१. विषय प्रवेश
चिठी वा पत्रका माध्यमबाट प्रस्तुत गरिने साहित्य नै पत्रसाहित्य हो । पत्रलाई एउटा व्यक्तिले अर्को व्यक्तिलाई लेख्ने वैयक्तिक रचनाका रूपमा हेर्ने गरिन्छ तापनि यसभित्र लुकेको साहित्यको युगीन महत्त्व रहने गरेको छ । सामान्यतः पत्रको उद्देश्य आत्मसूचना वा तात्कालिक अवस्थाको लिखित सम्प्रेषण हो । टेलिफोन, मोबाइल जस्ता ध्वनियन्त्रको विकास नभइसकेको अवस्थामा एउटा व्यक्तिले अर्को व्यक्तिलाई सुखदुःखपूर्ण संवेगात्मक सूचनाहरू प्रदान गर्नुपरेमा पत्रकै प्रयोग हुने गर्दथ्यो । कापीका पानामा हातले लेखेर हुलाकमार्फत पठाइने ती पत्रहरू व्यक्तिगत नै हुन् तापनि तिनमा तात्कालिक सामाजिक, सांस्कृतिक, राजनीतिक एवम् भाषिक यथार्थको प्रतिबिम्बन हुने गर्दछ । पत्र लेखकको सामाजिक प्रतिष्ठा, राष्ट्रिय महत्त्व र सिर्जनात्मक चिनारीका कारण ती पत्रहरूको पनि युगीन महत्त्व रहने गर्दछ । ती पत्रहरू कुनै सूचनात्मक हुन्छन् भने कुनै सिर्जनात्मक हुने गर्दछन् । सिर्जनात्मक पत्रहरूलाई नै पत्रसाहित्य भन्ने गरिन्छ । यस लेखमा त्यही पत्रसाहित्यका बारेमा केही सैद्धान्तिक र केही सिर्जनात्मक जानकारी प्रस्तुत गरिएको छ ।
२. पत्रसाहित्यको सैद्धान्तिक स्वरूप र सिर्जनात्मक परम्परा
पत्र र साहित्य दुवै तत्सम शब्द हुन् । पत्रका अनेकौँ अर्थहरू भए पनि यहाँ भने चिठीको अर्थमा प्रयोग भएको छ भने साहित्य भनेको कलात्मक सिर्जना हो । सामान्यतः साहित्य भन्नासाथ कविता, आख्यान, निबन्ध, नाटक आदि बुझ्ने गरिन्छ भने पत्र भन्नासाथ एउटा व्यक्तिले अर्को व्यक्तिलाई लेख्ने वैयक्तिक चिठी भन्ने गरिन्छ तर पत्र र साहित्यको मिलन भएर बनेको पत्रसाहित्य समस्त शब्दले चाहिँ सिर्जनाकै एउटा विधासमान मान्यता प्राप्त गर्दै आएको छ । अङ्ग्रेजीमा भने पत्र (Letter) र साहित्य (Literature) दुई शब्द मिलेर सोझै पत्रसाहित्य (Letter-Literature) शब्द निर्माण हुँदैन । पाश्चात्य साहित्यमा पत्रसाहित्यको आदिम रूप इपिस्सल (Epistel) मा फेला पर्दछ । यो ल्याटिन शब्द हो र यसको अर्थ चिठीको शैलीमा लेखिने साहित्य भन्ने हुन्छ । अन्वेषक कमल दीक्षितले इसापूर्व १५ तिरका होसेसको एपिस्चुले (Epistulae) जस्तै जिसस क्राइस्टका दैवीशिष्यहरूले लेखेका इपिस्सलहरूबाट प्रभावित भई सारगर्मित चिठीपत्रहरू लेख्ने परम्परा सुरु भएको विचार अगाडि सारेका छन् । पाश्चात्य जगत्मा रोमन समालोचक होरेस (इपू ६५—८) लाई पहिलो पत्रसाहित्य सर्जकका रूपमा मान्ने गरिन्छ । उनका साथै रोमन कवि ओभिड (इपू ४३—ई. १७) का सिर्जनाहरूमा पनि यसको सशक्त उपस्थिति देखिन्छ । होरेसका नैतिक एवम् दार्शनिक विषयमा आधारित र ओभिडका भावनात्मक र रोमाञ्चक विषयहरूमा आधारित पत्रहरूको साहित्यिक इतिहासमा विशिष्ट स्थान रहेको कुराको उल्लेख नेत्र एटमले गरेका छन् ।
फ्रान्सेलीहरूले चाहिँ ‘बिले दु’ नामबाट प्रेमपत्रहरूलाई साहित्यका रूपमा प्रस्तुत गरेको पाइन्छ । नेपोलियन र महारानी जोसेफाइनका बिचमा लेखिएका लामा लामा प्रेमपत्रहरू यसका उदाहरण हुन् । फ्रान्सेली ‘बिले दु’ शब्दको अङ्ग्रेजी रूप ‘लभलेटर’ मान्ने गरिन्छ तर चिठीपत्रहरूले साहित्यमा स्थान पाउनलाई प्रेमकै प्रसङ्ग जोड्नु जरुरी छैन भन्ने मान्यता कमल दीक्षितको रहेको छ । अङ्ग्रेजी साहित्यमा अर्ल अफ चेस्टर फिल्डले छोरालाई लेखेका चिठीहरू पत्रसाहित्यको इतिहासमा उल्लेखनीय मानिन्छन् ।
पूर्वीय जगत्मा पत्रसाहित्यको थालनी कालिदासबाट भएको देखिन्छ । उनले शकुन्तलाले दुष्यन्तलाई कमलका पातमा लेखेको पत्रलाई प्रस्तुत गरेर यस कुरालाई पूर्वीय जगत्मा नै स्थापित गराए । भारतीय साहित्यिक इतिहासमा पण्डित जवाहरलाल नेहरुले आफ्नी छोरी इन्दिरा गन्धीलाई लेखेका चिठीहरूको सङ्ग्रह ‘नेहरुज लेटर’को ऐतिहासिक महत्त्व रहेको देखिन्छ । नेपाली सन्दर्भमा भने उद्दीपसिंह थापाले बहिनीलाई लेखेका चिठीहरूको सङ्ग्रह ‘बहिनीलाई दक्षिणा’ शीर्षकमा १९९१ मा प्रकाशित भएको पाइन्छ । यसरी नै श्यामप्रसाद शर्माद्वारा लिखित ‘बहिनीलाई चिठी’, लैनसिंह बाङ्देलद्वारा लिखित ‘युरोपको चिठी’, हृदयचन्द्रसिंह प्रधानको ‘भू–स्वर्ग’ र वासुदेव शर्माको ‘चिठी–चपेटा’ जस्ता कृतिहरूले नेपाली पत्रसाहित्यको इतिहासमा विशेष भूमिका खेलेको देखिन्छ । पछिल्लो समयमा ‘सम्पादकलाई चिठी’ शीर्षकमा विभिन्न पत्रपत्रिकामा प्रकाशन गरिने पत्रहरूमा पनि पत्रसाहित्यका केही झलकहरू देख्न पाइन्छ ।
पत्र र साहित्यको सन्तुलित मिश्रण भए मात्र त्यो पत्रसाहित्य बन्दछ । पत्र लेख्नासाथ त्यो पत्रसाहित्य बन्दैन । नेत्र एटमले व्यक्तिगत हुँदाहुँदै पनि साहित्यिक वा सार्वजनीन महत्त्वको विषयवस्तु दिने, आत्मप्रकाशन गर्ने र शिल्पगत दृष्टिले पनि सुन्दर रहने पत्र उत्कृष्ट साहित्य बन्न सक्छ भन्ने विचार व्यक्त गरेबाट पनि पत्रमा साहित्यको सशक्त उपस्थिति अनिवार्य छ भन्ने कुरा प्रमाणित हुन्छ । यसरी नै कमल दीक्षितले पत्रलेखक महत्त्वपूर्ण र गौरवशाली व्यक्तित्व प¥यो भने देशको राजनीतिमै पनि नयाँ मोड ल्याइदिन्छन् भन्ने विचार व्यक्त गरेबाट पत्र केवल पत्रका रूपमा मात्र रहँदैन, यसको युगीन प्रभाव निकै बलियो हुने गर्दछ भन्ने निष्कर्ष निकाल्न सकिन्छ । यसरी पत्रसाहित्यको प्रभाव लेखकको व्यक्तित्व र लिखित विषय दुवैका आधारमा देखिने गर्दछ ।
३. पत्रसाहित्य हुनका लागि के के चाहिन्छ ?
पत्र लेखकमा साहित्यकार व्यक्तित्वको अंश प्रवेश गरेपछि पत्रसाहित्यको जन्म हुने गर्दछ । त्यसैले यसमा अनौपचारिक पत्र लेखक र औपचारिक साहित्य सर्जक दुवैको बराबर उपस्थिति हुने गर्दछ । पत्रमा पारिवारिक वा वैयक्तिक सन्दर्भहरूको बाहुल्य हुन सक्ला तापनि त्यसमा अन्तर्निहित सिर्जनात्मक कलाले गर्दा त्यो साहित्य हुने गर्दछ । एटमले मूलतः पत्रले कुनै व्यक्ति, घटना, स्थान वा अवस्थितिबारे लेखकका तात्क्षणिक इन्द्रियबोध, मनोभाव, चिन्तन, पूर्वाग्रह, कल्पना, आकाङ्क्षा, प्रतिक्रिया आदिलाई मौलिक रूपले चित्रण गरेको हुन्छ भने कतिपय पत्रले कुनै विशेष समस्या समाधानका निम्ति अन्तर्दृष्टि पनि प्रस्तुत गरेका हुन्छन् भनी पत्रसाहित्यको गुणात्मक महत्त्वका बारेमा स्पष्ट पारेका छन् । हरेक व्यक्तिका व्यक्ति भूमिका र समाज भूमिका गरी दुईओटा रूप हुने गर्दछन् । सार्वजनिक महत्त्वको व्यक्तिका लागि उसका अनौपचारिक अभिव्यक्तिहरू पनि औपचारिक हुने गर्दछन् । उसका औपचारिक तथा अनौपचारिक हरेक कार्यशैली र लेखनलाई युगीन महत्त्वका साथ हेरिने हुनाले वैयक्तिक पत्रहरूको पनि ऐतिहासिक महत्त्व रहने गरेको हो । त्यसैले प्रेषक र प्रापकबिचको सम्बन्ध, पत्र लेखकको अनुभूति प्रवाह, पत्रभित्र प्रस्तुत विषयको गम्भीरता, पत्रमा प्रस्तुत अभिव्यक्ति कला र त्यसमा सम्प्रेषित भाव, विचार, उद्देश्य र सन्देश आदि नै पत्रसाहित्यका आन्तरिक शक्तिहरू हुन् । यति हुँदाहुँदै पनि वैयक्तिक सम्बन्ध उद्घाटन र शिष्टाचार, विषयवस्तुको साधारणीकरण, द्वितीय पुरुषात्मक सन्देश प्रवाह र कला वा सिर्जनाको सबल उपस्थिति यी चारओटा पक्षचाहिँ पत्रसाहित्यका लागि नभई नहुने कुराहरू हुन् । यिनै कुराका आधारमा पत्रसाहित्यका लागि निम्नलिखित तत्त्वहरूको निर्धारण गर्न सकिन्छ—
(क) वैयक्तिक सम्बन्ध उद्घाटन र शिष्टाचार
पत्रसाहित्य नितान्त व्यक्तिकेन्द्रित रचना हो । यसको थालनीमा नै चिठीमा जस्तै मिति, स्थान, सम्बोधन र शिष्टाचार जस्ता कुराहरूको उल्लेख गरिन्छ । यसमा पत्र लेखक र प्रापकबिचको सम्बन्ध उद्घाटन हुनु अनिवार्य छ । यसका साथै आवश्यक शिष्टाचारको प्रयोग पनि यसमा हुनुपर्छ । साथै कुन विषयमा पत्र लेख्न लागिएको हो त्यसको सङ्केत शिष्टाचारकै सन्दर्भमा हुनु राम्रो मानिन्छ । यसले सम्बन्धित पत्र लेखनको समय, प्रापकीय सम्बन्ध र विषय आदि कुराको स्वाभाविक सङ्केत गर्ने काम गर्दछ ।
(ख) विषयवस्तुको साधारणीकरण
पत्र लेखन वैयक्तिक विषय हो तापनि यहाँ विषयको साधारणीकरण गर्दा निर्वैयक्ति चेतनाले प्रवेश पाउने गर्दछ । त्यो भोगाइ पत्र लेखककै हो, प्रापकसँगको उसको सम्बन्ध पनि वैयक्तिक नै हो र त्यहाँ सम्प्रेषित विषय पनि उसकै अनुभवजन्य, विचारजन्य र परिवेशजन्य सामग्री नै हो तापनि जब पाठकले पढ्दा उक्त कुराहरूलाई आफ्नो भएको अनुभव गर्छ त्यसैलाई साधारणीकरण भनिन्छ । व्यक्तिगत अनुभूतिले सामूहिक अनुभूतिको स्वरूप ग्रहण गर्नु नै साधारणीकरण हो । पत्रसाहित्यमा जुन कुरालाई प्रस्तुत गर्न खोजिएको छ त्यो कुरा जब व्यक्तिपात्रबाट बाहिर निस्किएर सार्वभौम भोगाइ र विचारको प्रतिनिधि बन्न थाल्छ तब पत्रसाहित्य सफल भएको मानिन्छ । त्यसैले प्रेषकले प्रापकका लागि सम्प्रेषण गरेको सूचना सबै पाठकका लागि उपयोगी, उत्प्रेरक र मार्गदर्शक हुने गर्दछ ।
(ग) कला वा सिर्जनाको सबल उपस्थिति
पत्र र साहित्य फरक फरक कुरा हुन् तर अन्योन्याश्रित भएर आउँदा मात्र त्यसलाई पत्रसाहित्य भनिएको हो । सबै पत्रहरू साहित्य होइनन्, जसमा कला वा सिर्जनाको सबल उपस्थिति हुने गर्छ त्यो मात्र पत्रसाहित्य हो । यो आख्यानहीन र आख्यानात्मक दुवै हुन सक्छ । पत्रसाहित्यमा पनि विषयवस्तुको आख्यानीकरण हुन सक्छ । अर्थात् उपमा, उत्प्रेक्षा, रूपक, दृष्टान्त जस्ता अलङ्कारहरूको प्रयोग पनि यसको अभिव्यक्तिमा हुन सक्छ । कथामा जस्तो आख्यानात्मक विषय व्यवस्थापन, निबन्धमा जस्तो तार्किक दृष्टिकोण र समालोचनामा जस्तो विषयवस्तुको सैद्धान्तिक विश्लेषण आदि सबै कुरा पत्रसाहित्यमा आउन सक्छन् । भावनात्मक, संवेगात्मक, बौद्धिक, तार्किक, विश्लेषणात्मक वा चिन्तनपरक जुनसुकै सन्दर्भबाट भए पनि कला वा सिर्जनाको बलियो उपस्थिति पत्रसाहित्यमा देखिनु राम्रो मानिन्छ ।
(घ) भाव, विचार वा उद्देश्यको स्थापना
पत्रसाहित्य निरुद्देश्य सिर्जना हुँदैन । यो निश्चित भाव, विचार र उद्देश्यको स्थापनाका लागि नै लेखिने गर्दछ । लेखनका समयमा त्यसको एउटा विशिष्ट उद्देश्य हुन सक्छ तर त्यो कालान्तरमा पुग्दा साधारण उद्देश्यमा रूपान्तरण हुने गर्दछ । यसको औपचारिक फ्रेमभित्र आबद्ध स्वाभाविक ढाँचा देखिए पनि सामान्य रूपमा सुरु भएको विचार उत्तरोत्तर गतिशील हुँदै गएर प्रभावकारी सन्देशसहितको निष्कर्षमा पुग्ने गर्दछ । त्यही निष्कर्षमा प्रतिबिम्बित विचार नै सार्वभौम चासोको विषय हुने गर्दछ ।
(ङ) भाषाशैली (द्वितीय पुरुषात्मक सन्देश प्रवाह)
पत्रसाहित्यको भाषाशैली सरल, स्वाभाविक, अनौपचारिक र आकर्षक हुनुपर्छ । प्रायः बोलीचालीको भाषामा विषयवस्तुको सम्प्रेषण यसको सबल पक्ष मानिन्छ । साथै साहित्यका प्रायः विधाहरूमा सामान्यतः प्रथम पुरुषात्मक आन्तरिक दृष्टिविन्दु र तृतीय पुरुषात्मक बाह्य दृष्टिविन्दुको प्रयोग हुने गर्दछ तर पत्रसाहित्यमा प्रस्तोता आत्मपरक शैलीमा उपस्थित भए पनि त्यहाँ द्वितीय पुरुषात्मक सन्देश प्रवाह हुने गर्दछ । यसरी यति लामो, यति सशक्त र यति प्राथमिकताका साथ द्वितीय पुरुषकेन्द्रित अभिव्यक्ति अन्य कुनै विधामा हुँदैन । सन्देश प्रेषक पत्रसाहित्यको आधा पाटो हो भने प्रापक अर्को आधा पाटो हो । दृश्य रूपमा यिनैको उपस्थिति पत्रसाहित्यमा हुन्छ तर भावक यसको अघोषित लक्षित वर्ग मानिन्छ । प्रत्यक्ष संवादमा वक्ता र श्रोताको जुन उपस्थिति हुने गर्दछ, पत्रसाहित्यमा सन्देशदाता र सन्देशप्रापकको त्यही उपस्थिति हुन्छ तर संवादमा जस्तो स्थलगत रूपमा दोहोरो कुराकानीचाहिँ पत्रसाहित्यमा हुँदैन । एउटा पत्रसाहित्यको प्रत्युत्तरमा अर्को पत्रसाहित्य लेखिएमा चाहिँ त्यसमा पनि कलागत महत्त्वको मूल्याङ्कन त्यसरी नै हुने गर्दछ ।
यी पाँचका अतिरिक्त पत्रसाहित्यमा प्राविधिक संरचनाविधान, सान्दर्भिक चरित्रको चित्रण, भावानुकूल दृष्टान्तयोजना आदिको प्रयोग पनि हुन सक्ने देखिन्छ । उल्लिखित पक्षहरूले नै पत्रसाहित्यलाई व्यक्तिबाट भिन्न गराएर ऐतिहासिक महत्त्व र गरिमाको उचाइ प्रदान गरेका हुन्छन् ।
४. पत्रसाहित्य कसरी लेखिन्छ ?
पत्रसाहित्य चिठी वा पत्रकै ढाँचामा लेखिन्छ । घरायसी चिठी लेखनको बाह्य ढाँचा नै यसको रूप पक्ष हो तर अन्तर्वस्तु भने यसको निकै फरक हुने गर्दछ । झट्ट हेर्दा र सामान्य पाठकले पढ्दा यो नितान्त व्यक्तिगत कुरा जस्तो लाग्छ । कसैका निजी कुरामा समय खर्चेर के उपलब्धि हुन्छ र ? भन्ने जस्ता तर्कहरू पनि यस सन्दर्भमा आउने गर्दछन् तर त्यसको अन्तर्वस्तुमा पुगेपछि मात्र पत्रसाहित्यको जीवन्त रूप फेला पर्दछ । सुरुका मिति, ठेगाना, सम्बोधन, शिष्टाचार, विषय प्रवेश र अन्त्यका सम्बन्ध स्थापना, बिदाई र लेखकको नाम आदि जस्ता पक्षहरू यसका लागि प्राविधिक कुरा मात्र हुन् तर बिचमा अभिव्यक्त हुने कला र विचारको यसमा विशेष महत्त्व हुने गर्दछ । त्यसैले यहाँ पत्रसाहित्य सिर्जना गर्न चाहनेहरूका लागि मार्गनिर्देश हुने गरी एउटा संरचनात्मक खाका दिइएको छ । एउटा लेखकले पत्रसाहित्य लेख्न चाहेमा निम्नलिखित संरचना र चरणहरूमा ध्यान दिए त्यो सिर्जना सुन्दर र व्यवस्थित हुने देखिन्छ—
(क) पात्र वा विषय सङ्केतक शीर्षक चयन
पत्रसाहित्यको सबैभन्दा माथि पात्र वा विषयवस्तुलाई सङ्केत गर्न सक्ने पदावलीका तहको शीर्षक दिनुपर्छ । यसमा जसलाई पत्र लेख्न खोजिएको हो त्यसैलाई चिठी भनी सङ्केत गर्दा मात्र पनि शीर्षक बन्ने गर्दछ । ‘बहिनीलाई चिठी’ शीर्षकका रचनाहरू नेपाली साहित्यमा धेरै पाइन्छन् ।
(ख) भूमिका खण्ड
यो पत्रसाहित्यको पहिलो अनुच्छेद वा थालनी हो । यसमा लेखकले सबैभन्दा माथि मिति र स्थानको उल्लेख गरी जसलाई पत्र लेख्न लागिएको हो त्यसलाई सम्बोधन गरी शिष्टाचारसमेत व्यक्त गर्नुपर्छ । यसपछि चिठीकै शैलीमा सन्चोबिसन्चो आदिको औपचारिकता पूरा गरेर विषयसम्बधी सन्दर्भ र प्रसङ्गको चर्चा गर्न थाल्दछ । यस खण्डमा लेख्न लागिएको विषय के हो ? यो किन महत्त्वपूर्ण छ ? आदि जस्ता प्रश्नका उत्तरहरूको व्यवस्थापन गर्दै गएर विषयवस्तुको पृष्ठभूमिलाई सङ्केत गरी मूल विषयमा प्रवेश गर्नुपर्छ । यो खण्ड एक वा दुई अनुच्छेदमा लेखिन्छ । रचनाको आकारलाई हेरेर यसको आयातन लम्बिन पनि सक्छ ।
(ग) विस्तार खण्ड
यो पत्रसाहित्यको मूल खण्ड हो । यसमा विषयवस्तुको विस्तार गरिन्छ । विषय विस्तार गर्ने क्रममा ज्ञान, अनुभूति, तर्क, प्रमाण, उदाहरण आदिलाई मिसाउँदै, आवश्यक चरित्र र परिवेशको निर्माण गर्दै र आफ्ना निजी दृष्टिकोणहरूको समेत स्थापना गर्दै अगाडि बढिन्छ । यहाँ प्रस्तुत विषयलाई कलात्मक तरिकाले क्रमशः प्रस्तुत गर्दै गइन्छ । यही खण्डमा सम्प्रेषण गर्न चाहेको सूचना, दिन खोजेको सन्देश र व्यक्त गर्न चाहेको विचारलाई कलात्मक शैलीमा प्रस्तुत गरिन्छ । यो खण्ड विषयवस्तुको व्यापकतालाई हेरेर एक, दुई वा तीन अनुच्छेदमा लेख्न सकिन्छ ।
(घ) निचोड खण्ड
यो पत्रसाहित्यमा अभिव्यक्त विचार स्थापना गर्ने ठाउँ हो । यहाँ माथिका दुई खण्डमा मन्थन गरेका विचारबाट नौनी निकाल्ने काम पनि हुन्छ । यस खण्डमा नयाँ कुराको चर्चाभन्दा पनि अगाडि चर्चा गरिएका विषयहरूमा केन्द्रित रहेर निष्कर्षमूलक सन्देश सम्प्रेषण गरिन्छ । यो भाग पत्रसाहित्यको अन्तिम भाग हो । यो विषयवस्तुको मागअनुसार एक वा दुई अनुच्छेदमा लेखिन्छ । यसमा लेखकीय निजात्मकता र प्रापकसँगको सम्बन्धको समेत उल्लेख गरिन्छ र अन्त्यमा पुनः पत्राचारको अपेक्षा र धन्यवादका साथ लेखकको नाम पनि उल्लेख गरिन्छ ।
यी कुराहरू सिकारु चरणका पत्रसाहित्य लेखकका लागि उपयोगी हुन्छन् । सिद्धहस्त स्रष्टाले त एकै पटकमा वा एकै बसाइमा एउटा पत्रसाहित्य लेख्न सक्छ । यति हुँदाहुँदै पनि स्रष्टाको योग्यता, क्षमता, तर्कशक्ति, गम्भीर दृष्टि र कलात्मकताका कारण पत्रसाहित्यको बनोट र बुनोटमा चाहिँ प्रभाव पर्ने देखिन्छ ।
६. निष्कर्ष
पत्र लेखन हाम्रो जीवनका लागि अति सामान्य मानिन्छ । पहिले पहिले पत्र पढ्न वा लेख्न सक्ने हुनुलाई साक्षर मानिन्थ्यो । कसैलाई अनपढ भन्नुपर्यो भने ‘पत्र पढ्न पनि नसक्ने’ भन्ने गरिन्थ्यो । पत्र लेखनलाई लेखनसिपका लागि पहिलो खुड्किलो मान्ने गरिन्छ तर पत्रसाहित्य लेखनचाहिँ पत्र लेखनभन्दा माथिल्लो तहको लेखन हो । यसमा पत्र मात्र लेखेर पुग्दैन, निबन्धको जस्तो सूक्ष्म दृष्टिकोण र विचारको तार्किक स्थापना पनि हुनुपर्छ, समालोचनाको जस्तो विश्लेषणात्मक विषय व्यवस्थापन पनि हुनुपर्छ र आवश्यक परेका ठाउँमा कथामा जस्तो आंशिक आख्यानीकरण पनि हुनुपर्छ । संवेगात्मक अवस्थाको उच्चतम प्रयोग, आत्मपरकताको साधारणीकृत उपस्थिति, द्वितीय पुरुषात्मक प्रस्तुतिको अधिकतम प्रयोग, सूचनाको कलात्मक सम्प्रेषण, आलङ्कारिक भाषाशैलीमा जीवनोपयोगी शिक्षा र भोगाइजन्य ज्ञानको स्वाभाविक सम्प्रेषण आदि जस्ता कुराहरू पत्रसाहित्यका शक्ति हुन् भने सोझो वर्णन र सूचनाको सपाट सम्प्रेषण पत्रसाहित्यका सीमा हुन् ।
क्रमशः अर्को हप्ता…
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।