड्किलो र सूत्रात्मक भावकथन हो, यसमा भावको विस्तार र फैलँदोपन अपेक्षित रहन्न भनी परिभाषित गरेका छन् भने रामप्रसाद ज्ञवालीले मुक्तक जो झड्का अनुभूतिको चुड्का अभिव्यक्तिका रूपमा कवितात्मक शिल्पमा प्रस्तुत गरिन्छ, यो टुक्रा संवेदनाको उन्मुक्त अभिव्यञ्जना हो भनी चिनाएका छन् । यसका आधारमा हेर्दा मुक्तक बाह्य रूपमा एक श्लोकको रचना हो भने आन्तरिक रूपमा शक्तिशाली भाव र विद्युतीय झड्का दिन सक्ने क्षमता भएको रचना हो ।

२. मुक्तकको सैद्धान्तिक परिचय
स्वतन्त्र अर्थ प्रदान गर्ने ‘मुच्’ धातुमा ‘त’ प्रत्यय जोडिएर बनेको ‘मुक्त’ शब्दमा पुनः ‘क’ प्रत्यय लाग्दा ‘मुक्तक’ शब्दको निर्माण हुन्छ । यसको शाब्दिक अर्थ नै स्वतन्त्र रचना भन्ने हो । यसको स्पष्ट उल्लेख पूर्वीय काव्यशास्त्रहरूमा नै भइसकेको हुनाले यसलाई अन्य सन्दर्भहरूसँग जोडेर सैद्धान्तिक व्याख्या र विश्लेषण गरिरहनु आवश्यक छैन । विभिन्न सन्दर्भमा सामान्यतः मुक्तकहरू चार हरफदेखि आठ हरफसम्मका हुन्छन् भनी परिभाषित गरिए पनि मूलतः मुक्तकको संरचना चुतुष्पदी नै हो । प्रायः पहिलो र दोस्रो हरफका अन्त्यको शब्द अनुप्रासमय हुनु, तेस्रो हरफ स्वतन्त्र हुनु र चौथो हरफ फेरि अगाडिजस्तै अनुप्रासबद्ध हुनु ‘मुक्तक’ को संरचना मानिन्छ । तर, गहिरो भावको सूत्रात्मक अभिव्यक्ति छ भने अनुप्रासलाई ख्याल नगरे पनि त्यसलाई ‘मुक्तक’ मान्ने चलन पनि छ । यति हुँदाहुँदै पनि नेपाली काव्य परम्परामा चाहिँ चतुष्पदी संरचना, अनुभूतिको एक झिल्का, भावनाको मितव्ययी अभिव्यक्ति, संवेदनाको खिरिलो प्रस्तुति र जीवनको विशिष्ट क्षणको खारिएको अभिव्यञ्जना नै मुक्तकको मुख्य चिनारी बन्दै आएको छ ।

चुतुष्पदी संरचना भएका कारण मुक्तकलाई उर्दू वा फारसी साहित्यमा प्रचलित रुवाईसँग जोडेर पनि हेर्ने गरिन्छ । रुवाई फारसी साहित्यको मात्र नभएर विश्वसाहित्यकै चर्चित र अति लोकप्रिय विधा मानिन्छ । यसका जन्मदाता फारसी कवि उमर खैय्याम (सन् १०४४–११२३) हुन् । यिनका रुवाईहरू अङ्ग्रेजीलगायत विभिन्न भाषामा अनुवाद भएर विश्वप्रसिद्ध बनेका छन् । रुवाई चतुष्पदी छन्द वा बहरमा लेखिन्छ । यसका लागि बहरे हजज मुसम्मन मकबुज (मफाइलुन् १२१२ × ४) को प्रयोग अनिवार्य मानिन्छ तर मुक्तक त्यसरी निश्चित लयमा नबाँधिएर स्वतन्त्र र मौलिक लयमा पनि लेख्न सकिन्छ । यी दुवैको बनोट, बुनोट र आनुप्रासिक व्यवस्थापन आदिलाई हेर्दा उस्तै लागे पनि रुवाईका सबै पङ्क्तिमा अक्षरगत वा मात्रागत समानता हुनु अनिवार्य छ भने मुक्तकमा त्यस्तो अनिवार्य नियम पाइँदैन । यति हुँदाहुँदै पनि ‘ए, ए, बी, ए’ को संरचना चाहिँ यी दुवै विधामा हुने गर्दछ । मुक्तकको न्यूनतम संरचना चतुष्पदी हो र त्यसमा ‘ए, ए, बी, ए’ को व्यवस्थापन अनिवार्य मानिन्छ । उक्त संरचनालाई यसरी बुझ्न सकिन्छ—

ए = अनुप्रासयुक्त पहिलो हरफ (यसले भावको थालनी गरी उत्सुकताको प्रारम्भ गर्छ ।)
ए = अनुप्रासयुक्त दोस्रो हरफ (यसले भावलाई गति दिई उत्सुकता बढाउँछ ।)
बी = स्वतन्त्र तेस्रो हरफ (यसले वैचारिक निष्कर्षका लागि परिवेश बनाउँछ ।)
ए = अनुप्रासयुक्त चौथो हरफ (यसमा लेखकीय अभिमत वा विचारको तर्कपूर्ण स्थापना गरिन्छ ।)

यो ‘मुक्तक’को न्यूनतम संरचना हो । यसको पहिलो र दोस्रो हरफमा अनुप्रास अनिवार्य हुनुपर्छ, तेस्रो हरफ स्वतन्त्र हुन्छ तर चौथो हरफमा पुनः अनुप्रास अनिवार्य मानिन्छ । यसरी आएका अनुप्रासहरूमा ध्वन्यात्मक एकरूपता हुनै पर्छ तर शब्दको अक्षरशः पुनरावृत्ति हुनु हुँदैन । यस आधारमा हेर्दा मुक्तकको रचनाविधानका लागि निम्नलिखित कुराहरू अनिवार्य मानिन्छन्—

— मुक्तकमा चार हरफको संरचना अनिवार्य हुनुपर्छ र तिनमा पहिलो, दोस्रो र चौथो हरफमा अनुप्रासको प्रयोग अनिवार्य छ, तेस्रो हरफचाहिँ स्वतन्त्र हुन्छ ।
— मुक्तकका चार हरफहरूमा भावगत विकास उत्तरोत्तर गतिमा हुनुपर्छ र अन्तिम हरफमा लेखकीय अभिमत चोटिलो रूपमा आएको हुनुपर्छ ।
— मुक्तकको प्रस्तुति अभिधाको तहमा नभएर व्यञ्जनाको तहमा हुनुपर्छ ।
— मुक्तकमा विम्ब, प्रतीक, अलङ्कार, ध्वनि र वक्रोक्तिको प्रयोग अन्य रचनाका तुलनामा बढी नै हुनुपर्छ ।
— मुक्तकको रचना जुनसुकै विषयमा पनि हुन सक्छ र ‘ए, ए, बी, ए’ को संरचना यसका लागि अनिवार्य मानिन्छ तर खँदिलो विचार, आनुप्रासिक संरचना, चोटिलो प्रहार र अद्भुत विद्युतीय झड्का नभएसम्म मुक्तक जीवन्त हुन सक्दैन ।

उल्लिखित कुराहरू मुक्तकका संरचनात्मक चिनारीअन्तर्गत पर्दछन् । यिनको पूर्ण पालना भएमा मुक्तक सुन्दर बन्दछ भने आंशिक पालना भएमा शाब्दिक परम्पराको निर्वाह मात्र हुने गर्दछ । ‘ए, ए, बी, ए’ को संरचना र भावगत उन्नयन कसरी हुन्छ भन्ने कुरालाई बुझ्न निम्नलिखित मुक्तकलाई आधार बनाएर हेर्दा अझै स्पष्ट हुन सकिन्छ—

ए = प्रत्येक पहेँलो धातुलाई सुनको गजुर भन्न मन लाग्छ
ए = प्रत्येक पन्छीलाई वनको मजूर भन्न मन लाग्छ
बी = चाकरी गर्दा गर्दा यस्तो भइसकियो कि
ए = बाटामा भेटिएको गधालाई पनि हजुर भन्न मन लाग्छ ।
—भूपी शेरचन

यहाँ आएको ‘गजुर’ शब्दकेन्द्रित पहिलो हरफले भावको थालनी गरी उत्सुकताको प्रारम्भ गरेको छ भने ‘मजूर’ शब्द (‘गजुर’को अनुप्रास) केन्द्रित दोस्रो हरफले भावलाई गति दिई उत्सुकता बढाउने काम गरेको छ । यहाँको स्वतन्त्र तेस्रो हरफले वैचारिक निष्कर्षका लागि परिवेश निर्माण गरेको छ भने ‘हजुर’ शब्द (‘गजुर’ र ‘मजूर’को अनुप्रास) केन्द्रित चौथो हरफले लेखकीय अभिमत वा विचारको तर्कपूर्ण स्थापना गरेको छ । यसले मुक्तकमा विषयवस्तुको व्यवस्थापन र भावको गति उत्तरोत्तर विकासको चरणमा हुनुपर्छ भन्ने स्पष्ट देखाएको छ । पहिलो हरफको उठान सामान्य रूपमा भए पनि पहिलोभन्दा दोस्रो हरफ, दोस्रोभन्दा तेस्रो हरफ र तेस्रो हरफभन्दा चौथो हरफ शक्तिशाली हुनुपर्छ । अर्थात् मुक्तकको चौथो हरफमा आउने विद्युतीय झड्काले पाठकको मनमा अद्भुत तरङ्ग सिर्जना गर्न सक्नुपर्छ । भूपी शेरचनको प्रस्तुत ‘मुक्तक’ले पञ्चायतकालीन नेपालको चाकरी प्रथा र नेपालीको दास मनोवृत्तिको राम्ररी चित्रण गरेको छ । यसमा अन्तर्निहित व्यङ्ग्यचेत र व्यञ्जनात्मक अर्थविन्यास नै यसको सबैभन्दा ठुलो शक्ति हो । थोरैमा धेरै भन्ने शक्ति हुनाले एउटा मुक्तकमा एउटा महाकाव्यको भन्दा शक्तिशाली भाव अटाउन पनि सक्छ ।

नेपाली कविता परम्परामा मुक्तक बद्ध र मुक्त दुवै लयमा लेखिएका पाइन्छन् । बद्ध लयअन्तर्गत वार्णिक, मात्रिक तथा लोकलयमा मुक्तकहरूको सिर्जना गर्न पनि सकिन्छ । हालसम्मका अधिकांश मुक्तकहरू लोकलय (सवाई) मा लेखिएका छन् । आक्षरिक एकरूपताका आधारमा र आनुप्रासिक अन्तर्लयका आधारमा मुक्त लयमा पनि मुक्तकहरू लेखिने गरेका छन् । मुक्तक कविताको लघुतम रूप भएको हुनाले यसले लयात्मक एकरूपताको अपेक्षा भने अवश्य गरेको हुन्छ । यसका साथै आन्तरिक अनुप्रास नभएका, कतै कतै चतुष्पद पनि नभएका तर शक्तिशाली भाव भएका छोटा सिर्जनालाई पनि मुक्तक नै भनी उल्लेख गरिएको पाइन्छ । जस्तैः

उत्तरतिर एउटा देश छ
जहाँ खान पाइन्छ, बोल्न पाइँदैन
दक्षिणतिर एउटा देश छ
जहाँ बोल्न पाइन्छ, खान पाइँदैन
बिचमा एउटा त्यस्तो देश छ
जहाँ खान पनि पाइँदैन र बोल्न पनि पाइँदैन ।
—भूपी शेरचन

यो पञ्चायत कालीन नेपाली परिवेशलाई सङ्केत गरी लेखिएको रचना हो । यसका जम्मा छ हरफमा चीन, भारत र नेपालको राजनीतिक व्यवस्थाको सुन्दर चित्रण गरिएको छ । उत्तरतिरको खान पाइने तर बोल्न नपाइने कुराले चीनको कम्युनिस्ट शासन व्यवस्थाको चित्र खिचेको छ, दक्षिणतिरको बोल्न पाइने तर खान नपाइने कुराले भारतको प्रजातान्त्रिक शासनव्यवस्था र त्यसभित्र लुकेको गरिबीको स्वरूप प्रस्तुत गरेको छ भने बिचको खान पनि नपाइने र बोल्न पनि नपाइने कुराले तत्कालीन नेपालको पञ्चायती शासन व्यवस्था र गरिबीको परिचय दिएको छ । यत्ति विषयमा केन्द्रित भएर लेख्न थाल्ने हो भने कविता, काव्य, आख्यान, निबन्ध जस्ता साहित्यिक सिर्जना मात्र होइन, राजनीतिशास्त्र, अर्थशास्त्र, समाजशास्त्र, दर्शनशास्त्र, इतिहास आदिका हजारौँ कृतिहरू निर्माण हुन सक्छन् । यहाँ शक्तिशाली भावविधान छ तर चतुपष्दी संरचना र अनुप्रासको अपेक्षित व्यवस्थापन छैन । त्यसैले यसलाई मुक्तक नभनेर छोक भन्नु उपयुक्त हुन्छ ।

यसरी नै अभिव्यक्ति कला प्रभावकारी भयो भने र विषयवस्तुको विद्युतीय सम्प्रेषण भयो भने जम्मा दुई हरफमा पनि धेरै कुरा भन्न सकिन्छ । जस्तैः

विधाताले जन्मचाहिँ नेपालमै गरिरहोस्
प्रत्येक जन्ममा तर डिभी चिट्ठा परिरहोस् ।
—ललित बस्नेत भिमाली

यसमा लयात्मक एकरूपता पनि छ, दुई हरफमा अनुप्रासको समुचित व्यवस्थापन पनि छ र व्यञ्जनात्मक भावविन्यास पनि छ । देशभक्तिका विषयमा पाइने विचार र व्यवहारबिचको विरोधाभासलाई यी दुई हरफले राम्ररी उतारेका छन् । यो कविताको लघुतम रूप चाहिँ हो तर यसमा चतुष्पदी संरचनामा बाँधिएको अनुप्रासको गतिशीलता नहुनाले गर्दा यस्ता रचनालाई मुक्तक मान्नु हुँदैन भन्ने मान्यताको स्थापना पनि नेपाली साहित्यमा भइसकेको छ । यसरी दुई हरफमा शक्तिशाली भावको व्यवस्थापन गरिएका लघुतम रचनाहरूलाई ‘युग्मक’ भन्ने गरेको पाइन्छ । भारतको सिलिगुढीमा बसेर साहित्य सिर्जनाकर्ममा समर्पित कालुसिंह रनपहेलीले यस्ता रचनाहरूलाई ‘युग्मक’ नामकरण गरेका छन् । उनले यस प्रकृतिका सयौँ रचनाहरूको कृतिसमेत प्रकाशन गरिसकेका छन् । त्यसैले प्रस्तुत रचना ‘युग्मक’अन्तर्गत पर्न सक्छ ।

३. नेपाली साहित्यमा मुक्तक लेखन
नेपाली मुक्तकको जन्म नेपाली कवितासँगै भएको हो । नेपाली कविताको प्राथमिक काल (१८२६—१९४०) मा नै नेपाली मुक्तकको पनि जन्म भएको देखिन्छ । नेपालीका प्रथम कवि मानिएका सुवानन्द दासकै समकक्षी शक्तिवल्लभ अर्ज्याल नेपालका प्रथम मुक्तककार हुन् र उनको ‘तनहुँ भकुन्डो’ (१८३९) रचना नै नेपालीको पहिलो मुक्तक हो जसको स्वरूप यस प्रकारको रहेको छ—

धायको छ लमजुंग मुकुन्डो
कास्कि बाँध सुनको छ षुकुन्डो
पीउठानीकन देउ सुकुन्डो
मारिलेउ तनहूँ त भकुन्डो ।

स्वागता छन्दमा लेखिएको यस रचनामा वर्तमान नेपाली मुक्तकमा जस्तो ‘ए, ए, बी, ए’ को संरचना त देखिँदैन तापनि तत्कालीन परिवेशको सूत्रात्मक चित्रण भने पाइन्छ । यसमा चारओटै पाउमा अनुप्रासको प्रयोग गरिएको छ । यसले एकातिर नेपाली कविताको वीरधाराको विषयगत प्रतिनिधित्व गरेको छ भने अर्कातिर मुक्तकको स्वरूपगत प्रतिनिधित्व पनि गरेको छ ।

शक्तिवल्लभ अर्ज्यालपछि पनि प्राथमिक कालीन कविहरू गुमानी पन्त, रघुनाथ पोखर्याल, भानुभक्त आचार्य, अगम दिलदास आदि र माध्यमिक कालीन कविहरू मोतीराम भट्ट, शम्भुप्रसाद ढुङ्गेल, वैयाकरण नेपाल, रेवतीरमण न्यौपाने, पहलमानसिंह स्वाँर आदिले पनि सशक्त रूपमा मुक्तकहरूको रचना गरेका छन् तर प्राथमिक र माध्यमिक कालीन कविहरूले ‘मुक्तक’ भनेरै मुक्तकको रचना गरेको पाइँदैन, संरचनात्मक रूपमा मात्र ती रचनाहरूलाई मुक्तक भन्न सकिन्छ ।

नेपाली साहित्यमा मुक्तक भनेरै मुक्तक लेख्ने पहिलो मुक्तककार भीमदर्शन रोका (१९८६–२०५९) हुन् । वि.सं. २०१० को ‘प्रगति’ (वर्ष–१, अङ्क–३) मा प्रकाशित रोकाका ‘केही मुक्तक’ नै नेपाली मुक्तकपरम्परालाई आधुनिकतामा रूपान्तरण गर्ने कोसेढुङ्गा साबित भएका छन् । यसपछि टेकबहादुर नवीनको ‘केही चोइटा’ (२०१६) नेपाली मुक्तकहरूको पहिलो पुस्तकाकार कृति हो । आधुनिक नेपाली मुक्तकको सुरुआती चरणमा रोकाको मुक्तक लेखनका नमुनाहरू यस प्रकारका पाइन्छन्—

१. को आउँछ मेरो गीत खोस्न ?
एक्लो सफरमा मेरो मित खोस्न ?
सीमा नै टपिसकेको छु मैले
को आउँछ मेरो जित खोस्न ?

२. रात केवल एक प्रहर बाँकी छ
तीन प्रहरको अन्तिम असर बाँकी छ
पश्चिम पुगेकी एक्ली चाँदनीलाई
केवल एउटा मेरै भर बाँकी छ ।
— भीमदर्शन रोका

भीमदर्शनले सुरु गरेको रुवाई शैलीको मुक्तक लेखनलाई टेकबहादुर नवीनले उचाइ थप्ने काम गरे । यसपछि भने मुक्तक लेखनमा एक प्रकारको बाढी नै आउन थाल्यो र छोटो अवधिमा यसले निकै ठुलो सफलताका साथै अति नै लोकप्रियता हासिल गर्यो ।
२०३० को दशकमा नेपाली मुक्तकले लोकप्रियताको शिखर नै चुम्यो । एकातिर २०३५/०३६ बाट सुरु भएको ‘सडक कविता क्रान्ति’मा मुक्तकको लोकप्रियता उल्लेखनीय रह्यो भने अर्कातिर त्यसै समयबाट पोखरेली युवा सांस्कृतिक परिवारले ‘टिकटमा मुक्तक’ वाचन र श्रवणको परम्पराको थालनी गर्यो । यसरी विकास हुँदै आएको मुक्तकको वृक्ष २०५० को दशकपछि भने निकै मौलाउनुका साथै प्रशस्त झाँगियो । अहिले नेपाली पद्य विधामा हाइकु, मुक्तक, गजल, गीत, कविता, खण्डकाव्य र महाकाव्य सबैको विकास उत्तरोत्तर गतिमा भइरहेको छ तापनि खण्डकाव्य र महाकाव्यलाई लेखन र पठन दुवैमा लामो समय दिनुपर्ने, फुटकर कविता, गीत र गजललाई केही समय दिएरै सुन्नु र बुझ्नुपर्ने तर मुक्तकलाई लेख्न, पढ्न, सुन्न र बुझ्न कत्ति पनि समय खर्चिनु नपर्ने हुनाले यो सबैका लागि रोचक, घोचक र मनोरञ्जक विधाका रूपमा नेपाली साहित्यमा स्थापित छ ।

नेपाली कविता परम्परामा मुक्तकको रचना अत्यधिक मात्रामा भएको पाइन्छ । यहाँ केही नेपाली मुक्तककारहरूका मुक्तकहरू प्रस्तुत गरिएका छन्—

कतै जुवाडेले कौडी खेलाउँदै हेरेको छुकजस्तो
कतै भर्खर वसन्तले छोडेर गएको रुखजस्तो
यस्तो लागिरहेछ आफैँलाई अचेल यो जीवन
अन्तिम पातो पनि च्यातेपछिको एउटा ठुटो चेकबुकजस्तो ।
— हरिभक्त कटुवाल

कौवाले राम भन्दै भन्दैन, भनसुन लाएर के गर्नु ?
गधा गाई हुने होइन, साबुन लाएर के गर्नु ?
मौका छँदै पानी पाए मात्रै फूल फुल्न सक्छ
ढलिसकेको बुढो रुखलाई मनसुन आएर के गर्नु ?
— हरिकृष्ण काफ्ले

टल्कँदैमा पहेँलो सबै सुन कहाँ हुन्छ र ?
हरेक बाजामा उस्तै धुन कहाँ हुन्छ र ?
उही माटो उही हावापानीमा हुर्केको भन्दैमा
सबै मान्छेमा उस्तै गुन कहाँ हुन्छ र ?
— ज्ञानुवाकर पौडेल

जत्ति चोट खाए पनि रुन पाइएन
जिन्दगीमा मान्छेजस्तै हुन पाइएन
हृदयको पूरै माया खन्याउँदा पनि
मन्दिरकी देवीलाई छुन पाइएन ।
— धनराज गिरी

तिनैको रहेछ दुनियाँ हुनेलाई फालाफाल छ जिन्दगी
बिहान–बेलुका के खाऊँ भन्नेलाई अनिकाल छ जिन्दगी
समानताको कुरा त भाषणमा डकार्ने मात्र रहेछ
सोझा र निमुखाको त यहाँ बेहाल छ जिन्दगी ।
— रमेश पौडेल

प्रस्तुत उदाहरणहरूलाई हेर्दा प्रभावकारिता नै मुक्तकका लागि सबैभन्दा ठुलो शक्ति मानिन्छ । उक्त प्रभावकारिताको निर्माणमा अनुप्रासको सुन्दर छनोट र अनुभूतिको खँदिलो अभिव्यक्तिको विशेष भूमिका हुने गर्दछ । यो कविको कवित्वको सारभूत प्रकटीकरण हो भन्ने बुझ्नुपर्दछ ।

५. मुक्तक कसरी लेखिन्छ ?
उल्लिखित सिद्धान्त र संरचनागत जानकारी प्राप्त भइसकेपछि मुक्तक लेख्न सजिलो छ । सुरुमा कुनै एउटा विषयवस्तु सोचेपछि त्यसलाई ‘ए, ए, बी, ए’ को संरचनामा ढाल्नका लागि शब्दहरूको छनोट गर्नुपर्छ । यसको रचना गर्दा सुरु सुरुमा तीनओटा चरण पूरा गर्नुपर्छ । जस्तैः

विषयवस्तुः शान्ति र मानवताको खोजी
लयविधानः ४x४x४x२ = १४ अक्षर सवाई छन्द

पहिलो चरण: शब्दसंयोजन— यस चरणमा मुक्तकको निर्धारित विषयवस्तुलाई वहन गर्न सक्ने तीनओटा अनुप्रासमूलक शब्दहरूको चयन गर्नुपर्छ । जस्तैः सीता, गीता, चिता आदि ।
अब यी शब्दसँग पूर्वापर प्रसङ्ग मिल्ने गरी अगाडि र पछाडि राख्न मिल्ने अन्य शब्दहरूको चयन गर्नुपर्छ । ती शब्दहरूले विषयवस्तुलाई समेटेको हुनुपर्छ । ती शब्दहरूलाई मुक्तकको विषयवस्तु र अर्थसँग जोड्न दोस्रो चरणमा जानुपर्छ ।

दोस्रो चरण:  अर्थसंयोजन— यस चरणमा मुक्तकका लागि आवश्यक सिद्धान्तमा सचेत रहेर निर्धारित विषयवस्तुको विस्तार गरी पूर्वनिर्धारित लयमा चार हरफ लेख्नुपर्छ । जस्तैः

मैले शान्ति खोज्न हिँड्ने सीता पनि देखेँ
मानवता खोज्दै हिँड्ने गीता पनि देखेँ
संसारमा धेरै कुरा देख्नुपर्ने रै’छ
आज जल्दै गरेको त्यो चिता पनि देखेँ ।

यत्तिको रचनालाई हामीले मुक्तक नै मान्ने गरेका छौँ । यस अभिव्यक्तिमा ‘ए, ए, बी, ए’ को संरचना र नियम पनि मिलेको छ, सवाई छन्दको लयविधान पनि मिलेको छ, शान्ति र मानवता विषयप्रति पनि सङ्केत गरिएको छ र स्रष्टाको आशय पनि अभिव्यक्त हुन थालेको छ । यहाँ प्रयोग भएका शब्द र अर्थका बिचमा तालमेल मिलेकै छ । यसले मैले शान्ति खोज्ने सीता, मानवता खोज्ने गीता सबै देखेँ, संसारमा अझै कति कुरा देख्नुपर्ने हो, जल्दै गरेको चितासमेत देखेँ भन्ने अर्थ प्रदान गरेको छ तर त्यसलाई कुनै विम्ब वा प्रतीकले नभनेर सोझै भनिएको छ त्यसैले यो बाह्य संरचनामा मुक्तक भए पनि आन्तरिक संरचना वा भावविधानमा अझै मुक्तक बन्न सकेको छैन । अब यसमा सशक्त भावसंयोजन गर्नका लागि तेस्रो चरणमा जानुपर्छ ।

तेस्रो चरण: भावसंयोजन— यस चरणमा मुक्तकका लागि आवश्यक सिद्धान्त, विषयवस्तुको विस्तार र लयविधानमा सचेत भएर विभिन्न विम्ब र प्रतीकहरूको प्रवेश गराई शब्द, अर्थ र भावको संयोजन गर्नुपर्छ । जस्तैः

रुवाएर उर्मिलालाई सीता बन्दिनँ म
बगरमा एक्लै जल्ने चिता बन्दिनँ म
विश्व मेरो शान्त घर मान्छे इष्टमित्र
आफैँ रची कुरुक्षेत्र गीता बन्दिनँ म ।

यस अभिव्यक्तिमा ‘ए, ए, बी, ए’ को संरचना पनि मिलेको छ, अर्थको निरन्तरता पनि छ, अनुप्रासलाई पौराणिक तथा सामाजिक विम्ब एवं प्रतीक बनाएर प्रस्तुत गरिएको छ र गम्भीर भावसंयोजन पनि भएको छ । यहाँ शान्ति र मानवताको भाव भित्र लुकेको छ । यहाँकी सीतामा सिङ्गो रामायणको कथा समेटिएको छ । नवविवाहिता दुलही उर्मिलालाई एक्लै छाडेर दाजुभाउजूसँग वनवास जान लागेका लक्ष्मणलाई नजानका लागि वा गए पनि उर्मिलालाई साथै लैजानका लागि सीताले प्रेरित गर्नुपर्ने थियो । यो नगर्नुमा सीताको आदर्श चरित्रमा दोष देखिएको छ । यहाँ बगरमा एक्लै जल्ने चिता बन्दिनँ भनिएको छ । चिता जल्ने त एक्लै नै हो तर किन यसो भनियो ? यसको अभिधा अर्थमा बाधा उत्पन्न भयो, अब लक्षणा अर्थमा जाँदा मान्छेको चिता जल्दा सँगै हजारौँको मन जलेन भने जीवन बेकार हो भन्ने गहिरो भाव यहाँ लुकेको छ । यहाँको गीताले सिङ्गो महाभारतको प्रतिनिधित्व गरेको छ । गीता कुरुक्षेत्रमा लाखौँ आफन्तहरू मरिसकेपछिको जीवन दर्शन समेटिएको कृति हो । विश्व मेरो घर हो र सारा मानव जाति मेरा इष्टमित्र हुन् भन्ने महान् आदर्श बोकेर हिँडेको मानवतावादी र शान्तिप्रेमी मान्छेले आफैँ कुरुक्षेत्रको रचना गरेर गीता बन्ने महत्त्वाकाङ्क्षा राख्दैन भन्ने जस्तो अत्यन्त गहिरो भाव यस मुक्तकमा समेटिएको छ । यसरी भन्नुपर्ने कुरालाई कुनै विम्ब, प्रतीक वा मिथकहरूका माध्यमबाट घुमाउरो तरिकाले व्यक्त गर्न सकियो भने त्यसले दिने अर्थ पनि अभिधामा नभएर लक्षणामा अथवा व्यञ्जनामा आउने गर्छ ।

सिकारु स्रष्टाका लागि यी चरणहरू सिर्जनाका आधारहरू बन्न सक्छन् तर अभ्यस्त बन्दै गएपछि यी कुनै पनि कुराको आवश्यकता पर्दैन । स्रष्टाको हृदयमा एउटा शक्तिशाली भाव सिर्जना भएपछि त्यसका लागि आवश्यक शब्दछनोट, विम्बछनोट र लयछनोट आफैँ भइहाल्छ । मुक्तक स्रष्टाले लेख्न थाल्दाथाल्दै सकिने र पाठकले पनि सुन्न थाल्दाथाल्दै सकिने रचना भएकाले यसको प्रभाव अरू सिर्जनाको भन्दा छुट्टै प्रकृतिको हुन्छ । यसमा विद्युतीय झड्का दिन सक्ने भावविन्यास हुनाले कुनै रचना सुन्दा पाठकका मुखबाट अप्रत्यासित रूपमा ‘आहा’ भन्ने शब्द निस्कन सक्छ । त्यो मुक्तकको सिर्जनात्मक सफलता हो ।

५. निष्कर्ष
मुक्तक थोरैमा धेरै कुरा दिन सक्ने कविताको लघुतम रूप हो । यसमा विद्युतीय शक्ति हुन्छ । अनुभूतिको मितव्ययी अभिव्यक्ति हुन्छ र विचारको खँदिलो प्रस्तुति हुन्छ । यति हुँदाहुँदै पनि एकातिर ‘ए, ए, बी, ए’ को संरचना मिल्नासाथ मुक्तक तयार भएको सम्झने जमात पनि छ र अर्कातिर यति छोटो संरचनामा एउटा सिङ्गो सङ्कथन समेटिन सक्दैन भन्ने जमात पनि छ । सिर्जनात्मक गुणात्मकताका दृष्टिले हेर्दा रचना जति ठुलो हुँदै जान्छ, अनुभूति पनि त्यति नै तरल बन्दै जाने देखिन्छ । अनुभूतिको अत्यन्त खँदिलो अभिव्यक्ति हुने हुनाले मुक्तकको सिर्जना सोचेजस्तो सजिलो छैन । यसका चार हरफमा एउटा महाकाव्य वा उपन्यासमा पनि भन्न नकिने भाव अभिव्यक्त हुने हुनाले अनुभूतिको नौनी मुक्तकमा हुने गर्दछ । एक थरीले मुक्तकलाई तुक्काका रूपमा हेर्ने गरेका छन् भने अर्का थरीले मुक्तकलाई तुक्का होइन, तीर हो भन्ने गरेका छन् । जे भए पनि यसले गुणात्मक सिर्जनाको अपेक्षा गरेको कुरा बुझ्नुपर्दछ । त्यसैले मुक्तकको मानक रूपको स्थापना गर्नका लागि संरचना, भाषा, लय, विचार, भाव वा सन्देश सबै कुरामा मानकीकरण गर्नु नै वर्तमान नेपाली मुक्तककारहरूको पहिलो दायित्व हो भन्ने देखिन्छ ।

क्रमशः अर्को हप्ता….