डा. राजु अधिकारीको उपन्यास हो ‘धुँवाको तस्बिर’ । उपन्यासमा अधिकारीले सङ्गीतमा रुचि भएको एक नेपाली युवकको समय प्रवाहको कथा कहेका छन् जो इन्जिनियरिङ अध्ययन गर्छ र चिनियाँ साथीको नजरबन्धमा पर्छ ।

सानै उमेरबाट सङ्गीतमा रुचि राख्ने कपिल विदेश पढ्न जान्छ र इन्जिनियर बन्छ । विश्वकै आधुनिकमध्येको एक शहर साङ्घाईमा सुविधासम्पन्न जीवन बिताइरहेको उसले सङ्गीतको तीर्खा मेट्ने पेय पाउँदैन । त्यहाँको आधुनिक जीवनप्रति उसमा बिस्तारै वितृष्णा जागृत हुन्छ, र नेपालै फर्की प्राकृतिक जीवन जिउँदै सङ्गीत साधनातर्फ लाग्ने योजना बुन्न थाल्छ । तर समय प्रवाह उसले चाहेको दिशामा चल्दैन ।

बढीमा पाँच वर्ष बसी नेपाली फर्कने योजना बनाएको कपिलको जीवनमा अनेकन बाधा–अवरोधहरू आउँछन् । बाधा–अवरोधहरूसँग जुद्धाजुद्धै १५ वर्ष चीनमै बित्छ । १५ वर्ष बितेपछि जसै नेपाल फर्कने योजनामा रहेको कपिललाई उसको एक चिनियाँ साथीले अनेकन प्रलोभन देखाउँछ । प्रलोभनमा नपर्ने देखिएपछि उक्त साथीले अनेक प्रपञ्च रची कपिललाई नजरबन्धमा बस्न बाध्य पार्छ ।

नजरबन्धबाट कपिल कसरी निस्कन्छ ? के कपिल नेपाल फर्किएर सङ्गीत साधनामा लाग्न सफल हुन्छ ? यस विषयलाई अधिकारीले उपन्यासमा रोचक ढङ्गले प्रस्तुत गरेका छन् ।

१ सय ८५ पृष्ठमा फैलिएको उपन्यासलाई थुप्रै सोलुसन प्रा.लि.ले प्रकाशनमा ल्याएको हो ।